वडा अधिवेशन देखाउँदै बागमतीको संसद बैठक सार्न एमालेको पत्र

कात्तिक ४ गतेका लागि बोलाइएको बागमती प्रदेशको प्रदेशसभा बैठक सार्न नेकपा एमालेले पत्र लेखेको छ । एमालेका मुख्य सचेतक दीपक निरौलाले बागमती प्रदेशका सचिव विष्णुहरि खड्कालाई पत्र पठाउँदै बैठकको मिति हेरफेरका लागि अनुरोध गरेका हुन् । 

पत्रमा कात्तिक ४ गतेका लागि बोलाइएको बैठक कात्तिक ११ गतेका लागि सार्न अनुरोध गरिएको छ । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन कात्तिक ९ गते हुने भएको र प्रदेशसभा सदस्य त्यसमा होमिनुपर्ने भएकाले प्रदेशसभामा सहभागिता हुन नसक्ने पत्रमा जनाइएको छ । 

कात्तिक ४ गते बस्न लागेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा टेबुल गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढ्ने जनाइएको थियो । 

मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् ।    
प्रदेशसभाको समीकरणअनुसार शाक्य अल्पमतमा छिन् ।  

हाल रहेका १ सय ९ प्रदेश सभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदको मात्रै साथ छ । बागमती प्रदेशसभाको बैठक जति पर सार्यो मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार त्यति नै समय टिक्ने भएकाले नेकपा एमालेले प्रदेशसभाको बैठक सार्ने अनेक कार्ड प्रयोग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले संसदमा यसअघि टिप्पणी गरेका थिए । 

उनले प्रदेशसभाको बैठक छिटोभन्दा छिटो बोलाएर अल्पमतको सरकारले विश्वासको मत लिनुपर्ने बताएका थिए । 




 



  • प्रकाशित मिति : कात्तिक ३, २०७८ बुधबार १८:३३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया