बझाङ पहिरोको ५ दिन : ४ को शव फेला, १९ जना अझै बेपत्ता
तस्बिर सौजन्य : प्रताप ओली

बझाङको थलारामा २ कात्तिकमा आएको पहिरोमा बेपत्ता भएका १९ जना अझै फेला परेका छैनन् ।  थलारा–४ मा रहेको डिक्लामा दुई परिवारका २३ जना बेपत्ता भएका थिए । शनिबारसम्म ४ जनाको शव भेटिएको छ ।

४ मध्ये ३ जनाको सनाखत भएको छ । एकजना आज भेटिएको हुँदा सनाखत हुन बाँकी रहेको खोजतलासमा खटिएका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

 ‘भिरालो जमिन भएको हुँदा शव खोज्न सजिलो छैन’, उनले भने, ‘४ दिनदेखि प्रहरी, सेना र शसस्त्र प्रहरी खोजतलासमा खटिएका छन् । ४ जनाको मात्र शव भेटिएको छ ।’ 

शनिबार दिउँसो सम्म भेटिएका आयुष पार्की, विकास सार्की र सीता सार्की हुन् । शनिबार भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । भेटिएका शवको पनि शरीरको पूरै भाग भेटिएको छैन ।

पहिरोमा गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना बेपत्ता थिए । पहिरोमा परी सर्वस्व गुमाएका यी दुई परिवारका दुईजना भने बाँच्न सफल भएका छन् ।  

पहिरोले नरबहादुर र गगने सार्कीको परिवार खोसेको छ । गगने सार्की ३ छोरासहित रोजगारीका लागि भारतमा छन् । शनिबार प्रदेशबाट राहत सामग्री बोकेर हेलिकप्टर थलारा जाने जनाएको छ ।​



थलारामा पहिरो गएपछि करिब १ सय ७८ परिवारको बसोबास रहेको तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँबीचमा ठूलो धाँजा फाटेको छ । सरस्वती आधारभूत विद्यालयका सबै भवन पहिरोको कम्पनले भत्किएका छन् । 

विभिन्न ठाउँमा जमिन भासिएपछि पूरै गाउँ बगाउने डरले विस्थापित भएका १ सय ४८ परिवार अझै त्रासमा छन । ‘ठाउँठाउँमा धाँजा परेका छन् । गाउँले सबै एकै चिहान हुन्छन् कि भन्ने डरले निद्रा पर्न छाडेको छ ।



पहिरो गएपछि विस्थावित भएकाहरू विस्तारै आफ्नो घरमा सरको थलारा गाउँपालिका–४ वडाध्यक्ष विष्णु विष्टले बताए ।  ‘पहिरोको जोखिम कायमै भए पनि पानी रोकिएपछि विस्थापितहरू घर फर्किन थालेका छन्,’ उनले भने, ‘पालमा बस्दा बालबच्चा बिरामी हुन थालेपछि जोखिम उठाएर भए पनि घरमै बस्न थालेका हुन ।’ 

बेमौसमी वर्षापछि आएको पहिरोले पालिकाभरी नै क्षति पुर्‍याएको र त्यसको तथ्यांक संकलन भइरहेको गाउँपालिकाका जनाएको छ । डिक्लाको पहिरो क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले हवाई आकाशबाट निरीक्षण गरेपछि असन्तुष्ट व्यक्त गरेका थिए । 

  • प्रकाशित मिति : कात्तिक ६, २०७८ शनिबार १४:२१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया