सामाजिक सञ्जालदेखि सडकसम्म रातो आन्दोलन, भारतीय कम्पनीको दबाब हो?

पछिल्लो साता सामाजिक सञ्जालदेखि सडकसम्म एक अभियान चर्चामा छ । महिलाहरूको महिनावारीसँगको जोडिएको स्यानिटरी प्याडको करबारे भएको चर्चा अहिले आन्दोलनको रूपमा चर्किएको छ । 

अहिले काठमाडौं र अन्य शहरहरूमा महिला अभियन्ताले विभिन्न तरिकाले आन्दोलन  गरिरहेका छन् । आन्दोलनलाई धेरैले ‘रातो आन्दोलन’ भनिरहेका छन् । ‘रातो कर माफ कर’ ‘महिनावारीमा कर नलगाउ’ लगायतका विषयसहितका प्लेकार्ड बोकेर युवाहरू आन्दोलन गरिरहेका छन् । यी विषय सबैभन्दा पहिला ट्वीटर र फेसबुकमा सुरु भएका थिए । तर, आन्दोलनले खास के भनिरहेको भन्ने कुरा भने स्पष्ट हुन सकेको छैन ।   

मूल्य वृद्धिबाट कर वृद्धि... 

अभियान सुरु हुँदा सामाजिक सञ्जालमा स्यानिटरी प्याडमा मूल्य वृद्धिको कुरा आएको थियो । यद्यपि पछि चालू आर्थिक वर्षको वार्षिक बजेटमा (प्रतिस्थापन बजेट) मा प्याड र प्याडका लागि आयात हुने कच्चा पदार्थमा कर बढाइएको भन्दै आन्दोलन चलेको थियो । त्यतिबेला बढाइएको कर फिर्ता गर भन्ने माग थियो । 

अहिले साताको अन्तिममा आइपुग्दा अहिले प्याड र प्याडका लागि आयात हुने सामग्रीमा चलिरहेको भन्सार शुल्क र भ्याट छुट हुनुपर्छ भन्ने माग बढिरहेको छ । तर, सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत प्याड र प्याडजन्य कच्चा पदार्थमा कर बढाएको भने छैन ।  

अर्थसचिव मधुकुमार मरासिनी र राजश्वसचिव कृष्णहरि पुष्करले पनि यो वर्ष स्यानिटरी प्याड र कच्चा पदार्थमा कुनै पनि कर नलाएको जानकारी दिइसकेका छन् । बरू प्रतिस्थापन विधेयकमार्फत स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई तीन वर्षसम्म करमा पूर्ण छुट व्यवस्था गरिएको छ । 



ती उद्योगले चौथो र पाँचौं वर्षमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेका छन् । यसले नेपाली उत्पादनलाई केही राहत लिने विश्वास गरिएको छ । 

आन्दोलनको तर्क के?



बजारमा आन्दोलन चर्किरहेको छ । तर, कहाँबाट कसरी र केका आधारमा आन्दोलन सुरु भयो भन्नेबारे खासै हेक्का राखिएको छैन । यतिबेला बजारमा प्याडको मूल्य केही बढेको चाहिँ छ । तर, कर बढेकै छैन । अन्तर्राष्ट्रिय बजारबाट तयारी प्याड प्याकेटका ल्याउनेहरूले नेपालमै अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्ने गर्छन् । 

अहिले आयातका क्रममा लागत बढेको भन्दै प्याडको एमआरपी बढाएको नेपाली प्याड उद्योगी पुनित सर्दा बताउँछन् । उनी भन्छन्, ‘आयातित तयारी प्याडमा मूल्य बढेको होला । तर, कर पनि बढेको छैन । नेपाली उत्पादनको मूल्य पनि बढेको छैन ।’

प्याड उत्पादनकर्ता र व्यापारीहरूले कच्चा पदार्थ र ढुवानी खर्च वृद्धि भएकाले मूल्य बढाउन बाध्य भएको बताएका छन् । कोरोना महामारीका कारण लामो समय बन्द भएका उद्योग तथा कम्पनीको उत्पादन मूल्य बढ्दा बजारमा मूल्य बढेको सिआरएस इम्पोर्टका प्रवन्ध निर्देशक जिवलाल पोखरेल बताउँछन् । 

फरकधारसँग उनले भने, ‘अहिले मूल्य बढेको स्यानटरी प्याडमा मात्रै होइन । कोरोना भाइरसपछि लामो समय बन्द रहेका नेपाली आयातकर्ता कम्पनीहरूको सबैखाले खर्च बढेको कारण सबै सामानहरूको मूल्य बढी भएको छ ।स्यानिटरी प्याडमा पनि पनि मूल्य बढेको हो ।’

भारतीयको स्पोन्सर !

महिलाहरूको अनिवार्य आवश्यकताका रूपमा रहेको स्यानिटरी प्याड सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्नेमा अधिकांशले स्वीकार गरे पनि एकाएक आन्दोलन हुनु चाहिँ आश्चर्यजनक भएको सरोकारवाला बताउँछन् । 

अभियन्ता प्रकाश अमात्य भन्छन्, ‘स्यानिटरी प्याड सके निशुल्क नसके सर्वसुलभ हुनुपर्ने माग अन्तर्राष्ट्रिय बजारमा उठेको छ । नेपालमा पनि सर्वसुलभ हुनुपर्छ भन्ने कुरा त सकारात्मक नै हो । तर, अहिले कर बढाइएको हो कि पुरानो कर छुट गर भनिएको त्यो पनि स्पष्ट छैन ।’

महिनावारी अभियन्ता गुणराज श्रेष्ठले भने अहिलेको आन्दोलन भारतीय प्याड बिक्रेताहरूको ‘स्पोन्सर’ भएको बताए । उनले भने, ‘अहिले झन् प्याड कम्पनीहरूलाई सरकारले प्रोत्साहन गरेको छ । खुसी हुनुपर्ने हो । यही बेलामा आन्दोलन हुनुले नेपालमै प्याड बिक्री गरिरहेका भारतीय उद्योगीहरूले स्पोन्सर गरेको छ भन्ने मैले सुनेको छु ।’

नेपाली प्याड उद्योगी पुनित सर्दा पनि नेपाली उद्योगहरूलाई प्रोत्साहन गर्न सरकारले कदम चालेको बेला भएका यस्ता आन्दोलनमाथि शंका गर्न सकिने बताए । उनले अहिले नेपाली प्याड उद्योगहरूको क्षमताअनुसार आत्मनिर्भर हुने भएकाले आयातित तयारी प्याडमा कर लगाउँदा खासै फरक नपर्ने बताए । 

अभियन्ता अमात्यले पनि नेपाली प्याड उद्योगहरूले सर्वसुलभ प्याड उपलब्ध गराउने वातावरण बनाइ सबै महिलाहरूको पहुँचमा पुर्‍याउनुपर्ने बताए । 

मूल्य बढ्यो

अहिले सिधै विदेशबाट आउने स्यानिटरी प्याड र प्याडका लागि आउने कच्चा पदार्थमा मूल्य बढेको पाइएको छ । विदेशबाट सिधै आउने स्यानिटरी प्याडमा ५ देखि १० प्रतिशतसम्म मूल्य बढेको पाइएको छ भने नेपालमा बनेका स्यानिटरी प्याडमा  ५ देखि ८ प्रतिशतसम्म मूल्य बढेको बजारमा अनुगमनका क्रममा भेटिएको हो ।  
तर, नेपाली प्याड उद्योगी सर्दाले स्वदेशी उत्पादनमा कहीँ पनि मूल्य नबढेको दाबी गर्दै कच्चा पदार्थको लागत बढेकाले निकट भविष्यमा केही मूल्य बढ्न सक्ने संकेत गरे । कोरोना महामारीका कारण लामो समय बन्द भएका उद्योग तथा कम्पनीहरूको उत्पादन मूल्य बढ्दा बजारमा मूल्य बढेको सिआरएस इम्पोर्टका प्रवन्ध निर्देशक जिवलाल पोखरेल बताउँछन् । 

व्यापारीका अनुसार नेपालमा प्रतिवर्ष करिब ६० अर्ब रुपैयाँ बराबरको स्यानिटरी प्याड खपत हुन्छ । यसमध्ये करिब ४० प्रतिशत प्याड नेपालमा उत्पादन हुने र बाँकी बाहिरी देशबाट आयात हुने गरेको छ । 

नेपालमा उत्पादन हुने प्याडका लागि पनि कच्चा पदार्थ पल्प, पोलिमर, एसएपी, कपडा र सक्सिटलगायत कच्चा पदार्थ अमेरिका, चीन र भारतबाट आयात गर्ने व्यापारी बताउँछन् । अध्ययनअनुसार नेपालमा विभिन्नखाले प्याड उत्पादन गर्ने कम्पनी ३० देखि ४० वटा छन् ।

  • प्रकाशित मिति : असोज ८, २०७८ शुक्रबार १७:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया