जनयुद्धका सहयात्रीलाई प्रचण्डको आह्वान : फरक–फरक हुँदा ज्ञान प्राप्त भयो पुनः एक बनौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालका सहयात्रीलाई पुनः एकताका लागि आह्वान गरेका छन् ।

पार्टीसम्बद्ध सम्पर्क समन्वय विशेष प्रदेश समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक–फरक रूपमा माओवादी जनयुद्धका सहयात्रीले खास रूपमा ज्ञान प्राप्त गरेकाले अब एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले जनयुद्धकालका नेताहरू नेत्रविक्रम चन्द, मोहन वैद्य र डा. बाबुराम भट्टराईसँग पार्टी एकताका लागि छलफल सुरु भएको समेत जानकारी दिए ।

अध्यक्ष दाहालले जनता र पार्टी कार्यकर्ता ठीक ठाउँमा भएको र आफूहरू बिग्रिएको बताउँदै अब देश र जनताको हितका लागि पनि एकता गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले बाबुराम पनि ज्ञानी हुनुभएको छ, विप्लवजी पनि ज्ञानी हुनुभएको छ, म पनि ज्ञानी भएको छु । जनता र कार्यकर्ता बिग्रिएका होइनन्, उनीहरू ठीक ठाउँमा छन् । अब फर्केर आत्मसमीक्षा गर्दै जनतामाझ जानुपर्छ ।’

उनले नयाँ आधारमा ज्ञानसहित सबै कम्युनिस्टहरू नयाँ एकतामा आउने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले आफूले देश र जनताको हितलाई केन्द्रमा राखेर नेकपा एमालेसँग पार्टी एकता गरेको भए पनि केपी ओलीका कारण त्यो सम्भव नभएको उल्लेख गरे । 



एमालेसँग पवित्र उद्देश्यका साथ एकता गरेको भए पनि केपी ओली छलछाम, धोकाधडीको खेल खेल्ने भएकाले ओलीले कम्युनिस्ट आन्दोलन र मुलुक संकटमा पारेको अध्यक्ष दाहालको भनाइ थियो ।

अवस्था ठीक नदेखेपछि आफूहरूले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपरेको उल्लेख गर्दै उनले आफू कुनै पनि पदको लोभमा नपरेको बताए ।



अध्यक्ष दाहालले एमालेले फैलाएको भ्रमको पर्दाफास गर्दै जनतालाई सही र तथ्यपूर्ण सूचना दिन तथा जनतालाई एकीकृत गर्न समेत पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

  • प्रकाशित मिति : असोज १६, २०७८ शनिबार १९:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया