प्रधानमन्त्री देउवा भन्छन्- एमसिसी पास हुन्छ, यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन
फाइल फाेटाे

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसिसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए।

देउवाले भने, ‘एमसिसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसिसीको बारेमा झुठा प्रचार गरिएको छ । विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसिसी त अनुदान हो । उनीहरूले नै यसमा नेपालकै कानुन लागू हुने बताएका छन् ।’

अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छुभन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने।

प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । 

‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरू क्षतविक्षत छन् । बाटो छैन, बिजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’



नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेवारी दिइएको भन्दै पन्छिए ।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।



  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १०:३०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया