रणबहादुर रावलको सुदूरपश्चिमा मुख्यमन्त्री बन्ने चाहना, देउवाले भने,- ‘पर्खिनुहोस् छलफल गर्छु’

सत्ता बाहिर रहेको नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्न ‘लबिङ’ थालेको छ । संघीय सरकारसँगै देशका अन्य प्रदेशमा गठबन्धनमा सरकार बन्दा सुदूरपश्चिममा पनि बन्नुपर्ने र सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने  उठेको छ ।

यही माग गर्दै कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । भेटपछि रावलले त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले काम गर्न नसकेकाले कांग्रेस नेतृत्वमा सरकार गठनबारे कुरा गरिएको फरकधारलाई बताए ।

‘केन्द्र र अन्य प्रदेशमा गठबन्धन सरकार बन्दा सुदूरपश्चिममा पनि बन्नुपर्ने भनेका छौं र सरकारले काम पनि गर्न सकेन । त्यही भएर सरकारको नेतृत्व बदलौँ भन्ने कुरा भयो’, रावलले भने । 

प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूबीच छलफल गरेर मात्र निष्कर्षमा पुगिने बताएको उनले बताए । ‘अहिले पर्खिनुहोस्, गठबन्धनका दलका नेताहरूसँग सल्लाह गर्छु, त्यसपछि हेरौं के हुन्छ ? भन्नुभयो प्रधानमन्त्रीज्यूले’, उनले भने, ‘जे भए पनि अब सुदूरपश्चिम सरकारबारे छलफल हुन्छ ।’

हाल सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस प्रतिपक्षमा छ । नेकपा माओवादी केन्द्रका भट्ट नेतृत्वमा रहेको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी छ ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुने अवस्था नआए सरकारमा भए पनि सहभागी हुन चाहेको छ । 

तेस्रो दलबाट मुख्यमन्त्री हुने रावलको दाउ    
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको तेस्रो दल हो । प्रदेशमा १२ सांसद छन् । सर्वाधिक ठूलो दल एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) हो । जुन दलको संसद्मा १४ जना सांसद छन् । 



त्यसपछि हाल सरकारको नेतृत्व गरेको माओवादी केन्द्र १३ सांसदसहित दोस्रो र एमाले ११ सांसदसहित चौंथो रहँदा जसपा र लोसपाको समान १÷१ जना सांसद छन् । 
यसरी संसद्मा तेस्रो शक्तिको रूपमा रहेको कांग्रेसले प्रदेश सत्ता चलाउन चाहेको छ । 

रावलको मुख्यमन्त्री बन्ने चाहना छ । उनी त्यहाँको संसदीय दलका नेता हुन् । गठबन्धनका दलहरूबीच सहमति भएको अवस्थामा रावल मुख्यमन्त्री हुने सम्भावना छ । 
बागमती र प्रदेश १ सरकार नेकपा (एकीकृत) लाई छाडेपछि कांग्रेसले सुदूरपश्चिम ताकेको हो । 



हाल कांग्रेस नेतृत्वमा संघीय सरकार र गण्डकी प्रदेश सरकार छ । संघीय सरकारको नेतृत्व देउवाले गर्दा गण्डकी प्रदेश सरकारको नेतृत्व कृष्णचन्द्र नेपालीले गरेका छन् । 

कांग्रेसले नेतृत्व गरेको संघीय सरकार र प्रदेश सरकारको नेतृत्व यसअघि एमालेले गरेको थियो । पाँच बर्से प्रतिपक्षी दलको ‘म्यान्डेट’ पाएको कांग्रेस नेकपा विभाजन भएसँगै सत्तामा फर्किएको हो । 

  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १४:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया