नेपालले ओमान भ्रमणबाट सिक्नुपर्ने पाठ

नेपालले आइसिसी विश्वकप लिग-२ मा ८ वटा म्याच खेलेको छ । जसमा नेपालले चार म्याचमा हारको सामना गर्दा चार खेलमा जित हासिल गरेको छ ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत पहिलो सिरिज घरेलु मैदानमा खेल्यो । दोस्रो सिरिज भने नेपालले ओमानमा खेलेको हो । नेपालले घरेलु मैदानमा खेलेको सिरिजमा गरेका केही गल्ती ओमानमा पनि दोहोर्‍यायो । 

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । याे सिरिजमा नेपालले ओमान र अमेरिकासँग एक/एक खेल जित्यो ।   

नेपालको खेलमा धेरै जसो एकै किसिमका गल्तीहरू पाइन्छ । यसपटक खेलमा नयाँ खेलाडीको आगमन, केही खेलाडीको पुनरागमन, अनुभवी खेलाडीको संन्यास तथा सिरिजको ठीक अगाडि प्रमुख प्रशिक्षक डेभ वाटमोरको राजीनामा घोषणा, कोभिडका कारण पर्याप्त अभ्यास नपाउनु जस्ता विभिन्न कारणकाबीच नेपालले ओमानमा सिरिज खेलेको हो । 

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानविरुद्ध ५ विकेटले पराजित भयो । अमेरिकाले दोस्रो खेलमा नेपाललाई ६ विकेटले हरायो । अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गर्दै सुखद अन्त्य गर्‍यो । त्रिकोणात्मक ओडिआई सिरिजको लागि नेपालले तयारी स्वरूप पपुवा न्युगिनी (पीएनजी) सँग दुई म्याच खेलेको थियो ।

पीएनसँगको पहिलो खेलमा नेपालले दुई विकेटको संघर्षपूर्ण जित निकालेको थियो । दोस्रो खेलमा भने नेपालले पीएनजीलाई १ सय ५१ रनले हरायो । ओडिआईमा नेपालले कुनै पनि टिमलाई १ सय ५१ रनले हराएको यो पहिलो पटक हो । 



नेपाली टोली गत भदौ ८ मा ओमान पुगेको थियो । ओमान भ्रमणमा नेपालको प्रदर्शन अपेक्षाअनुसार भने हुन सकेन । नेपालले ओमानको सिरिजबाट केही महत्वपूर्ण कुरा सिक्नुपर्ने हुन्छ । कप्तान ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षक डेभ वाटमोरले पनि यो सिरिजपछि नेपालले धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।   

सन् २०१३ देखि ओमानलाई जित्न नसकेको नेपालले त्यस कुरामा भने पूर्णविराम लगाइदिएको छ । बलरद्वय करण केसी र सन्दीप लामिछाने चम्कदा नेपालले ओमानलाई ७ विकेटले हराउन सफल भएको हो । टिम पुरानो पुस्ताबाट विस्तारै नयाँ पुस्तामा हस्तान्तरण हुँदै गरेको छ ।



यो बीचमा पुराना पुस्ताका क्रिकेट स्टार पारस खड्कादेखि शक्ति गौचनले संन्यास लिएपछि कुशल भुर्तेल, रोहितकुमार पौडेल, आसिफ शेख तथा गुल्शन झा जस्ता नयाँ खेलाडी आएका छन् । युवा पुस्ताको प्रदर्शनले पनि आशा जगाएको छ । रोहितको पुनरागमनले यस पटकको सिरिजमा उत्कृष्टता प्रदान गर्‍यो । नेपालको कमजोर ब्याटिङ प्रशिक्षक डेभ वाटमोरको आगमनले केही सुधारिएको देखिएको थियो । ओमान भ्रमणमा भने पुनः ब्याटिङमा नेपालले लय गुमायो ।

सिरिजमा ओपनरको भूमिका निभाएका कुशल भुर्तेल र आसिफ शेखले वैशाखमा भएको त्रिकाणात्मक टी-२० सिरिजमा देखिएको लय ओमान भ्रमणमा देखाउन सकेनन् । यद्यपि, यी दुई ब्याट्सम्यानले व्यक्तिगत रूपमा भने सन्तोषजनक प्रदर्शन गरे ।  

कुशल र आसिफमा तालमेलको कमी र केही अनुभवी खेलाडीको गैरजिम्मेवार ब्याटिङ पनि नेपाल हारको कारण हुन् । ओमान भ्रमणमा आशा गरिएका अनुभवी ब्याट्सम्यानले जिम्मेवारीपूर्वक ब्याटिङ गरेनन् ।

अनुभवी खेलाडीको खराब प्रदर्शनले पनि ओमान भ्रमणमा नेपालले ओमान र अमेरिकासँग एक/एक म्याच हार्न पुग्यो । सोमपाल कामी, विनोद भण्डारी तथा शरद भेषवाकरको प्रदर्शनले नेपाली टोलीलाई निराश बनायो ।

कप्तान ज्ञानेन्द्र मल्ल भने यस पटकको सिरिजका पछिल्ला दुई खेलमा लयमा फर्किए । उनले अन्तिम दुई खेलमा लगातार अर्धशतकीय पारी खेलेका थिए । चोटका कारण उपकप्तान दिपेन्द्र सिंह ऐरीले ओमान भ्रमणमा एक म्याच पनि खेल्न पाएनन् ।    

आगामी दिनमा नेपालले ओमान भ्रमणमा गरेका गल्तीलाई सुधार गर्नुपर्छ । गैरजिम्मेवारी ब्याटिङ  र अनुभवको कमी पनि पछिल्लो समय नेपाललाई सबैभन्दा ठूलो चिन्ता र हारको कारण बन्दै आएको छ । 

नयाँ पुस्ताले देखाएको आशा लाग्दो भविष्य यो सिरिजमा देखिएको राम्रो पक्ष हो । ओमान भ्रमणबाट रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख तथा कुशल भुर्तेलले ठूलो आशा जगाएका छन् । आगामी दिनमा यी खेलाडीलाई राम्रो प्लेटफर्म र ‘एक्पोजर’ दिन सक्ने हो भने नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको पूर्वप्रशिक्षक हाटमोर बताउँछन् ।

‘नेपालमा सम्भावना बोकेका खेलाडी छन्, तर यी खेलाडीलाई ‘एक्पोजर’ को खाँचो छ,’ ओमानबाट आफ्नो देश फर्किनुअघि उनले भने । कप्तान ज्ञानेन्द्र मल्लले पनि नेपालले आगामी दिनमा ओमानमा गरेका गल्तीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाली टिमका पूर्वकप्तान तथा यू-१९ टोलीका पूर्वप्रशिक्षक विनोद दासले नेपालको ब्याटिङमा सुधार देखिएको बताए । यद्यपि, उनले केही सुधार गर्नुपर्ने पक्ष बाँकी नै रहेको  बताए ।

‘नेपालको क्रिकेट सुधारिँदै गएको छ । ब्याटिङ पनि पहिलेको भन्दा सुधारिएको छ,’ विनोदले भने, ‘अहिले आएको नयाँ पुस्ताको ब्याट्सम्यानले राम्रो लय समातिरहेको छ । नेपाली टिमको कमजोर पक्ष सुधार गर्न क्रिकेट एसोसियसनले पनि खेलाडीलाई आवश्यक पर्ने पूर्वाधारको कुरामा जोडदिनुपर्छ ।’   

उनले टोलीको प्रदर्शन सुधारदेखि ओडिआई साइकल आफैँमा कठिन रहेकाले खेल संरचनामा पनि जोड दिनुपर्ने बताए । ‘नयाँ आएका युवा पुस्ता तथा खेलाडीलाई आवश्यक सेवा सुविधाको व्यवस्था गरेर उनीहरूको खेल विकासमा जोड दिनुपर्छ,’ पूर्वकप्तान दासले भने ।

उनी नेपालका अनुभवी खेलाडी घरेलु लिगमा चम्किने तर अन्तर्राष्ट्रिय स्तरमा कमजोर हुनुमा ‘एक्पोजर’ अभाव नै औल्याउँछन् । नेपालमा भएका खेलमा विनोद भण्डारीलाई ‘गेम चेन्जर’को रूपमा चिनिन्छ । तर, उनले विदेशी भूमिमा लामो समयदेखि उत्कृष्ट पारी खेल्न सकेका छैनन् ।

विदेशी टिमसँग पर्याप्त मात्रामा म्याच खेल्न नपाउनुले पनि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीले अनुरूप प्रदर्शन गर्न सकिरहेका छैनन् ।


 

  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १८:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया