स्याङ्जा- जिल्लाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फस्र्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८’ हुने भएको छ । नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा १५ देखि १९ कात्तिकसम्म प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाल भ्रमण वर्ष सन् २०२० मा हवाई पर्यटकको संख्या वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक नेपाल प्याराग्लाइडिङ ह्यान्डग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले बताए । उनले भने, ‘हवाई खेलकुदको ऐतिहासिक कार्यक्रमको आयोजना गरेका हौं । नेपाली हवाई खेललाई विश्वमा चिनाउन सफल हुनेछ ।’
नेपाली हवाई खेलाडीहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्न प्रतियोगिताले महङ्खवपूर्ण भूमिका खेल्ने उनले दाबी गरे । प्रतियोगिताले नेपालका हवाई खेलहरुमा भएका सम्भावनाहरुलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्ने कार्यमा भरपूर सहयोग गर्ने उनको दाबी छ ।
प्रतियोगिताको मूल व्यवस्थापन संयोजक जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने बताइन् । ‘प्रतियोगिता स्याङ्जामा गर्न पाउनु सौभाग्यको कुरा हो,’ उनले भनिन्, ‘हवाई खेलकुदमा स्याङ्जाको नाम स्वर्णिम अक्षरमा लेख्ने अवसर पाउँदै छौं ।’ जिल्लाको आँधीखोला भ्याली एभिएसन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताको अहम् भूमिका रहने उनले बताइन् ।
सन् २०२० को भ्रमण वर्षलाई सफल बनाउन नयाँ–नयाँ गन्तव्य पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्भावनालाई व्यापक प्रचार–प्रसार गर्नु आजको प्रमुख कार्य रहेको उनले बताइन् ।
प्रतियोगितालाई ऐतिहासिक रुपमा सफल बनाउन आपूmहरु आतुर रहेको वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए । ‘प्रतियोगिताका लागि आवश्यक सहयोगका लागि नगरपालिका तयार छ,’ उनले भने, ‘प्रतियोगिता सभ्य र भव्य बनाउन प्रतिबद्धता गर्दछौं ।’
यसैगरी, भिरकोट नगरपालिका प्रमुख छायाराम खनालले भने, ‘प्रतियोगिता सञ्चालनका लागि आवश्यक आर्थिक, नैतिक र भौतिक सहयोग हुनेछ । वालिङवासी र भिरकोटवासी प्रतियोगिता गर्न आतुर छन् ।’
नेपालको भौगोलिक बनोटका कारण साहसिक खेलकुदको गन्तव्य बन्न सक्ने प्रचुुर सम्भावना रहेको जिल्ला पर्यटन विकास समितिका पूर्वअध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए । उनले भने, ‘यहाँको भौगोलिक बनावट साहसिक र मनोरञ्जनात्मक खेलकुदका लागि उपयुक्त छ, जसमध्ये हवाई खेलकुद एक हो ।’
केही वर्षदेखि नेपालमा हवाई खेलमध्ये प्याराग्लाइडिङको व्यावसायिकता तथा व्यापकताले पनि नेपालमा हवाई खेलको सम्भावना रहेको पुष्टि भइसकेको छ । सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न खेलमा नेपालले प्याराग्लाइडिङले मात्र पदक पाएको स्मरण गर्दैै सरकारले लगानी गर्न सके अन्य प्रतियोगितामा पनि पदक ल्याउन सक्षम रहेको उनले बताए ।
मनोरञ्जनका लागि मात्र खेलिने यस खेलले अर्को विशिष्ट आयाम थप्दै नेपाललाई विश्वमै चिनाउन सफल भएकाले स्याङ्जामा प्रतियोगिता आयोजना गर्ने हिम्मत मिलेको उनले बताए ।
नेपाल प्याराग्लाइडिङ ह्यान्डग्लाइडिङ संघका केन्द्रीय प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि अत्यवाश्यक पर्ने वातावरण प्राविधिक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य आँधीखोला भ्याली भएको दाबी गरे । उनले भने, ‘संसारका उत्कृष्ट खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् जसले आँधीखोला एभिएसन जोन संसारकै उत्कृष्ट हवाई खेलकुद केन्द्र बन्नेछ ।’
बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले नेपाललाई साहसिक हवाई खेलको केन्द्रका रुपमा विकास गर्न सके हवाई खेलबाट मुलुकलाई ठूलो टेवा पुग्ने बताए । ‘साहसिक खेल आम्दानीको प्रमुख स्रोत हो,’ उनले भने, ‘सानोतिनो लगानीले हुँदैन ।’
नेपालीभन्दा विदेशीहरु साहसिक खेलप्रति बढी आकर्षित भएकाले नेपाललाई साहसिक खेलको गन्तव्य बनाउन अपरिहार्य रहेको उनले बताए । उनले भने, ‘खर्च गर्ने नै विदेशी हुन् । उनीहरुलाई नेपालमा आकर्षण गर्न सके अर्थतन्त्रमा ठूलो टेवा पुग्छ ।’
प्रतियोगितामा चारवटा विधामा प्रतिस्पर्धा हुनेछन् । चारवटा ट्रफी र ४२ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछन् । एकल पुरुष र एकल महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः एक हजार युरो, सात सय पचास युरो र पाँच सय युरो पाउनेछन् ।
यसैगरी, पुरुष र महिला समूहतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ सय युरो, १२ सय युरो र सात सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।