लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नसञ्चय कोषलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।  

‘सञ्चयकर्ताहरुको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्याउँछ,’ उनले भने, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ 

उनले सञ्चयकर्ताको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गरे । 

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७–७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।  

सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताका लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसूति खर्च उपलब्ध गराउँछ । यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अंगभंग भएमा २ लाख प्रदान गर्दछ । 

सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । यसैगरी, कोषले सामान्य औषधोपचारको हकमा१ लाख तथा घातक रोगको हकमा १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ । 
  
०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि १९९१मा सैनिक द्रव्य कोष, २००१ मा निजामती प्रोभिडेन्ट फन्ड र ०१७ मा सञ्चयकोष विभागको नाममा यसको कामकारबाही सञ्चालन गरिएको थियो ।  





  • प्रकाशित मिति : भदौ ३१, २०७८ बिहीबार १८:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया