दुई प्रदेश, दुई मुख्यमन्त्री, भिडन्त ४ नेताको

नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा केही प्रदेश सभा सदस्यहरु गए पछि दुई प्रदेशमा रहेका नेकपा एमालेका दुई मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

प्रदेश १ र बागमती प्रदेशमा केही दिनअघि मात्र मुख्यमन्त्री बनेका नेकपा एमालेका नेताहरु क्रमशः भीम आचार्य र अष्टलक्ष्मी शाक्य अल्पमतमा परेका हुन् । योसँगै अब कम्तिमा पनि २८ दिनभित्र यी दुई प्रदेशमा नयाँ दुई मुख्यमन्त्री आउनेछन् ।

यी दुई प्रदेशमा दुई नयाँ मुख्यमन्त्रीका लागि भने चार नेताको भीडन्त हुने निश्चितप्रायः भएको छ । यस्तो किन भने दुवै प्रदेशमा नयाँ दल नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसका नेताहरु मुख्यमन्त्री हुने दाउमा छन् ।

एउटा रोचक संयोग के भने यी दुवै प्रदेशमा एउटै नामका दुई नेता मुख्यमन्त्रीको म्याराथन दौडमा सहभागी भइसकेका छन् । उनीहरु हुन्, राजेन्द्र राई र राजेन्द्र पाण्डे । दुवै नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीका नेता हुन् । र, दुवैले पछिल्लो समय आफूहरु अब प्रदेशको मुख्यमन्त्री भएको दाबी गर्न थालिसकेका छन् ।

तर, अर्को संयोग के भने प्रदेश एकमा राजेन्द्र मुख्यमन्त्री भएमा बागमती प्रदेशका राजेन्द्रले मुख्यमन्त्री हुनबाट वन्चित हुनु पर्ने देखिन्छ । अनि भाइसभर्सा । अर्थात्, बागमती प्रदेशमा राजेन्द्र मुख्यमन्त्री भएको खण्डमा प्रदेश १ का राजेन्द्रले मुख्यमन्त्री दौडबाट बाहिरिनु पर्ने देखिन्छ । कारण हो— सत्ता गठबन्धन ।

केन्द्रमा सत्ता साझेदार दलहरुले मुख्यमन्त्रीमा भागबण्डा गर्ने योजना बनाएकाले यी दुई प्रदेशमध्ये एकमा नेपाली कांग्रेसले आफ्ना नेतालाई मुख्यमन्त्री बनाउने र अर्कोमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री बनाउने देखिन्छ ।



सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्रले भने यसअघि नै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पाइसकेको छ । त्यस्तै, माओवादी केन्द्रका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि अरु दलहरुले समर्थन गरेका छन् ।

यही भागवण्डाका अनुसार अब प्रदेश १ र बागमतीमा मुख्यमन्त्री पद नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच बाँडफाँड हुनसक्ने सम्भावना बढेको हो ।



बुधबार भएको सनाखतमा प्रदेश १ मा १० प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका छन् । यसअघि एमालेमा रहेका यी प्रदेशसभा सदस्यको संख्यासहित भीम आचार्यले मुख्यमन्त्री पदमा बहुमत पुर्याउन सक्ने आधार बनाएर मुख्यमन्त्रीको सपथ लिएका थिए । ९३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउनका आचार्यलाई ४७ जना प्रदेश सभा सदस्यको आवश्यकता पर्छ । 

तर, ५१ जना नेकपा एमालेबाट प्रदेशमा सदस्य थिए । यीमध्ये १० जनाले एकीकृत समाजवादी पार्टी छानेका छन् । अनि प्रदेशमा सभामुख पनि नेकपा एमालेकै हुन् । त्यस्तै, एमालेबाटै निर्वाचित प्रदेश सभा सदस्य गुलेफन मियाँ किर्ते मुद्दामा फरारको सूचीमा छन् । यसको अर्थ हो, अब मुख्यमन्त्री आचार्यको पक्षमा ४१ जना मात्र प्रदेश सभा सदस्य रहेका छन् । 

त्यसैले उनले बहुमत नपाउने निश्चित भएको छ । अनि सँगसँगै प्रश्न उठेको छ, अब प्रदेशमा मुख्यमन्त्री को हुँदैछन् त ?

यसमा निश्चित दलका निश्चित नेताको जवाफ आउन अब केही समय कुर्नु पर्ने देखिन्छ । तर, निश्चित के छ भने प्रदेश १ मा अब पाँच दलीय गठबन्धनको सरकार बन्दैछ ।

यही प्रश्न बागमती प्रदेशमा पनि उठेको छ । बागमती प्रदेशमा चाहिँ मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एमाले सग्लो रहँदा एमालेका ५६ प्रदेश सभा सदस्यको सहभागितमा बहुमत पुर्याउने निश्चित थियो । तर, बागमती प्रदेशमा १२ जना प्रदेश सभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । स्रोतहरुका अनुसार अन्य तीन जना अझै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन् ।

योसँगै अब नेकपा एमालेमा बागमती प्रदेशमा ४१ जना मात्र प्रदेश सभा सदस्य रहने देखिन्छ । 

त्यसैले, अब अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पद छोड्नुको विकल्प देखिँदैन । अनि प्रदेश १ को जस्तै अब बागमतीमा प्रदेशमा पनि प्रश्न उठेको छ– को होला अब बागमतीको मुख्यमन्त्री ?

यो प्रश्नको उत्तर पनि ठ्याक्कै प्रदेश १ को जस्तै हुनेछ— यसमा निश्चित दलका निश्चित नेताको जवाफ आउन अब केही समय कुर्नु पर्ने देखिन्छ, तर, निश्चित के छ भने बागमती प्रदेशमा अब पाँच दलीय गठबन्धनको सरकार बन्दैछ ।

अब लागौँ, यी दुई प्रदेशमा राजेन्द्रहरुबाहेक अरु कोको छन् त मुख्यमन्त्रीको दौडमा भन्नेबारे ।

नेकपा एकीकृत समाजवादीका यी दुई नेता राजेन्द्र पाण्डे र राजेन्द्र राईबाहेक नेपाली कांग्रेसका दुई नेता राजीव कोइराला र इन्द्र बानियाँ मुख्यमन्त्री दौडमा छन् । प्रदेश १ का राजीवलाई नेपाली कांग्रेसको संस्थापन इतर पक्षको साथ रहेको छ भने बानियाँलाई बागमतीमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मुख्यमन्त्री बनाउन चाहन्छन् ।

यी चारमध्ये मुख्यमन्त्रीको दौडको ‘फिनिसिङ लाइन’मा चाहिँ दुई जना मात्र पुग्ने निश्चित छ । त्यो बिन्दूमा को पुग्नेछन् त ? त्यसका लागि केही दिन कुर्नु पर्ने देखिन्छ ।


  • प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार २२:१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया