नेप्सेको समस्या के ? कहिले होला समाधान ?

काठमाडौं– गत २० कात्तिकदेखि नेप्सेले सेयर कारोबारमा पूर्ण अनलाइन प्रविधि लागू गर्यो । तर, सुरुआतमै अनलाइन प्रविधिमा समस्या देखियो । प्रविधिमा समस्या आएपछि केही दिनयता कारोबार रकममा ठूलो गिरावट आएको छ ।

अनलाइन प्रविधिबाट कारोबार भएको पहिलो दिन जम्मा ३ करोडको सेयर कारोबार भयो । दोस्रो दिन ९ करोड र तेस्रो दिन १२ करोडको कारोबार भएकोमा चौथो दिन मंगलबार सुधार हुँदै कारोबार रकम १७ करोड पुगेको छ । यसअघिको कारोबारको तुलनामा यो निकै कम हो । 

कारोबारमा असहजता आएसँगै पुँजी बजारमा अनलाइन प्रणालीको औचित्यमाथि नै मतभेद सुरु भएको छ । 

नेप्सेका प्रविधिक नितेश अग्रवाल प्रयोगकर्तालाई प्रयोगविधिबारे राम्रो ज्ञान नहुँदा र केही प्रविधिक कारणले पनि समस्या भएको बताउँछन् । 

‘कुनै पनि नयाँ प्रविधिको प्रयोग गर्दा त्यसमा केही समस्या हुन्छ, त्यस्ता समस्या कुनै प्रविधिक रूपमा र कुनै प्रयोगकर्ताका कारणले हुन्छ,’ अग्रवाल भन्छन्, ‘हामी काम गरिरहेका छौँ, चाँडै समस्या समाधान हुन्छ ।’

उनका अनुसार नयाँ प्रविधि सञ्चालन गर्नुअघि नेप्सेले ब्रोकर तथा कारोबारीलाई कसरी प्रयोग गर्ने भन्ने तालिम दिएको थियो । तर, अहिले प्रयोग भएको सफ्टवेयर भने तालिमका वेला बनिसकेको थिएन । फाइनल सफ्टवेरमै तालिम दिन पाएको भए समस्या नआउने उनको तर्क छ । 



‘तालिमका वेला प्रयोग गरिएको सफ्टवेरमा देखिएका समस्याहरू समाधान गर्दै अहिले लागू भएको सफ्टवेरको विकास गरेका हौँ,’ उनले भने, ‘यदि अहिले लागू भएको सफ्टवेरमै तालिम दिएको भए समस्या आउँदैनथ्यो होला ।’

उनका अनुसार नयाँ प्रविधिमा सबै प्रयोगकर्ताको सूचना राख्नुपर्ने भएकाले पनि समस्या देखिएको हो । प्रयोगकर्ताको जन्ममिति, ठेगाना, नागरिकता जारी मिति, दर्ता मितिजस्ता विवरण पहिले राख्नु पर्दैनथ्यो । तर, अहिले यी सबै विवरण राख्नुपर्ने भएकाले पनि समस्या भएको उनी बताउँछन् । 



फिडब्याकको आधारमा समस्याको समाधान गरिने भएकाले विस्तारै सुधार हुँदै गएको र चाँडै पूर्ण रूपमा समाधान हुने अग्रवालको दाबी छ । 

प्रविधिक गडबडीले कारोबार रकम घटे पनि नेप्सेको कारोबार अंकमा भने समस्या देखिएको छैन । 

  • प्रकाशित मिति : कात्तिक २७, २०७५ मंगलबार २१:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया