संखुवासभा सामूहिक हत्या प्रकरणमा ५ जनाको संलग्नता, लोकबहादुरको परिवार नै मिलेर मारेको खुलासा

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको एकै परिवारका ६ जनाको विभत्स हत्याको घटनाले नयाँ मोड लिएको छ ।  प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा थप चार जना पक्राउ परेपछि घटनाले नयाँ मोड लिएको हो । प्रहरी हिरासतमा रहेका आरोपित लोकबहादुर कार्कीको बयानको आधारमा थप पक्राउ गरेपछि ६ जनाको विभत्स हत्याको घटनामा नयाँ ‘ट्विस्ट’ आएको हो । 

संखुवासभा प्रहरीका अनुसार हत्या घटनामा संलग्न रहेको आरोपमा खड्गबहादुर कार्की, रणबहादुर कार्की, हस्तबहादुर कार्की र नरेशबहादुर कार्कीलाई पक्राउ गरिएको छ । घटनाको अनुसन्धान गर्दा लोकबहादुर एक्लैले नभएर उसका परिवारका अन्य सदस्यसमेत मिलेर तेजबहादुर कार्कीको परिवारलाई मारेको रहस्य खुलेको हो । 

थप पक्राउ गरेका चार जनाले दिएको बयानपछि सबैले मिलेर मारेको पाइएको रहस्य खुलेको प्रहरीले जनाएको छ । संखुवासभा प्रहरी प्रमुख लालध्वज सुवेदीले तेजबहादुर कार्कीको परिवारलाई सबैले मिलेर मारेको पाइएको जानकारी दिए ।  

उनका अनुसार आरोपित लोकबहादुरको परिवारले संयुक्तरूपमा चक्कु, चिर्पट तथा अन्य हतियारबाट तेजबहादुरको परिवारको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी अनुसन्धानमा रिस र आवेगकै कारण लाेकबहादुरको परिवारले तेजबहादुरको परिवारकाे हत्या गरेको पाइएको छ । 

हत्या घटनामा दोषी देखिएपछि मात्र उनीहरूलाई पक्राउ गरिएको संखुवासभा प्रहरी प्रमुख सुवेदीले बताए । उनका अनुसार अहिलेसम्म पक्राउ परेकाहरू सबै मृतक तेजबहादुरकै नातेदार  हुन् ।

हत्यामा कसको योजना के ?



मृतक तेजबहादुरको परिवारलाई मार्न मुख्य योजनाकार खड्गबहादुर कार्कीले घटनाको अघिल्लो रात लोकबहादुरको घरमा योजना बनाएका थिए । उनीहरूको योजना थियो- मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउँदा त्यही बेला मौका छोपी हत्या गर्ने र अन्यले थाहा पाए ती सबैलाई मार्ने अनि धनमाल पनि लुट्ने । 

योजनाअनुसार मृतक तेजबहादुरको घरमा खड्गबहादुर बिहानै गएर लोकबहादुर अल्छी छ घरमै गएर निश्चित गर्नु भनी सुझाए । तेजबहादुरले लोकबहादुरलाई ‘तँ अल्छि, अहिलेसम्म उठेको छैनस्’ भन्दै कराए ।  त्यसपछि योजना अनुरूप लोकबहादुरले भाइ नरेशलाई इसारा गरी आफू अलैँची काट्ने चक्कु र चिर्पट बोकी घरको पछाडि गोगनको रुख नजिकै टाउँकोमा प्रहार गरी लडाए । 



प्रहरीको बयानमा उनीहरूले भनेका छन्, ‘खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पटले प्रहार गरेको हो । हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलमा लडाएर बाटोमा झारी हत्या गरेको हो । यही बेला मृतकले लोकेले मार्‍यो, मलाई नमार भन्दै हारगुहार सुनेपछि आएको श्रीमती र बुहारीलाई हत्या गर्यौं ।’ 

यो सब घटनाको नजिक दुई जना नाबालक आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेके । मुख थुनेर लोकबहादुरले चिर्पटले हानी ती बालकको हत्या गरे । त्यसपछि पाँचै जना मृतकको घरमा गएर मकै नंग्याइरहेकी  ८४ वर्षीया आमा पार्वती कार्कीलाई हस्तबहादुरले  समाते । लोकबहादुरले टाउँको भित्तामा लडाइएर  पार्वतीको हत्या गरे । 

पक्राउ परेका थप चार जनाले दिएको बयान यस्तो छ, ‘आरोपितहरूमध्ये खड्गबहादुर नियमित रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरू गालीगलौज गर्थे, तेजबहादुर तँ जड्याहाँ किन यसो गर्छस् भनी गाली गर्थे । खड्गबहादुरले तलाई के मतलब तलाई मार्छु भनी झगडा गर्ने गर्थे, तेजबहादुरले लोकबहादुरलाई पनि तँ पागल र नरेशलाई डुडे काम नलाग्ने भइस् भनेर हेप्थे । यही कारणले सबै मिली योजना बनाइ हत्या गरेका हौँ ।’ 

प्रहरीले सुरुमा घटनाको दोषी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अब थप चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

२१ भदौमा मादी नगरपालिकाको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या भएको थियो । आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । 

घरका जेठा सदस्य ९० वर्षीय बौद्धमान कार्की मात्रै बाँचेका छन् । सबैको शव घर नजिकैको फरक-फरक स्थानमा फेला परेको थियो । 

  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १४:१४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया