ट्याक्सी बोलाउन मोबाइल एप ‘सारथी’

छिटो गन्तव्यमा पुग्न आफ्नै साधन नहुने सर्वसाधारणका लागि सहज माध्यम हाे, ट्याक्सी । 

अन्य सार्वजनिक सवारीजस्तै ट्याक्सीका लागि पनि सरकारले भाडादर तोकेको छ । तर, पछिल्लो समय ट्याक्सी चालकले मनपरी ढंगले पैसा असुल्दा सेवाग्राही ठगिने क्रम बढ्दाे छ । 

नेपाल सरकारले जनता ट्याक्सीबाट नठगिऊन् भनेर ट्याक्सीहरू अनिवार्य मिटरमा चल्नुपर्ने नियम पनि ल्यायो । नियम कार्यान्वयन नभएको पनि होइन, तर पनि सेवाग्राही अझै विभिन्न बहानामा ट्याक्सीबाट ठगिँदै आएका छन् । 

धेरैजसो ट्याक्सी चालक दैनिक भाडामा ट्याक्सी लिएर चलाउँछन् । ट्याक्सी साहुलाई तिर्नुपर्ने दैनिक भाडामाथि आफ्नो परिवार धान्न पुग्ने कमाइ गर्नुपर्ने बाध्यता पनि हुन्छ उनीहरूलाई । सेवाग्राही पनि समयको बचत गर्ने र झन्झट नखप्ने उद्देश्यले मिटरतिर नलागी चालकले मागेकै भाडादरमा पैसा तिर्दा ठगिने गर्छन् । 

‘यी सबै कुरालाई मध्यनजर गर्दैै हामीले एक यस्तो प्लेटफर्म ल्याउने तयारी गर्यौँ, जसले सेवाग्राही ट्याक्सी चालकबाट मर्कामा नपरून्, साथसाथै ट्याक्सी चालकको व्यवसाय चल्ने वातावरण पनि बनोस् । त्यसैअनुरूप हामी ‘सारथी’ कम्पनीको सुरुआत गर्ने निष्कर्षमा पुग्यौँ,’ ‘सारथी क्याब’का सञ्चालक प्रकाश न्यौपाने भन्छन्, ‘सारथीको संस्थापकका रूपमा मसँगै सहकर्मी रवि सिंहाल मिलेर कम्पनीको परीक्षण गरिरहेका छौँ ।’ 

सबै ट्याक्सीमा मिटर जडान गरिए पनि अहिले पनि सेवाग्राही र ट्याक्सी चालकबीच पैसाको बार्गेनिङ हुन्छ । ‘हामीले अहिले परीक्षणका क्रममा सारथी मोबाइल एप ल्याएका छौँ, जसको माध्यमबाट सेवाग्राहीले आफ्नो गन्त्व्यमा पुग्न आवश्यक विवरण दिई घरमै ट्याक्सी मगाउन सक्छन्,’ उनी भन्छन्, ‘सेवाग्राहीले २४सै घण्टा एपको माध्यमबाट गुणस्तरीय सेवा पाउन सक्छन् ।’



२०१६ सालमा सारथी कम्पनी दर्ता भयो । त्यसपछि बनेको सारथी एप परीक्षणका क्रममा छ । छिट्टै औपचारिक रूपमा एप सार्वजनिक गर्ने कम्पनीको तयारी छ । 

‘सारथी एप एक यस्तो प्लेटर्फम हो, जसमार्फत सेवाग्राहीले गन्तव्यमा पुग्न कुनै समस्या भोग्नुपर्दैन । हामीले देखेका छौँ, पैसा तिरेर पनि ट्याक्सी चढ्दा कहिलेकाहीँ चालकबाट अमानवीय व्यवहार हुने गर्दछ,’ न्यौपाने भन्छन्, ‘तर सारथीमा चालकबाट हुने नम्र र मानवीय व्यवहारबाट पनि सेवाग्राहीले थप लाभ लिन सक्छन् ।’ 



‘ट्याक्सी चढ्दा हतारको समयमा कहिलेकाहीँ आफ्ना बहुमूल्य सामान ट्याक्सीमै छुट्ने गर्छ । यस्तो अवस्थामा सम्बन्धित ट्याक्सी तथा छुटेको सामान भेट्न समस्या हुन्छ । यस्तो समस्यामा सेवाग्राही मर्कामा पर्ने नै भए,’ उनी थप्छन्, ‘तर सारथी मोबाइल एपबाट ट्याक्सीको सेवा लिँदा सामान ट्याक्सीमा छुटे पनि सारथीको कल सेन्टरमा सम्पर्क गर्दा सारथीले सम्बन्धित ट्याक्सीलाई सम्पर्क गरी सामान फर्काउने वातावरण बनाउँछ ।’ 

सारथीसँग अहिले ५० भन्दा बढी ट्याक्सी आबद्ध छन् । सारथीसँग आबद्ध हुन ट्याक्सी चालकले ट्याक्सीमा जिपिएस र मिटर राख्नुपर्छ ।

परीक्षणका क्रममा सारथीले अहिलेसम्म २ लाखभन्दा बढीलाई सेवा दिइसकेको सञ्चालक न्यौपानेको दाबी छ । उननी भन्छन्, ‘सारथीको मोबाइल एपबाट समयको बचत, पैसाको बचत तथा ट्याक्सी चालकको मानवीय व्यवहारले गर्दा पनि सेवाग्राहीले भरपुर फाइदा लिइरहेका छन् ।’
 

  • प्रकाशित मिति : कात्तिक १५, २०७५ बिहीबार १९:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया