प्रचण्ड–बादलसँगै डुब्यो सरकारी १५ लाख

यतिखेर सामाजिक सञ्जालमा प्रचण्ड–टोलीको म्याग्दी भ्रमण चर्चामा छ । नेकपा अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल तातोपानी कुण्डमा डुबेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि तातोपानीमा नुहाउन म्याग्दी पुगेका हुन् । प्रचण्ड–टोलीमा पत्नी सीता र छोरी गंगासहित गृहमन्त्री रामबहादुुर थापा ‘बादल’ दम्पती पनि थिए ।

प्रचण्ड–बादलले म्याग्दी पुग्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरे । पारिवारिक भनिएको भ्रमणका लागि सेनाको हेलिकोप्टर प्रयोग गरेर सरकारी रकमको दुरुपयोग गरेको भन्दै उनीहरूमाथि आलोचना सुरु भएको छ ।

सोमबार म्याग्दीको अर्थुङ्गेस्थित नेपाली सेनाको श्री बक्स गुल्ममा ओर्लिएका दाहाल–थापा परिवार ९ किलोमिटर गाडीको यात्रापछि दिउँसो २ बजे तातोपानी कुण्ड पुगे । उनीहरूलाई म्याग्दी छाडेर सेनाको हेलिकोप्टर काठमाडौं फर्किएको थियो ।

अध्यक्ष दाहाल तथा गृहमन्त्री थापा दम्पतीले दिउँसो २ देखि ४ बजेसम्म कुण्डमा ‘हट वाटर थेरापी’ लिए ।

प्रचण्ड–बादललाई म्याग्दी पुर्याउन गृहमन्त्रालयले नेपाली सेनाको एमआई १७ हेलिकोप्टर व्यवस्था गरेको थियो ।



नेपाली सेनाका सूचना अधिकारी गोकुल भण्डारीका अनुसार सेनाले सरकारी तथा अर्धसरकारी संयन्त्रलाई हेलिकोप्टर भाडामा दिन्छ । सरकारी संयन्त्रले हेलिकोप्टर चार्टर गर्दा तोकिएको रेटमा १२ प्रतिशत छुट हुन्छ भने अर्धसरकारी संयन्त्रले ७ प्रतिशत मात्र छुट पाउँछन् ।

नेपाली सेनाको हेलिकोप्टर चार्टर शुल्क प्रतिघण्टा ४ लाख ७० हजार रुपैयाँ छ । यो रेटमा १२ प्रतिशत छुट गर्दा प्रतिघण्टा ४ लाख १३ हजार ६ सय रुपैयाँ पर्न आउँछ ।



नेपाल वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट म्याग्दीको बेनी पुग्न १ घण्टा ४८ मिनेट लाग्छ । 

प्रतिघण्टा ४ लाख १३ हजार ६ सय रुपैयाँका दरले काठमाडौंबाट बेनी पुग्न प्रचण्ड–बादलले नेपाली सेनालाई ७ लाख ४४ हजार ४ सय ८० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रचण्ड–बादलले बुधबार काठमाडौं फर्किंदा पनि नेपाली सेनाकै हेलिकोप्टर प्रयोग गरे । 

आते–जाते भाडा जोड्दा उनीहरूको यातायात खर्च १४ लाख ८८ हजार ९ सय ६० रुपैयाँ हुन आउँछ ।

यो त म्याग्दी पुग्दा र फर्कंदाको हिसाब मात्र हो । त्यहाँको आन्तरिक यातायात, खाना, वास आदिको खर्च अलग्गै छ ।  

यो रकम अब गृहमन्त्रालयले तिर्नेछ, जुन सरकारी रकम हो । पारिवारिक र व्यक्तिगत भ्रमणमा सेनाको हेलिकोप्टर प्रयोग गरेका प्रचण्ड–बादलले भाडामा मात्रै सरकारी कोषको झन्डै १५ लाख दुरुपयोग गरेका छन् ।

वायुसेवा सञ्चालक संघले २१ कात्तिकमा सार्वजनिक गरेको हेलिकोप्टरको भाडादरअनुसार काठमाडौंबाट बेनीको प्रतिघण्टा २ हजार अमेरिकी डलर भाडा तोकेको छ । बुधबारको अमेरिकी डलरको मूल्यअनुसार यो २ लाख ३१ हजार ३ सय ९० रुपैयाँबराबर हो ।

संघका अनुसार निजी क्षेत्रका हेलिकोप्टरले एकपटक बेनी पुगेको ४ लाख १६ हजार ५ सय २ रुपैयाँ भाडा लिने गर्छन् । 
 

  • प्रकाशित मिति : कात्तिक २८, २०७५ बुधबार २०:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया