बेहोस पार्दै लुटपाट गर्ने गिरोहका दुई ‘लुटेरा’ पक्राउ

१५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्दै आएको एक गिरोहका दुई सदस्यलाई चितवन प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुरको थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बस्ने ४९ वर्षीय हरि गोले छन् ।

परियार १५ वर्षदेखि निरन्तर चोरीमा संलग्न रहेको खुलेको छ । प्रहरीका अनुसार उनले १ सय ५० ठाउँमा मानिसलाई बेहोस बनाई लुटपाट गरेको स्विकारेका छन् । 

१२ असोजमा माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट भएपछि यो समूहको खोजी सुरु भएको थियो ।

उनीहरूलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिए । 

सुनारको घरमा उनीहरू अमिलो बेच्ने बहानामा वास बस्न पुगेका थिए । सो क्रममा उनीहरूले ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोग गरी भीमबहादुरकी आमा र पत्नीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ । 



उनीहरूले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौँडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा मानिसलाई बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

बयानका क्रममा उनीहरूले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्विकारेका छन् । उनीहरूलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ ।
 



  • प्रकाशित मिति : असोज २३, २०७५ मंगलबार १८:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया