अस्वाभाविक अनुहारको बेवारिसे नवजात शिशु २० दिनदेखि प्रादेशिक अस्पतालको हेरचाहमा
साङ्केतिक तस्वीर

अचेत अवस्थामा फेला परेको २५ दिने एक नवजात शिशुको प्रादेशिक अस्पताल जनकपुरले हेरचाह गरिरहेको छ । 

२० दिनअघि धनुषाको मिथिलाबिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित परशुराम तलाउनजिक पुलमुनि बेवारिसे अवस्थामा ती नवजात शिशु फेला परेकी थिइन् । 

उनलाई इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले प्रादेशिक अस्पताल पुर्याएका थिए । उनले घटनाको बारेमा जानकारी पाएपछि शिशु जिउँदो रहेको र थप उपचारको आवश्यकता भएकोले प्रादेशिक अस्पतालमा भर्ना गराएका थिए ।

शिशुलाई अस्पताल ल्याउँदा बेहोस अवस्थामा रहेको र उनको गालामा छाला नरहेको तथा रगतका टाटा देखिएको प्रादेशिक अस्पतालका मेसु डा. प्रमोदकुमार यादवले जानकारी दिए ।

उनले शिशुको होस खुलिसकेको र अहिले दूधसमेत खान थालेको उनले बताए । शिशुलाई अस्पतालले आफ्नै निगरानीमा उपचार प्रदान गरिरहेको डा. यादवले बताए । 

नवजात शिशुको आमाबुबा को हो अहिलेसम्म थाहा भएको छैन । शिशुको गालामा छाला नरहेकोले पछि गएर प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 



शिशु पूर्णरुपमा स्वस्थ भएपछि स्थानीय प्रशासको समन्वयमा अनाथ आश्रमको जिम्मा लगाइने डाक्टर यादवले बताए । शिशुको आफन्त अहिलेसम्म फेला नपरेको र प्रहरीले उनको अभिभावकको खोजी गरिरहेको जनाएको छ ।
 
इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज प्रहरी निरीक्षक सुरेश ठाकुरले २० दिनअगाडि दिउँसो १२ बजेको समयमा आफूलाई स्थानीयले जानकारी दिएपछि कपडामा बेरिएर फालेको अवस्थामा फेला परेको शिशुलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएको बताए । 

उनले ती शिशु त्यतिबेला करिब ५ दिनको रहेको र अनुहार अस्वाभाविक भएकाले अभिभावकले शिशुलाई फालेर गएको हुनसक्ने प्रहरीको आशंका छ । 



  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार २१:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया