त्यो विश्वासको राजनीति– यो आशंकाको राजनीति

त्यो पुरानो नेपाल । त्यो पुरानो व्यवस्था । त्यो पुरानै शासन । ती पुराना राजनीतिक गफ । अब त यी सबै दन्त्यकथाका पंक्ति र पात्रजस्तै लाग्छन् हिजोआज अभिनेता राजेश हमाललाई । उनले राणा शासन ढलेको किताबमा पढे, अलिअलि अग्रजहरूका मुखबाट पनि सुने । पञ्चायती व्यवस्था त भोगे नै । हमालको आँखैअगाडि ढल्यो पञ्चायत र राजतन्त्र पनि ।

देशमा गणतन्त्र ल्याउन आन्दोलनमा होमिएको भीडलाई किनाराबाट नियाल्दै दौडियो हमालको फिल्मी करिअर । तर, उनी कहिल्यै देखिएनन् आन्दोलनको मोर्चामा । नेपाली राजनीतिको बद्लिँदो स्वरूपबारे अभिनेता हमालले फरकधारसँग  खुलेर कुरा गरे ।  

पहिलाको राजनीतिक परिवेश अहिलेको जस्तो फराकिलो थिएन । विशेष गरेर त्यो समय प्रेस स्वतन्त्रता, नागरिक अधिकार कयौं ठाउँमा खड्किन्थ्यो । त्यो समय विचार आदान–प्रदान गर्ने सूचनाका स्रोतहरू पनि अहिले जस्तो प्रशस्त थिएनन् । भएको ‘दि राइजिङ नेपाल’ र ‘गोरखापत्र’ पनि स्वतन्त्र रूपमा नागरिकका कुरा लेख्न र छाप्न सक्दैनथे । ती पत्रिका सरकारी मुखपत्र थिए । 

त्यो समय मभित्र पनि अहिलेको जस्तो राजनीतिक चेत थिएन । त्यसबखत मलाई राजनीतिले असर गरेन । त्यसैले पनि राजनीतिलाई गहिरो ढंगले हेरिनँ । आवश्यकता, चेतना, खोजी र माग पनि समयसँगै फेरिने रहेछन् सायद । त्यो बेलाको राजनीतिमा व्यक्तिगत सुरक्षा र मानिस–मानिसबीचको विश्वास समाजमा देखिन्थ्यो । अहिले एकै पार्टीभित्र पनि आपसमा शंकाउपशंका व्याप्त छ । फरक विचार राखेर फरक राजनीतिक दलसँग आवद्ध भएर हिँड्नेहरूले त एकअर्कालाई विश्वास गर्ने कुरै भएन । त्यही भएर होला, राजनीतिक दलप्रति आममानिसमा विश्वास देख्दिनँ म । 

पहिला नचिनेको मान्छे आफ्नो घरमा आउँदा कसैले पनि शंकाको दृष्टिले हेर्दैनथे । अहिलेको मान्छेले आफ्नो क्षेत्रमा प्रवेश गर्नुअघि नै २÷३ वटा ढोका बनाइसक्यो । मान्छेले नै मान्छेलाई पर्खाल लगाइसक्यो । पहिला मान्छेका घरमा दैलो सबैका निम्ति उघारै हुन्थ्यो । वरपरका मान्छे आफन्तजस्ता थिए । अहिले वल्लो घरको मान्छेले पल्लो घरको मान्छेलाई चिन्दैन । त्यो समय जे जस्तो भए पनि मान्छेहरूले सुरक्षा महसुस गर्थे । सुरक्षा दिने निकायको पनि प्रभाव देखिन्थ्यो । 

यद्यपि, एकआपसमा सुरक्षाको प्रत्याभूति गरे पनि त्यो समयका मानिसहरू आफ्नो हक–अधिकार माग्न सक्दैनथे । अहिलेको मानिस आफ्नो हक–अधिकार खुलेर माग्न सक्छन्, त्यो वातावरण सिर्जना भएको छ । अहिले मन नपरेको कुराको विरोध गर्ने परिपाटी पनि छ । त्यो समय यो पक्ष कमजोर थियो । म हुर्कंदै गर्दा मैले केशरजंग रायमाझीलाई देखेको थिएँ । कम्युनिस्ट आन्दोलनको स्थापनाकालको नेता रायमाझीको घर मेरै घरनजिक थियो । त्यसबेला उहाँ भूमिगत जस्तै हुनुहुन्थ्यो । उहाँले आफ्ना कार्यकर्ता तथा नजिकका मान्छेसँग गोप्य वार्ता गर्नुहुन्थ्यो । 



उहाँ साइनोले मेरो हजुरबुवा पर्नु हुन्थ्यो । आमाका मामा रायमाझीको राजनीतिक जीवनसँग मेरो उतिसाह्रो चासो थिएन । मेरो घरमा राजनीतिक गफ कममात्रै हुन्थ्यो ।
रायमाझी कम्युनिस्ट आन्दोलनमा लागेको मानिस । उहाँको घर मेरो घरभन्दा केही तलतिर थियो । उहाँले भूमिगत रूपमा आफ्ना कार्यकर्ता र नेताहरूसँग गोप्य वार्ता गरेको थाहा पाउँथेँ । गहिराइमा नबुझेपनि त्यो गतिविधि म देख्थेँ । मेरो बुवा त तत्कालीन श्री ५ को सरकारको कर्मचारी हुनुहुन्थ्यो । 

केशरजंग रायमाझीलाई म डाक्टर मामा भन्थँे । उहाँको घरमा जाँदा भने राजनीतिक कुरा थोरै बुझ्ने मौका पाएको थिएँ । उहाँ प्रायः लुकेर बस्नुहुन्थ्यो । कहिलेकाहीँ प्रहरी आयो भनेर पछाडिबाटै भाग्नु हुन्थ्यो । त्यो हेर्दा सत्ता बाहिरका मानिसका विचारलाई त्यत्ति स्वतन्त्रता नदिएको भान हुन्थ्यो । धेरै कुरा बुझन् भने समय लाग्यो । 



त्यो बेलाको राजनीतिमा दरबारको प्रभाव भयंकर थियो । त्यो बेला सायद नबुझेर पनि होला, आदर्शको प्रभाव अधिक थियो । अहिले आदर्श प्रभावकारी छैन । मानिसले कुनै न कुनै चरणमा गएर स्वतन्त्रता खोज्छ । विचारको, व्यक्तित्वको स्वतन्त्रता खोज्छ । अहिले खोजिरहेको छ । तर, आफ्नो हक–अधिकार खोज्दै गर्दा नेताप्रतिको आदर्श भत्कियो । 

व्यक्ति सम्मानित भए पनि त्यो व्यक्तिप्रति मान्छेले फरक विचार राख्न सक्छ । फरक विचार प्रकट गर्न पनि पाउनुपर्छ । फरक मत राख्ने भन्नासाथ अभद्र भन्ने कोणबाट बुझिनु हुँदैन । त्यो बेला यो खालको वातावरण थिएन । त्यो बेला फरक मत राख्नेहरू विद्रोही अथवा राष्ट्रघाती कहलिन्थे । 

अहिले हेर्दा धेरै कुरा इतिहास भए । कुनै दिन राजसंस्था थियो । अहिले त्यो राजसंस्थाका मानिसहरू त छन्, तर संस्था भने छैन । अहिले पनि त्यो संस्थाप्रति मानिसहरूले आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन् । मानिसहरूले आफ्नै आँखाअगाडि राखेका मत÷अभिमतलाई त्यही संस्थाका मानिसहरूले पनि हेरिरहेका छन् । स्वीकार गरिरहेका छन् । त्यो बेलाको परिवेशमा यो कुरा त सोच्न पनि सकिँदैनथ्यो । यो नयाँ राज्य व्यवस्थाले दिएको स्वतन्त्रता हो, अधिकार हो । यति भन्दै गर्दा कुनै पनि राजनीति पर्फेक्ट हुँदैन भन्ने पनि लाग्छ मलाई । त्यो  बेला एकखालको समस्या थियो । अहिले अर्कोखालका समस्या छन् । 

आमनेपालीलाई जस्तो मलाई पनि अहिलेको राजनीति मन परिरहेको छैन । किनकि, पछिल्लो ३० वर्षमा विभिन्न किसिमका परिवर्तन भए । हरेक परिवर्तनका लागि विभिन्न किसिमको आश्वासन देखाइए । कुनै पनि परिवर्तनले आममान्छेको धरातलमा खास परिवर्तन गर्न सकेन । जसले गर्दा आममान्छेको मनमा भएको राजनीतिक दल र दलका नेतामाथिको पटकपटक विश्वास भत्कियो । 

अहिले नेपालको परिस्थिति असाध्यै जटिल छ । अब सुधार गर्न पनि कठिन छ । हाम्रो देश, यहाँको भूराजनीति, यहाँको अवस्थाका बारेमा खरो रूपमा उत्रन सक्ने नेता भए केही सुधार आउला । नत्र यहाँ विदेशीको चलखेल, विदेशीको दबाबका कारण नेताहरू पनि निरीह बन्न पुगेको छन् । तिनको जालमा परिसकेपछि हामीलाई पनि नेताहरू निकै निरीह लाग्दा रहेछन् । 

खरो नेता भएको भए, सुरूदेखि नै त्यही किसिमको अडान लिएर काम गर्न सकेको भए सायद राम्रो हुन्थ्यो । अहिलेको परिदृश्यमा त्यस्तो अडान लिन सक्ने नेता मैले कोही देखेको छैन । जालमा सबै परिसकेको जस्तो लाग्छ मलाई । उहाँहरूले ‘पब्लिक कन्जम्प्सन’का लागि नेपाली जनतालाई जे भने पनि, यथार्थचाहिँ उहाँहरू निरीह हुनुहुन्छ । जो व्यक्ति जालमा परिसक्यो, यो गुट र त्यो गुटको भैसक्यो, अरूद्वारा परिचालित भैसक्यो तिनले जनतालाई केवल आश्वासन दिने हो । कति गर्न सक्छु, कति गर्न सक्दिनँ भन्ने उहाँहरूलाई राम्रोसँग थाहा छ । यो नेपाली राजनीतिको विडम्बना नै हो । हामी अरूको प्रभावमा छौं । दबाबमा छौं र दबिँदै गइरहेका छौं । नेताहरूले जनताबाट लुकाउन खोजे पनि वास्तविकता यही नै हो । यो थाहा पाउने मान्छेलाई नेता पनि भयंकर निरीह लाग्दो रहेछ । 

मलाई राजनीतिक गतिविधिमा चासो छ । एक कूटनीतिज्ञको छोरो भएर पनि होला, यो चासो हुनुको कारण । राजनीति त्यही व्यक्तिबाट होस्, जो जीवनको सुरूवातबाटै राजनीतिमा होमिएको छ । हुनुपर्ने पनि यहि हो । विडम्बना, यस्तो भैरहेको छैन । भविष्यको खाका बनाउने बेला राजनीति सोचिरहेको मान्छेले नै राजनीति गर्नुपर्छ । मेरो त कला क्षेत्रमा नै धित मरेको छैन ।

                                                                                                                                                                           प्रस्तुतिः राधिका अधिकारी 

याे पनि पढ्नुहाेस् :

देखेको त्यो काठमाडौं, भोगेको यो काठमाडौं

 
 

  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार ९:५९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया