साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौं : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् ।

आइतबार प्रदेश-१ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले बेमाैसमी वर्षाका कारण खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र  किसानहरूको पीडामा मलहम लगाउने काम सरकारले गर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं । साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौं, बाढीपहिरोले धेरै नोक्सान गरेको छ । हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं । सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ । त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौं ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा समेत गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकासभन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए । 





  • प्रकाशित मिति : कात्तिक ७, २०७८ आइतबार १२:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया