बाजुरामा देउवा र पौडेल समूहबीच प्रतिस्पर्धा हुने

नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशन शनिबारदेखि सदरमुकाम मार्तडीमा सुरु भएको छ । आज (आइतबार) बन्द सत्र हुने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन । 

नयाँ नेतृत्वका लागि निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।शनिबारदेखि सहमतिको प्रयास भए पनि निष्कर्ष आउन सकेको छैन । 

शेरबहादुर देउवा पक्षका बहालवाल जिल्ला सभापति कविराज पण्डितलाई उम्मेदवारी घोषणा गरिसकिएको छ । यस्तै रामचन्द्र पौडेलबाट रामसिंह रावललाई अगाडि सारेको छ । अर्को प्रत्यासी युवा नेतृत्वबाट महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह रहने भएका छन् । 

सभापतिका आकांक्षीहरू बढेपछि सहमति गर्ने प्रयास असफल भएको नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

सभापतिमा आफू निकट मान्छे ल्याउने जोडबलका कारण सो क्षेत्रमा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिएको छ । सदरमुकाम मार्तडीमा आफूपक्षीय नेता कार्यकर्ताहरू जम्मा गरेर भोट तान्ने प्रयास गरिरहेका छन् ।

देउवाका विश्वासिला पात्र पूर्व माननीय  देवराज जोशीले सभापतिका आकांक्षी कविराज पण्डितलाई अगाडि सारेका छन् । नेतृत्वको प्रत्यासी कविराज पण्डितले सकेसम्म सहमतिको प्रयास गरिने जानकारी दिए ।



रामसिंह रावललाई पौडेल पक्ष र सिटौला पक्षका नेताहरू बद्री प्रसाद पाण्डे, पूर्व भूमिसुधारमन्त्री जनकराज गिरी लगायतका नेताहरूको साथ छ । नेतृत्व चयनका लागि देउवा पक्षका मतदाता निर्णायक देखिन्छन् । 

नेतृत्वको आकांक्षी चक्रबहादुर शाहले युवालाई पुस्ता हस्तान्तरण गर्नुपर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘३०/३५ वर्षसम्म एउटै व्यक्तिले पार्टी ओगट्नु हुँदैन । एक परिपार्टीको थालनी गर्नुपर्छ भन्ने नै हो’, उनले भने, ‘कांग्रेसमा युवाहरूले ठाउँ नपाइरहेको अवस्थामा पार्टीलाई गति दिनका लागि युवा नेतृत्व आवश्यक छ ।’ 



बाजुराका ६९ वडाहरूमा अधिकांश वडामा सहमतिकै आधारमा वडा तहको नेतृत्व चयन भएको हो । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ४ बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भइसकेकाे छ । 

जिल्लाको दुईवटा क्षेत्रमध्ये ‘क’ मा सर्वसम्मत भएको हो भने ‘ख’ मा निर्वाचन भएको हो । जिल्लामा जम्मा मतदाताको संख्या वडा सभापति प्रदेश गरी एक हजार २०४ रहेका छन् ।

  • प्रकाशित मिति : असोज १७, २०७८ आइतबार १२:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया