डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने पौडेल पक्षको माग

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ । 

वरिष्ठ नेता पौडेल पक्षले सोमबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिविना प्रहरी प्रशासनको दुरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेको हो । 

घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरिएको र सो मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः अधिवेशन गर्न सभापति देउवासँग माग गरे । 

‘जिल्ला कार्य समिति पनि संलग्न छैन । त्यहाँको नेताहरुको पनि संलग्नता छैन । तर, चुनाव भयो भनिन्छ,’ उनले भने, ‘त्यस्तो किसिमले अहिले डडेलधुरामा जुन खेल भयो, त्यो गम्भीर अप्रजातान्त्रिक र आपत्तिजनक छ ।’

यसले नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै शंका उत्पन्न हुन थालेको पौडेलले बताए । उनले भने, ‘हामी भन्न चाहन्छौँ, त्यहाँको वडाको चुनाव सम्पन्न गरियोस् । सबै जिल्ला पार्टीको उपस्थितिमा, जिल्ला पार्टी सभापतिलगायत जिल्ला कार्य समितिको सहमतिमा, वडाध्यक्षहरुको सहमतिमा, त्यहाँको विधि, विधान र नियमअनुसार नै त्यहाँको वडा अधिवेशन गराउन जोडदार माग गर्दछौँ ।’

पौडेल पक्षले विधान विपरित आफूहरु पक्षका क्रियाशील सदस्यहरु हटाउने र आफ्नो चाँही थप गर्ने प्रयास नगर्न पनि सभापति देउवालाई सचेत गराउँदै आएको छ । वरिष्ठ नेता पौडेलले महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै आशंका गराउने काम नगर्न पनि सभापति देउवालाई पटक–पटक आग्रह गरे । 





  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १९:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया