[टिप्पणी] होमसिक घनश्याम भुसाल
फरकधार / १ असोज, २०७८

नेकपा एमालेका उपमहासविच घनश्याम भुसाल पार्टीको वैचारिक जग मजुबत बनाउनेमध्येका एक अग्रणी नेता हुन् । एमालेले बोकेको सिद्धान्त र व्यवहारबीच खासै तादात्म्य छैन । जबजब तादात्म्य कमजोर हुन्छ तबतब भुसालजस्ता नेताको आवश्यकता उक्त पार्टीले महसुस गर्दै आएको हो । 



पछिल्लो समय पनि त्यो कम्युनिस्ट पार्टीले हिँड्नुपर्ने बाटो बिराएर अलमलिँदा वा निर्धारित बाटोमा हिँड्न नचाहेका बखत भुसालले विद्रोह गरेका हुन् । त्यो विद्रोहमा उनले माधवकुमार नेपाललाई साथ दिएका थिए ।
 
नेता नेपालले आफूसँग भुसाल, भीम रावल, योगेश भट्टराईलगायतका प्रभावशाली नेता रहेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बहिष्कार गर्ने र पार्टी सुधार्ने अभियान थाल्ने हिम्मत गरेका हुन् । त्यो अभियानका एउटा बलिया पाखुरी थिए- नेता घनश्याम भुसाल । तर, भुसाललाई अचानक होम सिक हुन थाल्यो र उनी फर्किए माउघरमै । 

नेता नेपालले निर्माण गरेको नेकपा (एकीकृत समाजवादी) नामको नयाँ घर भुसालका निम्ति साँघुरो हुन पुग्यो । पुरानो घर छाड्दा मूलतः त्यस घरका मुखिया र अन्य प्रभावशाली सदस्यका व्यवहार, चरित्र, सोचविचार, जीवनशैली तथा सिद्धान्तप्रति विमति कारणका रूपमा रहने गर्छ । भुसाल यिनै विमतिहरूसहित ओलीको हातमा डाडुपन्युँ रहेको पुरानो घरसँग विद्रोह गर्दै आएका एक सदस्य हुन् ।

भुसालको विद्रोह ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि मात्रै सुरु भएको होइन, निकै अघिदेखि पार्टी सञ्चालनको तरिकासँग उनी खुसी थिएनन् । उनले विभिन्न सभासमारोह, पार्टीकै आन्तरिक बैठक वा मिडिया वार्ताहरूमा समेत एमालेभित्रको गैरकम्युनिस्ट हर्कतको खुलेर आलोचना गर्थे । उनले पार्टी अध्यक्ष ओलीको धेरै पटक-धेरै ठाउँमा आलोचना गरेका छन् । पार्टी गलत बाटोमा हिँड्न थालेको भन्दै औंला ठड्याएका छन् । तर, जब नेता नेपाल पुरानो घरमा अब बस्न सकिन्न भन्दै बाहिरिए तब भुसाललाई होम सिक रोगले च्याप्पै समात्यो । उनले नेपाललगायत नयाँ घर निर्माणमा अग्रसर सबैलाई धोका दिए ।



भुसालको विगतको छवि अनावश्यक सन्दर्भमा सम्झौता नगर्नेखालको थियो । अहिले अचानक उनको त्यो छवि धूमिल हुन पुगेको छ । उनको नयाँ छवि बन्न पुगेको छ- सम्झौतापरस्त, अवसरवादी र धोकेबाज । उनले विगतमा बनाएको अडानको चुचुरो अहिले एकाएक ढलेको छ, गर्ल्याम्मगुर्लुम । ओलीमा के त्यस्तो सुधार आएको देखे भुसालले र उनी चुपचाप फर्किए पुरानो घर ? यो प्रश्नको उत्तर भुसालले हरेक पटक जनसभामा उभिँदा दिनुपर्ने छ ।

बुधबार एमालेले बुटवलमा पार्टी फुटपछिको शक्ति प्रदर्शन गर्‍याे । भलै, त्यहाँ कत्ति शक्ति देखियो भन्ने बेग्लै बहसको विषय हो । उक्त सभामा बोल्नेमध्ये एक थिए- उनै घनश्याम भुसाल । पार्टीका नेता-कार्यकर्ता र स्थानीय सर्वसाधारण पनि भुसालले अब के बोल्लान् भनी व्यग्र प्रतीक्षामा थिए ।
 
विडम्बना, उक्त सभामा भुसालले दिएको अभिव्यक्ति ‘एब्स्ट्र्याक्ट कविता’ जस्तो हुन पुग्यो । न गुदी, न तर्क, न अडान न त सैद्धान्तिकता नै ! जब कुनै नेताको सिद्धान्तको राजनीति र अडानको स्वाभिमान भत्कन्छ, ऊसँग बोल्नका लागि उही एब्स्ट्र्याक्ट कुरामात्रै बाँकी रहन्छन् । 

सायद घनश्याम भुसालले उनको जीवनमा दिएको सार्वजनिक अभिव्यक्तिको त्यो जत्तिको खराब संस्करण अर्को कुनै छैन । न कुनै छेक न कुनै छन्द । मानिसहरू उनका कुरा सुनेर उदेक मानिरहेका थिए । उक्त सभामा बोल्ने सबै वक्तामध्ये भुसाल कमजोर वक्ता बन्न पुगे । यसअघि भुसाल जहाँजहाँ बोल्न पुग्थे, उनका अभिव्यक्तिबाट अधिकांश मानिस प्रभावित हुन्थे । वैचारिक स्खलनको यो सम्भवतः पराकाष्ठा नै हो ।

भुसाललाई पछिल्ला केही वर्षदेखि ‘पुँजीवाद’सँग निकै रिस उठिरहेको थियो । हरेक भाषणमा उनी ‘दलाल पुँजीवाद’ शब्द जोडिहाल्थे । कयौं पटक उनले अध्यक्ष ओलीलाई दलाल पुँजीवादको पक्षपाति ठहर्‍याएका छन् । बुटवलमा उनले दलाल पुँजीवादमाथि कुनै आक्रोश पोखेनन् । सायद अब भुसालको मुखबाट यो शब्द सुन्नुपर्ने छैन या उनले यो शब्द उच्चारण गरे पनि कसैले पत्याउने छैन ।

यी सबै कुराहरुको निचोड एमाले फुट्नैपथ्र्यो वा भुसाल नयाँ पार्टीमा जानैपथ्र्यो भन्ने किमार्थ होइन । तर, केचाहिँ हो भने- हिजो जे कुरामा ओलीप्रति विमति रह्यो र उनलाई प्रधानमन्त्रीको कुर्सीबाट गलहत्याइयो, आज फेरि तिनै ओलीको शरणमा भुसालजत्तिका नेता किन गए ? जुन बेला ओली सत्तामा थिए, त्यो बेला एमाले फुटेको पनि थिएन । 

माधव नेपालसँग लागेर ओलीलाई कुर्सीबाट तल खसाल्ने कर्ममा भुसाल पनि सहभागी भएकै हुन् । यतिविधि चर्तिकला किन देखाएको, पुनः मन नपरेकै अनुहारलाई आफ्नो शीर्ष नेता मान्नुपर्छ भने ? कम्तीमा ओलीलाई विगतमा आफूले गरेका गल्तीप्रति क्षमा माग्न र सबैलाई पार्टीमा हृदयतः स्वागत गर्ने वातावरण बनाउन सकेको भए भुसालहरूले विगतमा लिएको अडान सार्थक हुने थियो । यति छिट्टै होम सिक हुनेले किन पुरानो घर र त्यसका मूलीको चर्को विरोध गर्नु र अडान लिएको स्वाङ पार्नु ?  

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:१६:५५,   अन्तिम अपडेट : असोज १, २०७८ शुक्रबार १७:५२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected]r.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया