रोनाल्डो चम्किदा म्यानचेस्टर युनाइटेडको सहज जित

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले दोस्रोपटक डेब्यु गरेको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले सहज जित हात पारेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ को सहज जित दर्ता गरेको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन रोनाल्डोले २, ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले १–१ गोल गर्दा न्युकासलका जाभियर म्यानक्विलोले १ गोल फर्काए ।
 
पहिलो हाफको थप गरिएको समयमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले मासन ग्रिनउडको प्रहारलाई न्युकासलका गोलरक्षक फ्रडी उडम्यानले रोके पनि रिबाउन्ड बलमा सहजै गोल गरेका थिए ।

५६औं मिनेटमा काउन्टर अट्याटकमा एलन सेन्ट माक्सिमिनको पासलाई सदुपयोग गर्दै म्यानक्विलोले न्युकासलका लागि बराबरी गोल गरे ।

६६ औं मिनेटमा रोनाल्डोकै गोलमार्फत म्यानचेस्टरले २–१ को अग्रता बनायो । ८०औँ मिनेटमा फर्नान्डेज र दोस्रो हाफको थप गरिएको समयमा लिंगार्डले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

यसअघि सन् २००३ देखि २००९ सम्म म्यानचेस्टरमा बिताएका रोनाल्डो १२ वर्षपछि यही सिजन युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका हुन् । 



जितसँगै युनाइटेड ४ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिदा समान खेलबाट १ अंक जोडेको न्युकासल १९ औं स्थानमा छ ।
 
लिग अन्तर्गत शनिबार नै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले टोटेनहमाथि ३–०, आर्सनलले नर्विच सिटी तथा ब्राइटनले ब्रेन्टफोर्डमाथि समान १–० को जित दर्ता गरे । 


 



  • प्रकाशित मिति : भदौ २७, २०७८ आइतबार ६:५४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया