एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई हटाउन माग गरेकी छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अक्टोबरमा अफ्रिकाको भ्रमणका क्रममा मेलानिया ट्रम्प र डेप्युटी राष्ट्रिय सुरक्षा सल्लाहाकार मीरा रिकार्डेलबीच मनमुटाव सुरु भएको थियो ।
मेलानियाकी प्रवक्ताका अनुसार प्रथम महिलाको कार्यालयले ह्वाइट हाउसमा अब उनको सेवाको जरुरत छैन् । ह्वाइट हाउस र राष्ट्रिय सुरक्षा परिषदले यो घटनामाथि कुनै टिप्पणी गरेका छैनन् ।
ह्वाइटहाउसले बेस्ट विंगमा ठुलै परिवर्तन गर्न खोजिरहेको छ । ह्वाइट हाउसले चिफ अफ स्टाफ जोन केली वा होमल्याण्ड सेक्युरिटी विभागका प्रमुख कस्र्टजेन नेल्सनलाई पनि हटाउन सक्ने जनाइएको छ ।
मीरा रिकार्डेल पछिल्लो सात महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टनको नेतृत्वको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषदकी सदस्य रहेकी छन् ।
मेलानिया र मिराको बीच अफ्रिका यात्राको क्रममा हवाइजहाजको सीटमा बस्ने विषयलाई लिएर वादविवाद भएको थियो ।
एबिसी नेटवर्कसँगको साक्षात्कारमा मेलानियाले व्हाइट हाउसका केही व्यक्तिमाथि आफू विश्वास नगर्ने बताएकी थिइन् ।
मंगलबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित एक रिपोर्टमा मेलानिया ट्रम्पको टिमले व्हाइट हाउसको बारेमा आएको केही नकारात्मक टिप्पणीको पछाडी मिरा रिकार्डेलको हात रहेको बताएको उल्लेख गरेको छ ।
समाचारमा उल्लेख भएअनुसार रक्षा मन्त्री जेम्स म्याटिससँग पनि मिराको रक्षा नीतिको विषयमा झडप भइरहन्थ्यो । मेलानिया ट्रम्पको बयानमा चिफ जोन केलीसँग मिरा र श्रीमती ट्रम्पबीचको सम्बन्ध निकै सकारात्मक रहेको उल्लेख गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका केही तस्विरमा ह्वाइट हाउसमा दिपावली मनाउँदा मिरा रिकार्डेलसमेत रहेको देखिन्छ ।
रिकार्डेलले यो भन्दा पहिला वाणिज्य विभागमा काम गरेकी थिइन् । अमेरिकी सरकारको कर्मचारी भएर मिराले दशकौं काम गरेकी छन् । उनले राष्ट्रपति जर्ज बुसको कार्यकालमा रक्षा विभागमा पनि काम गरिसकेकी छन् ।
एकपछि अर्को गर्दै पर्दा पछाडिका मतभेदहरु बाहिर आउन सुरु गरेका छन् । ह्वाइट हाउसमा यस्तो टकराव अब सामान्य विषय बनिसकेको छ । ट्रम्पले प्रशासन सम्हालेपछि बेस्ट विंगका केही कर्मचारीहरु आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गरिरहेका छन् । तर यो पटक प्रथम महिलाको कार्यालयले ह्वाइट हाउसको कर्मचारीलाई आधिकारिक रुपमा कामबाट निष्काशन गर्न माग गरेको छ ।
राष्ट्रपतिका पत्नीको ह्वाइट हाउसका कर्मचारीसँगको विवाद यो नयाँ होइन् । रोनाल्ड रेगनकी पत्नी नेन्सी रेगनको चिफ अफ स्टाफ डोनाल्ड रेगनसँग लामो समय विवाद भएको थियो । हिलारी क्लिन्टनको पनि ह्वाइट हाउसका कर्मचारीसँग टकराव भएको थियो ।
ट्रम्प प्रशासनमा शक्तिका दुई केन्द्र चिफ अफ स्टाफ जोन केली र राष्ट्रिय सुरक्षा सल्लाहाकार जोन बोल्टन आममने–सामने भएका छन् । दुई शक्तिबीचको संघर्षले अमेरिकी प्रशासनमा ठुलै हलचल ल्याउने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।