बुढानिलकण्ठ कार दुर्घटनाबारे बोल्दा अभिनेत्री पारमिता फेरि विवादमा

नायिका पारमिता आरएल राणा ०७६ सालमा बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाकी हिस्सेदार हुन् । उनी सवार गाडीले सडक किनारमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा महिलाको मृत्यु भएको थियो । 

मदिराले लठ्ठ परेर गाडी चलाइरहेको अवस्थामा उनी सवार कारले महिलालाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते भएकी ती महिलालाई उद्धार गर्नुको साटो उनी भागेकी थिइन् । 

लामो समय भूमिगत रहेकी उनले सर्वत्र आलोचनापछि माफी मागेकी थिइन् । अहिले पारमिताले फेरि सो घटनाबारे बोलेकी छिन् । दुर्घटनाजस्तो संवेदनशील घटनाको विषयमा उनले हाँस्दै प्रतिक्रिया दिएकी हुन् । उनले युट्युबर सञ्ञ्जय सिलवाल गुप्तासँगको कुराकानीमा उक्त घटना स्मरण गरेकी हुन् ।  

उनले भनेकी छिन्– हामी तीनजनाको म्युच्युअल साथीले कार चलाइरहेको थियो । जसले अल्कोहल सेवन गरेको थिएन । मैले त्यो साथीलाई दोस्रोपटक भेटेकी थिएँ । हामी त्यो दिन सुरक्षितसाथ घर पुग्ने सोचिरहेका थियौँ । पछाडिको सिटमा म सुतेकी थिएँ । अगाडि बस्ने साथी पनि सुतेको थियो । हामी सबै सुतिरहेको अवस्थामा दुर्घटना हुन पुग्यो । 

उनले हाँस्दै भनेकी छिन्, हामी सबै सुतिरहेको अवस्थामा त्यसरी दुर्घटनाबारे कल्पना पनि गरेका थिएनौँ । यस्तो दुर्घटनाजस्तो गम्भीर विषयमा पनि हाँसेर जवाफ दिएको भन्दै उनको आलोचना भइरहेको छ । 

झण्डै २१ हजारले उनको भिडियो हेर्दा लाइक भन्दा बढी डिसलाइक दिएका छन् । झण्डै ६०० जनाले लाइक गर्दा एक हजार ५०० भन्दा बढीले डिसलाइक गरेका छन् । उक्त भिडियोमा गरिएका अधिकांश कमेन्टमा उनलाई गाली गरिएको छ । 



उक्त घटनापछि आफूमाथि निकै प्रेसर परेको प्रतिक्रियासमेत उनले दिएकी छिन् । सो घटनापछि आफ्नो धेरै आलोचना भएको र धेरैपटक आत्महत्या गर्ने सोच पनि आएको उनले दाबी गरेकी छिन् । 

त्यो समयमा बेकारमा नेपाली चलचित्र क्षेत्रमा आएँ भन्ने समेत लागेको र त्यो घटनापछि अहिलेसम्म कहिल्यै पनि अरुले चलाएको गाडी नचढ्ने गरेको बताएकी छिन् । 



उनले आफूले नै गाडी चलाएर महिलालाई ठक्कर दिएझैँ व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेकी छिन् । 

०७६ मंसिर २८ गते बिहान साढे ५ बजेतिर बुढानीलकण्ठको फुटपाथमा हिँडिरहेकी ४२ वर्षीया लीला देवकोटालाई मादकपदार्थ सेवन गरी पृथ्वी मल्लले चलाएको कारले ठक्कर दिएको थियो । बा१४च ६१२३ नम्बरको कारको पछाडिको सिटमा राणा बसेकी थिइन् । 

घटनापछि उनी गाडीबाट निस्किएर भागेकी थिइन् । अनुसन्धानका क्रममा मल्लले मदिरा पिएर सवारी चलाएको र उनीसँग लाइसेन्स समेत नभएको पाइएको थियो । 

उक्त घटनामा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । पछि सर्वोच्च अदालतले मानसिक स्वास्थ्य कारण देखाउँदै मल्ललाई पाँच लाख धरौटीमा रिहा गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलासले आरोपित मल्ललाई धरौटीमा छाड्ने आदेश गरेको थियो । सर्वोच्चले आरोपित मानसिक समस्या र दमको बिरामी भएको दाबीलाई आधार लिएको थियो ।

  • प्रकाशित मिति : असोज १८, २०७८ साेमबार १८:७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया