वीरगञ्ज र सिर्सिया नाका : २ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन

नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जस्थित दुईवटा ठूला भन्सार कार्यालय पछिल्लो तीन वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल हुँदै आएका थिए । तर, चालू आर्थिक वर्षको दुई महिनामा भने यी कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । 

कोरोना महामारीमा देशको मुख्य नाका वीरगञ्ज भन्सार कार्यालय (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको थियो ।   

वीरगञ्ज भन्सार कार्यालयले चालू दुई महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार विभागले चालू आर्थिक वर्षको साउनका लागि वीरगञ्ज भन्सारलाई ११ अर्ब ८२ करोड ७५ लाख ५ हजार लक्ष्य दिएको थियो । जसमा भन्सारले चालू आर्थिक वर्षको साउनमा १४ अर्ब ८४ करोड ५८ लाख २८ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले भदौमा पनि लक्ष्य पूरा गरेको छ । भदौमा १५ अर्ब ७० करोड ९४ लाख ३४ हजार लक्ष्य दिएको छ । जसमा  १७ अर्ब ७० करोड ५७ लाख ४६ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ । देशको कुल राजस्व संकलनमा ५१ प्रतिशतभन्दा बढी योगदान दिँदै आएका यी दुवै भन्सार कार्यालयलाई विभागले दिएको राजस्व ३ वर्ष लगातार असुलीको लक्ष्य पूरा गर्न असफल भएका थिए  । 

कोरोना संकटका कारण विभागले चालू आर्थिक वर्षमा लक्ष्य नै कम दिएको थियो । तर, त्यसमा पनि यी कार्यालय राजस्व संकलन गर्न असफल भए ।  
   
यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको दुई महिनामा राजस्व संकलनको लक्ष्य भेटाएको छ । तेस्रो मुलुकबाट जहाज भएर भारतको विभिन्न बन्दरगाहमा आएको वस्तुलाई रेलमार्फत आयात/निर्यात गर्दै आएको सुख्खा बन्दरगाहले लगातार ३ वर्षमा लक्ष्य भेटाउन सकेको थिएन । 

तेस्रो मुलुकको व्यापारका लागि समुद्री मार्गसँग सीधा सम्पर्क रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई विभागले चालू आर्थिक वर्ष ०७७/७८ मा साउन र भदौमा कूल  ७ अर्ब ७ करोड ५३ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा कुल ८ अर्ब ५५ करोड ८१ लाख राजस्व संकलन भएको छ । त्यो लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि रहेको छ ।  



लामो समयको कोभिड-१९ को असहज अवस्था विस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ । यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । 

ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोसाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ ।
 
वीरगञ्जमा मुख्य भन्सार कार्यालय र सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/७८ को लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा कमजोर भन्सारका रूपमा परिणत भएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा पनि ती दुवै भन्सार कार्यालय तोकिएको लक्ष्य भेट्न असफल भए ।  



कोभिड-१९ को महामारी र बन्दाबन्दीको कारण गत आवको राजस्व संकलनको लक्ष्य पूरा गर्न ती दुवै भन्सार असफल भएका हुन् । आर्थिक वर्ष २०७७/७९ मा वीरगञ्ज भन्सारलाई भन्सार विभागले १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाखको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । 

यसैगरी आर्थिक वर्ष  २०७६/७७ मा विभागले १ खर्ब ८८ अर्ब ६२ करोड ४९ लाखको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले १ खर्ब २६ अर्ब २१ करोड ७ लाख रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । 

त्यस्तै, वीरगञ्ज भन्सारलाई आर्थिक वर्ष २०७५/०७६ मा पनि विभागले दिएको १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख लक्ष्यमा १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख रुपैयाँ वीरगञ्ज भन्सारले उठाएको थियो ।

वीरगञ्जमै रहेको अर्को सिर्सिया सुक्खा बन्दरगाह भन्सार पनि लगातार असफल नै भएको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई विभागले आर्थिक वर्ष २०७७/७८ को लागि कुल ४४ अर्ब १२ करोड २२ लाख १८ हजार राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । 

कार्यालयले ४२ अर्ब ५३ करोड २६ लाख २३ हजार मात्र राजश्व संकलन गरेको छ । जसमा २ अर्ब कम राजश्व संकलन गरेको थियो त्यसैगरी २०७६/०७७ मा भन्सार  विभागले  ४१ अर्ब ८८ करोड ५ लाख ४ हजारको लक्ष्य दिएकोमा सुक्खा बन्दरगाह भन्सार ३६ अर्ब १९ करोड ७३ लाख ४ हजार मात्र राजस्व संकलन गरेको छ । 

त्यस्तै, २०७५/७६ का लागि भन्सार विभागले कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो । तर कार्यालयले ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजस्व उठाउन सकेको थियो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख डा. लालबहादुर खत्रीका अनुसार चालू आर्थिक वर्षको दुई महिनाको लक्ष्य भन्दा बढी संकलन गरेको छ । हरेक वर्ष विभागले राजस्व संकलनको लक्ष्य बढाएर नै दिन्छ । कोरोनाको महामारीले गर्दा विभागले गत वर्षको तुलनामा लक्ष्य यस वर्ष बढाएर नै दिएको छ ।   

बढी राजस्व उठ्ने सवारीसाधन र औद्योगिक कच्चापदार्थको पैठारीमा कमी आएका कारण राजस्व संकलनमा गत बर्ष असर परेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।   

  • प्रकाशित मिति : असोज १२, २०७८ मंगलबार १३:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया