[गजल] मञ्जुरा गिरीका तीन गजल

१.
आउँदै नआऊ भनेर भन्न मिल्दैन आउने जाने हक छ 
तिम्रा यादहरूको आवतजावत पनि बडो हानिकारक छ 

आजसम्म बुझ्न सकेकी छैन मैले स्वयम् म आफूलाई 
अरू के बुझें भनम् यो दुनियाँ त झन कति व्यापक छ 

हातमा चावी हुनेहरू चुपचाप चुपचाप बसिरहेको देख्छु
बरु यहाँ हातमा हत्कडी लागेकाहरूको बढी चकचक छ 

देश ओरालो  तर्फ लाग्यो  गरिबीले सीमा  नाघिसक्यो 
यी  कुरौटेहरूको घर  झगडा त्यो  भन्दा भयानक छ 

बाले परदेशमै आफ्नो जवानी फाले बुढेसकाल फाले 
जवान भइसकें अझै सोचिरहेछन् बा छोरी बालक छ


तिमी  साथमा हुँदा त  यस्तो अनुभूति हुन्छ
सि‌ंगाे धर्ती आकाश मैसँग छ मैसँग जुन छ 



मात्रै  सजाय  पाएका छैनन् अपराधीहरूले
छन् त मेरो  देशमा  पनि नियम  कानुन छ

मेरो खाजा खाने पैसाले प्याड किनिदिनुहोस्
आमा बहिनी महिनावारी भई लुगामा खुन छ 



सुतेको  शेरलाई यो  गल्लीका  कुकुरहरूले
अटकल गरिरहे छन् कमजोर छ चानचुन छ 

खुब दुःख पाएकी मान्छे हुँ म दुःखी मान्छे हुँ
बिन्ती ! दुःखका कुराहरू नसुनाउनु मन रुन्छ

३. 
ए ! सुन तँलाई के लाग्छ ? मलाई पनि भन के गर्ला ? 
म चट्टान हुँ भन्नेकै छातीमा पर्‍याे भने घन के गर्ला ?

देशै लुटियो भने एकदिन यो देश बचाउन सरकार 
भ्रष्टाचारी पठाउला या  सेना परिचालन के गर्ला ?

पैसा पावर हुनेले घर भत्कायो आँगन मिचिदियो 
पीडितसँग न सम्पत्ति छ न त मान्छे छन् के गर्ला ? 

बाँचुन्जेल जीउ ढाक्ने लुगा नपाएर ऊ मरेको हो
मुर्दाको जीउ ढाकेर इज्जत बचाएर कफन के गर्ला ?

सोच्दैछु तिम्रो हातले पराइको सिउँदो भरेको देखे
तिमीलाई हदभन्दा बढी माया गर्ने यो मन के गर्ला ?
 

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ९:०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया