अमेरिकाले फेरि भन्यो– एमसिसी चाँडो पास होस्, प्रधानमन्त्री देउवाले दिए आश्वासन

लामो समय देखि नेपालमा अमरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना राखेको अमेरिकाले फेरि यो कुरा दोहोर्याएको छ । 

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसिसी नेपालको हितमा भएकाले संसदबाट चाँडै पारित हुने विश्वासमा आफूहरु रहेको बताएका हुन् । 

नेपालको तीन दिने भ्रमणमा रहेका लुले बिहीबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटघाटमा एमसिसीको विषयमा अमेरिकी धारणा राखेका हुन् । उनले एमसिसीले नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने पनि उल्लेख गरेका छन् ।

यसबारे भेटमा प्रधानमन्त्री देउवाले एमसिसी पारितका लागि अन्य दलको पनि सहमति चाहिने भन्दै छिट्टै निर्णय लिने जवाफ दिएको बालुवाटार स्रोतले बतायो । 

‘एमसिसी पारित होस् भन्ने चाहना लुको थियो,’ बालुवाटार स्रोतले फरकधारसँग भन्यो, ‘प्रधानमन्त्री देउवाले यसका लागि आफूले सक्दो छिटो वातावरण बनाउन पहल गर्ने भन्नु भएको छ ।’ भेटमा प्रधानमन्त्री देउवाले एमसिसीको विषयमा नेपालमा भइरहेको विवादबारे अमेरिका जानकार रहेकोमा आफू विश्वस्त भएको पनि बताएका छन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक मन्त्री लुबीच एमसिसीबारे कुराकानी भएको विषयमा घुमाउरो पाराले परराष्ट्र मन्त्रालयले पनि स्वीकार गरेको छ । तर, परराष्ट्रको विज्ञप्तिमा एमसिसीको विषयमा छलफल भएको भन्ने उल्लेख गरिएको छैन । परराष्ट्रले अमेरिका र नेपालबीच विभिन्न साझा सरोकारका विषयमा कुराकानी भएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।



देउवाको नेतृत्वमा सरकार बनेपछि एमसिसीकै विषयलाई लिएर अमेरिकाबाट उच्च अधिकारीले नेपाल भ्रमण गरेको यो दोस्रो पटक हो ।

यसअघि एमसिसी उपाध्यक्ष फातिमा सुमारले नेपाल भ्रमण गर्दै एमसिसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । उनले भ्रमण सकाएर जानुअघि नेपालले एमसिसी छिट्टै पारित गर्नेमा आफू विश्वस्त रहेको बताएकी थिइन् ।



  • प्रकाशित मिति : मंसिर ३, २०७८ शुक्रबार ७:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया