फातसुङ उपन्यासको अङ्ग्रेजी अनुवाद बजारमा

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अङ्ग्रेजी अनुवाद ‘सङ अफ द सोयल’ बजारमा आएको छ । 

लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित फातुसङ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ । आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ । आशा राखें, यहाँबाट आम अङ्ग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जीलिङे जीवनका केही भोगाइ छन् । केही सुस्केरा छन् । सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अङ्ग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन् ।’

सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको बरालले  बताए । 

छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छिन्, ‘आशा, आकाङ्क्षा र तुषारापात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यासले हामीलाई हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजान्छ । साँच्चै नै माटोको गीत यसमा जीवनको झोक्का समाहित छ ।’

त्यस्तै लेखक प्रज्वल पराजुलीले भनेका छन्, ‘धेरै भाषामा पढ्नलायक यो एउटा सुन्दर रचना र महत्त्वपूर्ण किताब हो ।’





  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार ७:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया