देउवाको गृहजिल्लामा एकलौटी वडा अधिवेशन, सुरक्षा व्यवस्था कडा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन हुने भएको छ । जिल्ला कार्य समितिको असहमतिका बावजुद पनि वडा अधिवेशननको तयारी छ ।

जिल्ला निर्वाचन समितिको कार्यालयले आज बिहान ८ बजेदेखि वडा अधिवेशन सुरु भएको दाबी गरेको छ । ८ बजे देखि हुने भनिए पनि सुरु भएसकेको अवस्था भने छैन । निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै आजै अधिवेशन हुने दाबी गरेका छन् । 

कांग्रेसका जिल्ला सभापति कर्णबहादुर मल्लले भने आजको अधिवेशन स्थगित गरिएको दाबी गरेका छन् । ‘क्रियाशील सदस्यतामा विवाद कायमै छ, यस्तो अवस्थामा अधिवेशन हुँदैन । तर यहाँ सुरक्षा घेराभित्र अधिवेशन गर्ने चलखेल भइरहेको छ’, मल्लले भने । 

मल्ल पक्षले भने चुनाव बहिष्कार गर्ने बताएको छ । जिल्ला सभापति मल्लले क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म आफूहरु निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने बताएका छन् । 

मल्लले भने, ‘जिल्ला कार्यसमितिको निर्णय अनुसार केन्द्रबाट थपघट गरिएका क्रियाशील सदस्यहरुको समस्या समाधान नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन सकिँदैन । हामी बहिष्कार गर्छौं । एक पक्षमात्रै चुनावमा सहभागी हुने होला ।’

डडेल्धुराका लागि केन्द्रीय प्रतिनिधि भएर खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले एक विज्ञप्ति जारी गर्दै भदौ २५ गते वडाधिवेशन गरिने र बाँकी तहको अधिवेशन केन्द्रले तोकेबमोजिम गरिने यस अघि नै जानकारी दिइसकेका छन्। 



यसअघि नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्यसमितिको भदौ २२ गते बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान नभएसम्मका लागि अधिवेशनका कार्यक्रम स्थगत गर्ने निर्णय गरेको थियो । 

जिल्ला कार्यसमितिको उक्त निर्णयपछि निर्वाचन अधिकृत बमले भदौ ३१ गतेका लागि मिति तय गरेका थिए । 



तर, बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्रीसमेत पठाइसकेकोले कुनै पनि किसिमको भ्रममा नपरी अधिवेशनमा सक्रिय हुन आग्रह गरिएको थियो ।

कांग्रेसका कतिपय केन्द्रीय तहका नेताहरु नै डडेल्धुरामा क्रियाशील सदस्यता टुंगो नलगाई वडा अधिवेशन नगर्ने अडानमा रहेका थिए । काँग्रेस नेताहरु विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु समेत तत्काल अधिवेशन नगर्ने पक्षमा रहेका थिए । 

जिल्ला निर्वाचन समितिले विवादका बीच डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । 

‘अधिवेशन गर्ने र नगर्ने विषयमा दुई समूहबीच विवाद देखिएको छ’, नेपालले भने, ‘निर्वाचन समितिले अधिवेशन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था कडा पारेका छौँ । सुदूरपश्चिमका अन्य जिल्लाबाट पनि सुरक्षाकर्मी बोलाएर खटाएका छौँ ।’

  • प्रकाशित मिति : भदौ २५, २०७८ शुक्रबार ८:४५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया