इण्डोनेशियाको विमान निर्माता कम्पनीसँग नेपाली सेनाको लफडा, करिव २७ करोड क्षतिपूर्ति सेनाले पाएन

इण्डोनेशियाको विमान निर्माता कम्पनी पिटिडिआईले नेपाली सेनालाई क्षतिपूर्ति रकम दिन आनाकानी गरेको छ । जसका कारण विमान निर्माता कम्पनी र सेनाबीच तनाब बढेको छ । ​

पिटिडिआईले नेपाली सेनालाई क्षतिपूर्ति रकम नेपाली सेनालाई नपठाउँदा सेनाले विमान खरिद गरेको रकम फस्र्यौट समेत गर्न पाएको छैन । पिटिडिआईले नेपाली सेनालाई २२ लाख ९ हजार ५९४ अमेरिकी डलर ( २६ करोड ७२ लाख ९५ हजार रुपैयाँ) दिन बाँकी रहेको छ । 

नेपाली सेना र इण्डोनेशियाको विमान निर्माता कम्पनी पिटिडिआईबीचको लफडालाई महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा पनि समेटिएको छ । 

महालेखाका  अनुसार पिटिडिआईसँग २०७४ असार २ गते मध्यम खालको विमान सिएन२३५–२२०’ खरिद गर्न सम्झौता गरेको थियो । विमान खरिद सम्झौता ३ करोड ४ लाख ७७ हजार अमेरिकी डलरमा भएको थियो । सम्झौतापछि सेनाले ३ अर्ब ४० करोड ९१ लाख प्रतीत पत्र पेस्की उपलब्ध गरेको थियो । 

सम्झौतामा पेस्की प्राप्त गरेको मितिले दुई वर्षभित्र विमान बुझाउने उल्लेख गरिएको थियो । इण्डोनेशियाको कम्पनीले उक्त जहाज नेपाली सेनालाई २०७६ कात्तिक १६ गते परिक्षण उडान गरी नेपाली सेनालाई सुम्पेको थियो । जगेडा पाटपुर्जासहित केही समान भने उक्त कम्पनीले २६९ दिन ढिला गरी उपलब्ध गरेको थियो । 

ढिला भएको दिनमध्ये १२४ दिन नेपाली सेनाको कारण भएको थियो । सम्झौता अनुसार ढिला गरे वापत बाँकी १४५ दिनको क्षतिपूर्ति विमान निर्माता कम्पनीले नेपाली सेनालाई २२ लाख ९ हजार ५९४ अमेरिकी डलर बुझाउनु पथ्र्यो र क्षतिपूर्ति नेपाली सेनाले मागेको पनि थियो । तर इण्डोनेशि​यन कम्पनीले क्षतिपूर्ति रकम दिएको छैन । 



‘क्षतिपूर्ति बुझाउन आपूर्तक सहमत नभएकोले बाँकी रकम भुक्तानी नभई पेस्की पस्र्यौट गरेको छैन । उक्त बिवाद समाधान गरी पेस्की पस्र्यौट गर्नुपर्दछ,’ महालेखाले प्रतिवेदनमा भनेको छ । 



  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १२:३९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया