logo-img

निमेष निखिलकाे कविता- उमेरको नदी

तिनै सल्ला घारी, उत्तिस र सालका रुखहरू  
बाटोछेउ उभिएको एक्लो वृहस्पति सिमल 
सपना बोकेर उड्ने गौँथलीका भालेपोथी 
झल्को आउँछ बारीका पाटा अनि तिनै खेतका गह्राहरूको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

चुवाका फूलमा मुस्कुराउने मोनालिसा सौन्दर्य 
दबदबेका हाँगामा जीवन नाच्ने रुपीका एक जोडी 
बतासको मुलायम स्पर्शमा हल्लिएको जीवनको क्यानभास 
र त्यो पहाडी ब्लुज, ढुकुरका गीतहरूमा गुन्जिएको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

कटुसका बोटमा बस्ने जुरेली रहरको ताँती 
लहरे वरको सैसैला अनि चिप्लेटी सल्लाघारीको  
खोला र झरनाको मादक आर्केस्ट्रा 
अनि ऐँसेलुका दानाले बिर्साएको चोट कुप्रे काँडाको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

पृष्ठभूमिमा सेता हिमाल र गगनभेदी पर्वतमालाहरू 
दृष्टिको सीमान्तसम्म टाँगिएको अनन्त आकाश  
जीवन चरिरहेका गाईवस्तुको लस्कर 
र स्मृतिमा बल्झन्छ मिठास जङ्गली फँडिरको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

देउरालीको बतास चढेर पाखातिर डुल्ने तन्नेरी सुगन्ध 
स्वागत र बिदाइका हात हल्लाइरहने लहरे वर 
किरणहरूसँग लुकामारी खेल्दै जिस्किने हिमाली हाँसो 
निधारभरि जमराको हरियाली बोक्ने खरबारी माथि डाँडाको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

बाँसझ्याङबाट मकैबारीमा धावा बोल्ने रङ्गीन सुगाहरू 
र फड्केमा अड्किएर झोक्राएको एउटा बाँसकटेरो 
कोइराला र टाँकीका रुखमा पिङ खेल्ने समयको झङ्कार 
एउटा मोहक सपना, निदाएका नानी आँखामा हाँसिरहेको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।



तिमी पनि त थियौ नि बिर्सियौ र १ 
हामीले जीवन खेलेका धुलौटे बाटोका किनाराहरू 
नाङ्गै पैताला सँगै छिचोलेका ठिहिर्‍याउने शिशिरहरू 
उफ् नभनी छिचोलेको जिन्दगीको त्यो ढुङ्गे उकालो ओरालो  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

तिमी पनि त थियौ नि बिर्सियौ र १
साँझमा जुनेली रात ओडेर कोदोको नल काट्ने बाहनामा 
हामीले सँगै आकाशका ताराहरू गनेको 
अबोला मैयाँ र लाटोबुङ्गाका कथाहरू भनेको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।



अझै एक आँखा बोकेको छु
खरबारीमा कँचियाले औँला काट्दा 
मायाको मलहम लगाएर तिमीले पछ्यौरीको फेर बाँधेको त्यो पल 
अनि त्यो सुदूर स्मृति, बारुलाले चिल्दा हँसिया दलेको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

हुनत माटो बिर्सेका छौ रे तिमीले, बाटो बिर्सेका छौ रे  
परिवर्तित समयका हाँगामा बेगिन्ती लालुपाते फुले पनि 
सम्पन्नताको सिरेटो तिम्रै खलिहान र आँगनतिर डुले पनि 
साक्षी छन् चौताराका वरपीपल र देवीथान देउरालीको
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

पराले झुप्राले महलको आकार ग्रहण गर्‍यो भन्दैमा 
धुले पैताला महँगा कवचभित्र लुके भन्दैमा 
हिमनदी बग्ने नाकमाथि किमती चस्माले डेरा सर्‍यो भन्दैमा 
तिमीले नबिर्सिदिएको भए पनि हुन्थ्यो
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

रूप फेरेका छन् सपनाले र बनेका छन् छद्मभेषी 
बिना अनुमति फेरबदल भइरहन्छ समय आफै पनि   
मन शरद नाङ्गिएर शिशिरमा अनुवाद हुन्छ 
र पनि कहाँ सकिन्छ र काट्न आफै बसेको हाँगोरु 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

जोगाएकै छु अझै, जङ्गली आँपको सुवास मनभरि 
खन्यु, भलायो र आरुबखडाको मिठास मनभरि 
सल्बलाइरहेछन् सल्लाका बियाँ र जामुन सम्झनाभरि 
सम्झनामै बसेको छ अझै बुढो बोट अम्बाको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

खाक्सीका भारीमाथि बोकेर जिन्दगीका सपनाहरू 
सम्झन्छु मेलापातका लेकबेसी गरेको 
पहाडी वनका झ्याउँकिरी सङ्गीतमा एक्लै एक्लै 
गुनगुनाउँदै उकालो चढेको, ओरालो झरेको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

म नाचेको तिनै पहाडी खोलाको सङ्गीतसँग हो 
म हाँसेको तिनै सल्लाहरूको सुसाइसँग हो 
तिनै कन्दराका प्रतिध्वनि हुन् मैले गाएका गीतहरू  
त्यतै छ एउटा हाँगो मेरा यौवनहरू फक्रिएको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

मैले ओडेको आकाशमा त्यतैको न्यानोपन छ अझै 
मैले फेरेको सासमा त्यतैको बतासको सुवास छ अझै   
त्यतैको पहाडी बान्की छ मैले हेरेका दृश्यहरूमा अझै 
मैले लेखेको कवितामा जीवनगाथा छ अझै त्यतैको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

चौतारीको वरपीपलमा ठोक्किएर बज्ने पहाडी सङ्गीत 
काँसघारी, खोला किनारमा समय उड्ने बकुल्लाको ताँती 
मनका तखताभरि साँचेर राखेका सुकिला रहरहरू 
र छातीभरि अटेसमटेस तन्नेरी जुलुस आकाङ्क्षाहरूको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

समयका अनन्त आकृति कुँदिएका हृदयहरू 
सद्भावको बिस्कुन हालिएका मनहरूको आँगन 
हेरेर कहिल्यै नसकिने सुखको सम्पत्ति बोकेका आँखा 
याद आउँछ कहिल्यै नसुक्ने स्नेहका मसिना कुलेसाहरूको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

धुलौटे पाटीमा सिन्काले लेखेका कखग 
घाँसदाउरा र मेलापातका सगरमाथा 
कन्दराबाट एकोहोरो गुन्जिने कोइलीगीत 
अझै सुनाइरहेछन् कथागाथा अतीतको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

हेराइको अन्तिम सीमासम्म फैलिएको हरियाली 
पाखाभरि चुहिएको सुनको बिहानी घाम 
आनन्द उग्राइरहेका गोधूलिका गाईवस्तुको लस्कर 
सम्झन्छु पहेँलपुर तोरीबारीहरूमा उमङ्ग फक्रिएको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

मन झिकेर सिउरिएको घरको सिकुवा 
आशा र उत्साहले प्रदीप्त माटेअँगेना 
सिङ्गो पृथ्वी अटाउने गाउँको उदार मन 
घान हालिरहन्थे ढिकी र जाँताहरू आशाहरूको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

जीवन रोप्दै गरेको असारे झरीको सङ्गीत 
खुसी बटुलिरहेका व्यस्त मङ्सिरहरू 
समृद्धिको लय सुसेल्ने रङ्गीन वसन्त 
एउटा जीवन गीत कोइली र ुकाफल पाक्योु चराहरूको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

धमिलो पानीमा सङ्लिएका स्नेही अनुहारहरू छन् 
आशा र आस्थाका गीतहरू अझै लयदार छन् 
पीडा र दुखका सुस्केरा पनि बस्छन् गल्ली गल्छेँडामा 
हर्ष र आनन्द पनि आरपार छन् जीवनको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

नपाएको धेरै भो ग्रामीण माटोको सुगन्धमा रम्न  
नपाएको अनुभव गर्न जङ्गली बतासको मायालु सुम्सुम्याहट 
नपाएको सुन्न पातहरूको साङ्गीतिकसिम्फोनी 
नपाएको एक आँखा अघाउँजी हेर्न मायालु अनुहार सान्नानीको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

अहँ, फेरिएको छैन अझै गाउँको मोहक सुगन्ध 
उस्तै छ निधारभरि बादलहरूको स्नेही स्पर्श 
फेरिएको छैन जङ्गली पातहरूको मधुरो धुन 
उस्तै छ सान्नानीको प्रेमिल अनुहारको मादक झल्को 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

त्यसो त सुनसान सिउँदाहरूसँग पनि रुन्छ गाउँ 
सहिद दाजुहरूको लामो सूचीछेउ बसेर भक्कानिन्छ 
अस्मिता चिथोरिएका अबलाहरूसँगै सुक्सुकाउँछ कहिलेकाहीँ 
र पढिरहन्छ अनुहार अङ्गभङ्ग भएका अबोध नानीहरूको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

गाउँमै छन् अभाव रोएका मन र भोक हाँसेका अनुहारहरू 
यतै छन् सुनौला सपना पर्खेर बसेका आँखाहरू पनि 
र यतै छ मेला निधारमाथि हत्केलाको पाली लगाएर 
हाँसोको बाटो हेरिरहेका कलेटी ओठहरूको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

अझै सपनाहरूमा गाउँको आकाश खोज्छन् आँखाहरू 
एकान्तमा त्यतैका मधुर भाका खोज्छन् गलाहरू 
अझै हातहरू पर्खिरहेछन् त्यतैका कलाहरूको सुवास 
पाइताला खोजिरहेछन् मायालु स्पर्श त्यतैका बाटाहरूको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

म अजस्र नदी भएर बगेको त्यहीँबाट हो 
म अगम हिमाल भएर उभिएको त्यहीँबाट हो 
म मोहक फूल बनेर मुस्कुराएको त्यहीँबाट हो 
म कञ्चन छहरा बनेर बर्सिएको त्यहीँबाट हो 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

ओर्लेर उषाको रक्तिम लालिमा गाउँ अनुहार सुम्सुम्याउँथ्यो 
वर्षा ऋतुले असार गाउँदा गाउँ जीवन गुन्गुनाउँथ्यो 
स्नेहका डोरीहरू थाहै नपाई हुन्थे एकाकार  
ग्रीष्मतिर पनि लाग्थ्यो, त्यहाँ शरद् मुस्कुराउँथ्यो 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

छिचोलेका असङ्ख्य घामपानी छन् 
समयसँगै चिप्लिएका बालापन र जवानी छन् 
मुटुभरि खोपिएको निसानी छ दुखैदुखको  
छातिभरि कोरिएको कहानी पनि छ सुखैसुखको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

मेरो ओत त्यो गाउँमाथिको प्रियसी बादल हो 
मेरो कलाको पाइन हृदय छोएर घन्कने मादल हो 
मेरा खुसीका भाका हाल्छ अझ देउरालीको त्यही चौतारो 
त्यतैका ढुङ्गेधाराहरू सुनाउँछन् कथा मेरो जिन्दगीको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

धित मारेर बगाउन पाइएन दुई थोपा आँसु 
आफै उम्रिएको आफ्नै प्रिय गाउँको नाममा 
टारबारीपखेरा र गोरेटाहरूको नाममा 
र नाममा, सद्भाव बर्साउने असङ्ख्य अनुहारहरूको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

सत्ते भन्छु मेरा खुसीहरू त्यहीँको माटोमा फुलेका हुन् 
सुकिला रहरहरूको ताँती तिनै गोरेटाहरूमा डुलेका हुन् 
ढाँटेर कसरी पो ढाँट्न सकिन्छ र जिन्दगीको सत्यलाई 
लाग्छ मेरै खुसीका लागि हो आकाशमा एउटा जून फुलेको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

म रम्न चाहन्छु मेरै सम्झनाको गाउँका गीतहरू गाएर 
रमाउन चाहन्छु आफ्नै गाउँसँग अटुट प्रीत लाएर 
तिम्रो नजरले जेसुकै देखोस् परवाह छैन मलाई 
म झुमिरहन चाहन्छु रमाएर, सङ्गीतमा ढिकी र जाँतोको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

अझै बाँकी छ गाउँ ब्युँझन आफ्नै कालो अन्धकारबाट 
हाँस्न पाएको छैन गाउँ एउटा लयदार पहाडी हाँसो अझै  
अँध्यारो विरुद्धका बत्ती बलेकै छैनन् गाउँका मझेरीमा  
सन्त्रासको राहु अझै निस्केको छैन सिमानाबाट गाउँको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

मैले गाएका गीतहरूमा लोली मिलाऊन् त्यतैका खहरेहरू 
मैले देखेका सपनाहरूमा मुस्काऊन् त्यतैका छहराहरू 
बरु हेर्न नपाइयोस् संसारका सबैसबै आश्चर्यहरू खेद छैन 
आँखाअघि सधैँ नाचिरहोस् त्यही पहरो आफैले टेकेको 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

दुखको भेल अझै बगिररहेछ गाउँको बाटैबाटो 
विकासको बतास पसेकै छैन गाँउको सिमानभित्र 
उस्तै छ सभ्यतामाथि लागेको कालो बादल गाउँमाथि 
अझै छ सन्त्रास, कोदोबारीतिर रातबिरात हिँडिरहेको  
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

गाउँमा आत्मीयताको रोगन होस् मैले खोजेको यत्ति नै हो 
सद्भावका फूल फुलून् गाउँमा मैले खोजेको यत्ति नै हो 
गाउँ हाँसोस् एउटा उन्मुक्त हाँसो मैले खोजेको यत्ति नै हो 
गाउँ गाओस् सहअस्तित्वका गीतहरू मैले खोजेको यत्ति नै हो 
उमेरको यो नदी त्यतैबाट बग्दै आएको हो ।

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया