भीमेश्वर नगरको दोलखा-नागदह सडक १५ वर्षसम्म अलपत्र

२०६३ मा दोलखा नागदह सडकखण्डको ट्र्याक खोलिएको थियो । सडकको ट्र्याक खोलिएको १५ वर्ष पूरा भइसकेको छ । जम्मा आठ किलोमिटर दूरी रहेको उक्त सडक दोलखाको दुङगल, गङगरास, डिलढुंगा, फुलपा, न्यागल हुँदै नागदह पुग्छ ।
  
०६३ वैशाखमा उक्त सडकको ट्र्याक खोल्नका लागि ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो । दोलखा दुङगलका स्थानीय अम्बरबहादुर श्रेष्ठको अध्यक्षतामा सो सडकखण्ड खोलिएको थियो । तर, अहिलेसम्म सडक गुणस्तर नहुँदा नियमित सवारी साधन सञ्चालनमा आउन सकेको छैन । २०६४ मा सडकका लागि ४ लाख रुपैयाँ पनि गरिएकाे थियाे । 

यसरी हरेक वर्ष सडक गुणस्तरका लागि भन्दै भीमेश्वर नगरले बजेट छुट्याए पनि सोचेजस्तो गुणस्तर हुन नसकेको स्थानीयको गुनासाे छ । विभिन्न समयमा सचिव, कोषाध्यक्ष र अध्यक्षसमेत भएका स्टालिङ श्रेष्ठले सडक गुणस्तर नहुनुमा पर्याप्त बजेट विनियोजन नभएको दावी गरे । 

भीमेश्वर नगरको अर्को मुख्य सडक दोलखा नागदह भए पनि खास बजेट र निर्वाचित प्रतिनिधिले प्रभावकारी भूमिका खेल्न नसक्दा लथालिंग भएको श्रेष्ठको भनाइ छ । 

‘दोलखा नागदह सडकको ट्र्याक खोल्नका लागि सहज थिएन । १५ वर्षअघि दोलखाको नेवार समुदायको जग्गामा डोजर चलाउनु अर्को चुनौती थियो’, श्रेष्ठले फरकधारसँग भने,‘सो समय दोलखाकै अम्बरबहादुर श्रेष्ठ, सोममाया श्रेष्ठ, सेती र गाँजली श्रेष्ठहरूको ठूलो योगदान छ।’

सडकखण्डमा कहिले ग्राभेल, कहिले सोलिङ र कहिले सरसफाइजस्ता नाममा ठूलै रकम लगानी भएकाे छ । अहिलेसम्म कुन–कुन शीर्षकमा बजेट छुट्याइयो र प्रगति विवरण कस्तो छ भन्ने प्रश्नमा नगरपालिकाका सूचना अधिकारी जगदिश अर्यालले कुनै तथ्यांक दिन सकेनन् ।  अर्यालले दोलखा नागदह सडकखण्डमा करिब २ करोड प्लस लगानी भएको संक्षिप्त जवाफ दिए । 



अर्यालका अनुसार चालु आर्थिक वर्षमा नगरपालिकाले एक करोड १० लाख र बागमती प्रदेशबाट १ करोड ५० लाख गरी जम्मा ३ करोड बजेट सो सडकखण्डमा कालोपत्रे गर्नका लागि छुट्याएको छ । 

‘सडक कालोपत्रे गर्नका लागि टेन्डर आह्वान भएको छ । आह्वानपत्रको मूल्याङकनपछि सेलेक्सन गर्छौं । यसपछि आर्थिक प्रस्तावसँगै सडकको कालोपत्र अघि बढाउँछौं’, नगरपालिकाका सूचना अधिकारीले भने ।



भीमेश्वर नगर-२ को बजेट दोलखा बजार केन्द्रित हुने भएका कारणले पनि दोलखामुनि बजेट नचुहिने जानकारहरू बताउँछन् । विशेषगरी दोलखा पाखलती, तल्लो टोल र भीमेश्वर वरिपरि बजेट घुम्ने भएकाले दुङगलभन्दा तल्लो क्षेत्रमा विकास निर्माणको काम ओझेलमा पर्ने गरेको स्थानीयको भनाइ छ ।  

एक महिनाअघि मात्रै दोलखा नागदह सडकको गुणस्तरका लागि सडक बोर्डबाट ५८ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । सोलिङ गर्न लागि छुट्याएको बजेटमा समेत वडा अध्यक्ष विराज श्रेष्ठले आफ्नै आफन्तलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम गराएपछि विवाद भएको थियो ।विवादास्पद उपभोक्ता समितिको विषयमा भीमेश्वर नगरपालिकामा न्यागल, फूलपा, सोक्ला, चक्पाका स्थानीयले निवेदन दिएर नयाँ समिति बनाउन आग्रह समेत गरेका थिए ।

जबकि भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले स्थानीय निवेदकलाई अहिलेको समिति भंग गरेर नयाँ उपभोक्ता समिति बनाउने आश्वासन दिएका थिए । तर, अहिले पनि सो उपभोक्ता समितिका अध्यक्ष प्रविन श्रेष्ठकै नेतृत्वले काम गरिरहेको छ ।

फूलपा नागदह जाने सडकखण्डको उपभोक्ता समितिमा दोलखा बजारको नेतृत्व किन भन्ने प्रश्नमा बद्री दाहाल भन्छन्, ‘जब तल्लो तहका स्थानीय उपभोक्ता समितिमा नै छैन भने कसरी प्रभावकारी काम हुन्छ?’ दाहालको भने,‘सडक फूलपा नागदह । अनि उपभोक्ता समिति दोलखा बजारको नेतृत्व । कस्तो अचम्म भइरहेको छ।’  

तल्लो क्षेत्रका स्थानीयलाई जानकारी नै नदिई नक्कली हस्ताक्षरसहित सो समिति बनाएको स्थानीय सिंगा तामाङको भनाइ छ । यो समिति तत्काल खारेर गरेर नयाँ समिति बनाउनु पर्ने उनको भनाइ छ ।  

जबकि वडा अध्यक्ष श्रेष्ठले न्यागलका चन्द्र तामाङलाई समितिमा बस्ने हो भने २५ लाख रुपैयाँ जम्मा गरेर समिति बनाउनु भनेका थिए । सोही अनुसार २५ लाख जम्मा गरेर वडा अध्यक्षलाई फोन गर्दा ‘अब हुँदैन भाइ सम्झौता भइसक्यो’भने । यसरी गैरजिम्मेवार जवाफ दिएको चन्द्र तामाङले जानकारी दिए ।  

यसरी तल्लो तहका स्थानीयलाई भोट बैंक मात्रै सम्झिए स्वीकार्य नहुने अर्का स्थानीय उमेश मोक्तान बताउँछन् ।

यस विषयमा कुरा गर्न खाेज्दा वडा अध्यक्ष विराज श्रेष्ठ सम्पर्कमा आउन चाहेनन् ।  

  • प्रकाशित मिति : कात्तिक ५, २०७८ शुक्रबार १२:४५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया