जनकपुरमा शिक्षक र शिक्षिकाको ज्यादती : कुटेर विद्यार्थीको हात नै भाँचिदिए

जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडमा रहेको स्वस्तिक इङ्ग्लिस बोर्डिङ्ग स्कूलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको छ। 

शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरमाथि निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट १२ वर्षीय बालक ठाकुरको हात भाँचिएको छ । 

बालक ठाकुरका पिता जितेन्द्र ठाकुर सोनारले आफ्नो छोराले गृहकार्य नगरेको भन्दै साह र हुसैनले वाइरिङ्ग गर्ने पाइपले पिट्दा हात भाँचिएको जानकारी फरकधारलाई दिए । 

कुटाइबाट गम्भीर चोट लागेका बालक ठाकुरको विद्यालय नजिकैको औषधि पसलमा सामान्य उपचारपछि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रामविनय चौधरीसँग थप उपचार गराइएको बुबा जितेन्द्रले जानकारी दिए । 

‘मेरो छोरो पढाइमा पनि राम्रै थियो, बानी बेहोरा पनि राम्रै छ,’ उनले भने, ‘मैले त छोरोलाई पढ्न पठाएको हो, तर हात भाँचेर घर फर्कंदा मन दुख्यो ।’ 

स्कुलमा यसरी अमानवीय तरिकाले विद्यार्थीलाई कुटपिट गर्नु कानूनी र सामाजिक अपराध रहेको उनले बताए । विद्यार्थीका अभिभावकले स्कुलको अबिलम्ब दर्ता खारेज र कुटपिट गर्ने शिक्षकमाथि कारबाही तथा उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।  



बालक ठाकुरलाई कुटपिट गर्ने शिक्षिका विद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहाकी पत्नी हुन् । 

यस सम्बन्धमा स्कुलका प्रधानाध्यापक श्याम सुन्दर साहले विद्यार्थीले गृहकार्य नगरेकोले शिक्षकले सामान्य कुटपिट गर्दा संयोगवश विद्यार्थीको हात भाँचेको प्रतिक्रिया दिए । उनले उनको सबै उपचार खर्च तिर्न विद्यालय तयार रहेको समेत बताए । 



उनले विद्यार्थीमाथि निर्घात कुटपिट गरिएको कुरा अस्वीकार गरे । उनले शिक्षकले विद्यार्थीलाई हप्काएको हुन सक्ने तर, कुटपिट नभएको बताए । कुटपिट गरेको भनिएको शिक्षकलाई आफूले बोलाएर घटनाबारे बुझ्ने जानकारी दिए ।

  • प्रकाशित मिति : भदौ २६, २०७८ शनिबार ११:४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया