अब नेपालीसँग विद्युतीय पासपोर्ट, के हो ई–पासपोर्ट ?

परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग हस्तलिखित राहदानी थियो । त्यही पासपोर्टको आधारमा उनी विदेशिए । विदेश जाँदा उनले त्यहाँको अध्यागमन विभागमा निकै अपमान खेपे । उनलाई अपमान गरेको भए त केही पनि हुने थिएन । अध्यागमन विभागका ती अधिकारीले त नेपाललाई नै हेपेछन् । उनीसँगै अध्यागमन विभागमा पासपोर्ट देखाउने अन्य देशका नागरिकहरूसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) थियो । तर, उनीसँग हस्तलिखित पासपोर्ट हुँदा यस्तो पनि पासपोर्ट हुन्छ भन्दै अपमान गरियो । त्यही बेला उनलाई अब हाम्रो देशले पनि मेसिन रिडेबल पासपोर्ट जारी गर्न सकेको भए कति राम्रो हुन्थ्यो भन्ने लाग्यो ।

संयोगबस हस्तलिखित राहदानी बोकेर विदेश हिँडेर अपमानसमेत सहनुपरेका परराष्ट्रमन्त्री डा. खड्काले आज नै तेस्रो जेनेरेसनको पासपोर्टको उद्घाटन गरेका छन् । नेपालमा आजदेखि विद्युतीय पासपोर्ट जारी गरिएको छ । योसँगै अबदेखि एमआरपी पासपोर्टसमेत विस्थापित हुनेछ ।

राहदानी विभागले पहिलो ई–पासपोर्ट शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।  विभागले आज एक कार्यक्रमको आयोजना गरेर परराष्ट्रमन्त्री डा. खड्काले पहिलो ई–पासपोर्ट जोशीलाई हस्तान्तरण गरेका हुन् ।

अबको केही दिनसम्म सीमित मात्रामा ई–पासपोर्ट जारी हुनेछ । त्यसपछि विस्तारै ७७ वटै जिल्ला, विदेशस्थित नियोगहरूबाट ई– पासपोर्ट जारी गर्नेगरी विभागले तयारी गरेको छ ।

केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई–पासपोर्ट वितरण गरिने राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए । ई–पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने उनको भनाइ छ । 



डिसेम्बरको अन्त्यसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई–पासपोर्ट मात्र वितरण गरिने महानिर्देशक अर्यालले बताए । ई–पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

नेपाल तेस्रो जेनेरेशनको पासपोर्टमा  



सन् २०१० सम्ममा नेपालमा हस्तलिखित राहदानी थियो । विश्वका कैयौं देशले एमआरपी पासपोर्ट जारी गरे पनि नेपालले हस्तलिखित राहदानी नै वितरण गर्दै आएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपाललाई हस्तलिखित राहदानी अन्त्य गरेर एमआरपी जारी गर्न बाध्य पारेको थियो । नेपालले जबरजस्ती एमआरपी जारी गरेको थियो । जुन २०१५ सम्ममा पूर्ण रूपमा हस्तलिखित राहदानीको अन्त्य भयो र एमआरपी लागू भयो ।

एमआरपी लागू भएको ६ वर्षपछि नेपालले ई–पासपोर्ट जारी गरेको हो । जुन नेपालका लागि बाध्यकारी भने होइन । नेपालले आईकाओको बाध्यकारी व्यवस्था पर्नुअगाडि ई–पासपोर्ट जारी गरेको हो ।

विश्वका केही मुलुकले मात्र ई–पासपोर्ट लागू गरेका छन् । नेपालका लागि यसको सफलता भने कोषेढुँगा सावित हुनेछ ।

विभागका महानिर्देशक अर्यालले यसअघि एमआरपी जारी भएपछि विश्वभरबाट प्रशंसा भएको बताए । ‘हामीले छोटो समयमै हस्तलिखित राहदानी विस्थापित गरेर एमआरपी जारी गरेका थियौं । जसले गर्दा आईकाओले समेत प्रशंसा गरेको थियो ।’ उनले भने ।

के हो ई–पासपोर्ट ?

तेस्रो पुस्तोको अर्थात् अन्तर्राष्ट्रियस्तरको सुरक्षित ई–पासपोर्ट नेपालले आजदेखि लागू गरेको छ ।

ई–पासपोर्ट भनेको विद्युतीय राहदानी हो । जसमा विद्युतीय चिप र एन्टेना हुन्छ । यसमा भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याटमा मेसिन रिडेबल जोन हुन्छ । राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा उल्लेखित महत्त्वपूर्ण विवरणहरू देखिन्छ ।

चिपमा औँठाछाप, तस्विरलगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न मिल्दैन ।

पोलिकार्बोनेटसहितको डाटा भएको यो पासपोर्ट पूर्ण सुरक्षाको आधारमा बनाइएको विभागका महानिर्देशक अर्यालले बताए ।

अन्य राहदानीलाई पुरानै रंगमा छोडे पनि साधारण राहदानीको रंग भने परिवर्तन गरेको छ । साधारण राहदानी चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ । राहदानी साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने छन् । 

विभागले दुई महिनाअघि नै परीक्षण गरेको थियो । जुन सफल भएपछि माघदेखि जारी गरिएको हो । यसका लागि गत वर्षदेखि काम थालिएको थियो । कोरोना महामारीको समयमा समेत ई–पासपोर्टका लागि विभागले काम गरेको थियो ।

हातले लेख्ने राहदानीबाट मेसिनले पढ्ने हुँदै अहिले ई–पासपोर्ट आएको छ । चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित छ । कतिपय मुलुकमा अत्याधुनिक पासपोर्ट पनि आइसकेको छ । जसलाई चौथो जेनेरेशनको पासपोर्ट पनि भनिन्छ । तर, त्यो खासै उपयोगमा आएका छैनन् । भिसा नचाहिने मुलुकमा स्मार्ट कार्डहरूको प्रयोग गरिन्छ । त्यही स्मार्ट कार्ड, स्मार्ट फोन पासपोर्ट, क्लाउड पासपोर्ट, भर्चुअल आइडी लगायतलाई चौथो जेनेरेसन पासपोर्ट भनिन्छ ।

एमआरपी पासपोर्ट बनाउनेले तत्कालै ई–पासपोर्ट बनाउनुपर्ने बाध्यता छैन । तर, कुनै न कुनै समयमा ई–पासपोर्ट जारी गर्नैपर्ने हुन्छ । त्यसो हो भने किन ढिला गर्ने भनेर अहिले नै जारी गरिएको अर्यालको भनाइ छ ।

यसमा विदेशस्थित कूटनीतिक नियोग र जिल्ला प्रशासन कार्यालयहरूले रुजु गर्ने लाइभ इनरोलमेन्ट गर्ने र भेलिडेट गर्ने कार्य गरी सकेपछि राहदानी विभागले बनाउने काम गर्ने उनले बताए ।

विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो राहदानी हुनाले विश्वास योग्य पनि रहेको उनको भनाइ छ । ई–पासपोर्टले विदेश यात्रामा निकै सहजता ल्याउँछ । विद्युतीय गेटहरूमा पनि आफैं स्क्यान गरेर जान सकिन्छ । लाइभ इनरोलमेन्ट गर्नुपर्ने हुनाले पहिले जस्तै तस्विरहरू नमिलेर दुःख पाउनुपर्ने समस्या पनि अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ ।

परराष्ट्रमन्त्री डा. खड्काले ई–पासपोर्ट जारी भइसकेपछि विदेशमा सहनुपर्ने अपमानसमेत नहुने बताए । ‘विदेश जाँदा हाम्रो पासपोर्टलाई साह्रै हेपिने रहेछ । अब त्यसको अन्त्य हुनेछ’ उनले भने ।

नेपालमा नै रहेर ई–पासपोर्ट बनाउनेको हकमा राष्ट्रिय परिचय पत्रको नम्बर अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाहरुले परिचय पत्र बनाएपछि मात्र ई–पासपोर्टका लागि आवेदन दिन सकिनेछ । अनलाइनमार्फत घरमै बसिबसी आवेदन दिन सकिनेछ । आवेदन दिने क्रममै कुन दिन जाने भन्नेसमेत तोकिएको हुन्छ । सोही आधारमा आफ्नो पालोमा जानुपर्ने र पासपोर्ट बनाउन सकिने गरी व्यवस्था मिलाइएको महानिर्देशक अर्यालले बताए । यति मात्र नभएर पासपोर्टबारे के–के भइरहेको भन्ने जानकारी एसएमएसमार्फत पनि जानकारी दिइनेछ ।

विभागले एक घण्टामा एक हजार ई–पासपोर्ट उत्पादन गर्नसक्ने क्षमताको मेसिन राखेको छ । सामान्यतया विभागले दैनिक तीन देखि चार हजार एमआरपी पासपोर्ट जारी गर्दै आएको छ । सोही कुरालाई मध्यनजर गर्दै विभागले उच्च उत्पादन क्षमताको मेसिन ल्याएको उनको भनाइ छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले ई–पासपोर्ट जारी भएसँगै नेपालले पासपोर्ट क्षेत्रमा निकै फड्को मारेको बताए । ‘हामीले हस्तलिखित राहदानी हुँदै एमआरपीसम्म जारी गरेको थियौं । अब ई–पासपोर्ट जारी भएपछि हामी पासपोर्टको क्षेत्रमा निकै अगाडि बढिसकेका छौं’ उनले भने ।

नेपालबाट पहिलो ई–पासपोर्ट लिएका शताब्दी पूरुष डा. सत्यमोहन जोशीले ई–पासपोर्ट जारी भएसँगै नेपालको अन्तर्राष्ट्रियस्तरमा समेत सम्मान बढ्ने बताए । आफूले हस्तलिखित मात्र नभएर चिठीसमेत बोकेर हिँडेको स्मरण गराउँदै आफूले ई–पासपोर्टसमेत पाउँदा निकै खुशी व्यक्त गरे ।​

  • प्रकाशित मिति : मंसिर १, २०७८ बुधबार १९:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया