यी हुन् कांग्रेस सभापति पदका ‘बलिया’ उम्मेदवार

मुलुकको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसलाई नेतृत्व दिने दाबीसहित थुप्रै नेताहरू मैदानमा देखिएका छन् । विधानतः १५ वर्ष पार्टीको सदस्य रहेका नेताहरू सभापतिको उम्मेदवार हुन योग्य हुन्छन् । विधानअनुसार उम्मेदवार हुन आवश्यक आधारभूत योग्यता पूरा भएका व्यक्ति अधिक भएका कारण पनि दाबेदारहरू थुप्रै देखिएका हुन् ।

तर, सभापति पदमा मनोनयन दर्ता भएको दिनसम्म कतिले फिर्ता लिने हुन्, त्यो अहिले नै भन्न सकिन्न । विगतमा यस्तो अवस्था थुप्रै पटक आइसकेको छ ।  अर्काेतिर, मनोनयन दर्तापछि पनि फिर्ता लिन सकिन्छ । सोही कारण कति उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्न तयार हुने हुन् ? त्यसका लागि भने मंसिर ९ गतेसम्म कुर्नुपर्ने छ । 

यद्यपि, चुनावमा प्रतिस्पर्धा गर्न सक्ने बलिया उम्मेदवार भने चार जना देखिन्छन् ।

शेरबहादुर देउवा 

वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा १४औं महाधिवेशनमा सभापति पदका बलिया उम्मेदवार हुन् । उनी सभापति पदको दौडबाट पछि हट्ने सम्भावना छैन । पहिलो पटक उनी १२ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार भएका थिए । त्यसबखत संस्थापनइतर पक्षबाट उम्मेदवार बनेका उनी संस्थापनका उम्मेदवार सुशील कोइरालासँग पराजित भएका थिए । 

१३औं महाधिवेशनमा पनि संस्थापनइतर पक्षबाट देउवा सभापति पदका उम्मेदवार बने । उनले संस्थापन पक्षका उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गरे । उनै देउवाले १४ औं महाधिवेशनबाट सभापति बन्न चाहिरहेका छन् । सभापति पदको प्रतिस्पर्धाबाट यसपटक कुनै पनि हालतमा नबाहिरिने उनको मनोविज्ञान छ । उनलाई भरथेग गर्नेमध्येका एक नेता विमलेन्द्र निधि अलग भए पनि देउवाले त्यसलाई सामान्य रुपमा लिएको देखिन्छ । विजयकुमार गच्छदार र सुनीलबहादुर थापाबाट निधिले पुर्याउन सक्ने क्षतिपूर्ति हुने उनको ठम्याइ छ । 



अर्कोतिर, १३औं महाधिवेशनमा सभापति पदको प्रतिस्पर्धी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाट पनि आन्तरिक रूपमा सहयोग लिँदा निर्वाचन जितिने देउवाको हिसाब छ । सिटौलाले दोस्रो चरणको निर्वाचनमा देउवालाई सहयोग गरेका थिए । हुन त सिटौला स्वयंले पनि सभापति पदको उम्मेदवार बन्ने बताउँदै आएका छन् । अन्तिममा भने पदाधिकारीमध्ये कुनै पदमा सिटौला वा उनी पक्षका नेताहरूलाई व्यवस्थापन गर्ने समझदारी गरेर देउवालाई सहयोग गर्नेमा उनी पुग्ने राजनीतिक विश्लेषक डा. विष्णु दाहाल बताउँछन् ।

विश्लेषक दाहालको कुरामा देउवा निकट एक नेता सहमति जनाउँदै भन्छन्, ‘यसअघि पनि उहाँ (कृष्णप्रसाद सिटौला) ले सहयोग गर्नुभएको थियो, यसपटक पनि सहयोग हुने विश्वास सभापतिले लिनु भएको छ ।’ फेरि देउवाले सभापति पदमा जित्ने गरी क्रियाशील सदस्यता वितरणदेखि नै वातावरण पनि बनाउँदै ल्याएका छन् ।
राजनीतिक विश्लेषक दुर्गा सुवेदी संगठनात्मक संरचनामा देउवाले कब्जा गर्दै आएको बताउँछन् । त्यही भएर संस्थापनइतर पक्षलाई चुनौती दिन देउवालाई सजिलो छ । त्यही कारण विमलेन्द्रले ‘सभापतिमा पहिला सहयोग गरेँ, अब मलाई गर्नुहोस्’ भन्दा पनि देउवा सकारात्मक नभएको सुवेदीको विश्लेषण छ ।



डा. शेखर कोइराला/डा. शशांक कोइराला 

नोना पुत्र डा. शेखर र बिपी पुत्र डा. शशांक दुवै सभापति पदको दाबेदार रहेका छन् । शशांक महामन्त्री र शेखर केन्द्रीय सदस्य हुन् । १३औं महाधिवेशनमा शेखरले भाइ शशांकलाई महामन्त्री पदमा सहयोग गरेका थिए । त्यसबेला महामन्त्री पदका दाबेदार शेखर पनि थिए । अन्तिममा आएर उनी दाबेदारीबाट बाहिरिए । यसपटक शशांकले सहयोग गर्नुपर्ने पनि उनले बताउँदै आएका छन् । फेरि, शेखर केन्द्रीय सदस्य १३औं महाधिवेशनबाट भएसँगै देशव्यापी पार्टी संगठनमा जोडिए, जुन सभापति पदको तयारी स्वरूप गरिएको थियो । 

महामन्त्री भएका शशांकको भने पदीय भूमिकामा रहँदा प्रभावशाली ‘पर्फमेन्स’ नभएको टिप्पणी हुँदै आएको छ । त्यसले गर्दा उनले सिंगो पार्टीलाई हाँक्न नसक्ने चर्चा पनि एकथरि नेताहरूले गर्दै आएका छन् । गुन तिर्न भए पनि शशांकले शेखरलाई समर्थन गर्न सक्ने आकलन गरिन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य शेखरको पक्षमा कांग्रेसमा जनमत सिर्जना हुँदै आएको बताउँछन् । त्यही भएर कोइराला परिवारबाट शशांकभन्दा शेखर सभापति पदको बलिया दाबेदार ठानिएको उनको बुझाइ छ । 

हुन त गिरिजापुत्री सुजाता पनि सभापति पदको दाबेदार छिन् । तर, कांग्रेसको संगठनमा उनको प्रभाव कमजोर छ । यसले गर्दा उनी सभापति पदमै निर्वाचन लड्ने अवस्थामा देखिन्नन् । कोइराला परिवारलाई कांग्रेस वृत्तमा छुट्टै शक्तिशाली खेमाको रूपमा हेर्ने गरिन्छ । 

विमलेन्द्र निधि

उपसभापतिसमेत रहेका विमलेन्द्र निधि कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको दाबेदार हुन् । उनको उम्मेदवारी घोषणा ११ भदौमा भइसकेको छ । सम्पर्क कार्यालय नै खोलेर चुनावी वातावरण सिर्जना गर्न उनी लागिसकेका छन् ।  उनी आठौं महाधिवेशनबाट महामन्त्री भएका महेन्द्रनारायण निधिपुत्र हुन् । कांग्रेसमा मधेसका हस्तीको रूपमा महेन्द्रनारायणलाई लिने गरिन्थ्यो ।

उनकै पुत्र विमलेन्द्रले देउवासँगको १९ वर्षे राजनीतिक सहकार्य तोड्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापति पदमा जित्न सक्लान् वा नसक्लान्, त्यो छुट्टै पाटो हो, तर उनी प्रभावशाली उम्मेदवार भने हुन् । नेपाल विद्यार्थी संघको राजनीति गर्दै कांग्रेसको मूलधारको राजनीतिमा उनी १०औं महाधिवेशनबाट प्रवेश गरेका हुन् । 

२०५९ मा पार्टीमा माओवादीविरुद्धको कारबाहीको विषयलाई लिएर विवाद भएपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेकै कारण देउवाको नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भयो । त्यसबेला निधि देउवासँगै थिए । देउवा नेतृत्वको प्रजातान्त्रिकले ११औं महाधिवेशन छुट्टै गर्दा निधि महामन्त्री बनेका थिए । 

एकताको १२औं महाधिवेशन हुँदा पनि देउवा पक्षमा रहेका उनलाई १३औं महाधिवेशनमा देउवाले उपसभापति बनाए । तर, १४औं महाधिवेशनमा भने उनीहरू एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रने भएका छन् । विश्लेषक दुर्गा सुवेदीका अनुसार कांग्रेसमा सभापति हुन लायक नेतामध्येमा निधि पनि पर्छन् । नेपाल विद्यार्थी संघबाट राजनीति गरेकाले उनको पनि पार्टी संगठनमा ठीकै प्रभाव रहेको सुवेदीको बुझाइ छ । उनको प्रभाव मधेसमा अधिक रहेको ठानिन्छ । 

प्रकाशमान सिंह 

९ असोजमा सिंहले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरे । ‘नम्बर वान म्यान’ भएर पार्टी संगठनमा काम गर्ने निष्कर्ष गरेको भन्दै उनले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी फिर्ता नहुने र सभापति पदमा निर्वाचन जसरी पनि लड्ने प्रतिज्ञा पनि उनको छ । यसकारण उनी सभापतिको प्रबल दाबेदारमध्ये एक हुन् । उनी पनि विमलेन्द्रसँगै १०औं महाधिवेशनबाट कांग्रेसको मूलधारको राजनीतिमा आएका हुन् ।

कांग्रेस विभाजित भएर देउवा नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक हुँदा सिंह पनि त्यतै लागे । प्रजातान्त्रिकले ११औं महाधिवेशन गर्दा उपसभापति भएका उनी १२औं महाधिवेशनमा महामन्त्री भए । हाल उनी पनि देउवासँग छैनन् । 

देउवासँग सभापति पदमा उनी लड्न चाहन्छन् । उनी कांग्रेसका संस्थापकमध्येका एक गणेशमान सिंहका पुत्र हुन् । काठमाडौं उपत्यकामा उनको प्रभाव राम्रो रहेको देखिन्छ । 

यी नेताहरूका अतिरिक्त कांग्रेस सभापति पदमा अन्य दुई नेता पनि दाबेदार देखिएका छन् । उनीहरूले सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

गोपालमान श्रेष्ठ 

नेपाली कांग्रेसको सभापति पदमा स्याङ्जा पुगेर नेता श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति देउवाले ‘खोला तर्यो, लौरो बिर्स्याे’ गर्न नहुने उनको भनाइ छ । त्यही भएर आफूलाई देउवाले नै समर्थन गरेर सभापति पदमा उम्मेदवार बनाउने विश्वास उनको छ ।

उनी कांग्रेसको पहिलो तहका नेतामा पर्छन् । उनी अहिले पनि देउवा निकट छन् । देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकलाई २०५९ देखि नै साथ दिएका उनी छुट्टाछुट्टै भएको ११औं महाधिवेशनमा प्रजातान्त्रिकको पहिलो नम्बरको उपसभापति भए । ११ औं महाधिवेशनमा श्रेष्ठले देउवालाई सर्वसम्मत सभापति बनाउन प्रमुख भूमिका निर्वाह गरेका थिए ।

देउवालाई राजा ज्ञानेन्द्रले निर्वाचन गर्न अक्षम रहेको भन्दै अपदस्त गरेर शासनसत्ता हातमा लिएर शाही आयोग गठन गरी थुन्दा प्रजातान्त्रिकको नेतृत्व श्रेष्ठले गरेका थिए । २०६२/०६३ को जनआन्दोलनमा प्रजातान्त्रिकको तर्फबाट उनी अगुवा नेता थिए । उनी १२ बुँदे विस्तृत शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता समेत हुन् ।  

कल्याणकुमार गुरुङ

नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गर्ने पहिलो नेता कल्याणकुमार गुरुङ हुन् । १६ भदौमा उनले उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसको नेतृत्व युवा नेताले गर्नुपर्ने आवाज उठिरहँदा गुरुङको उम्मेदवारी घोषणा भएको हो । तर, गुरुङबाहेक कुनै पनि युवा नेताले सभापति पदमा उम्मेदवारी घोषणा गर्ने आँट गरेका छैनन् ।

गुरुङले ‘बार्गेनिङ’ गर्ने गरी उम्मेदवारी घोषणा नगरिएको र सभापति पदमा निर्वाचन लडी छाड्ने बताउँदै आएका छन् । उनी नेपाल विद्यार्थी संघको आठौं महाधिवेशनबाट अध्यक्ष भएका थिए । हाल उनी पार्टीको निर्वाचित केन्द्रीय सदस्य छन् । 
 

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १३:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया