एक साताभित्र कतारमा सार्वजनिक भएका दुईवटा प्रतिवेदनले त्यहाँ नेपालीलगायत आप्रवासी कामदारको अवस्था खस्कँदो रहेको देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेका प्रतिवेदनमा आप्रवासी कामदारको अवस्था खस्कदो रहेको र उनीहरूमाथि शोषण भएको देखाइएको हो ।
आप्रवासी कामदारको अवस्था सुधार गर्न आइएलओ, एम्नेस्टी इन्टरनेसनल लगायतका संस्थाले कतार सरकारमाथि दबाव बढाइरहेका छन् ।
आइएलओले नोभेम्बर १८ मा जारी गरेको प्रतिवेदन ‘अन इज टु मेनीः द कलेक्सन् एण्ड एनलाइसिस् अफ डेटा अन अकुपेसनल इन्जुरीज् इन कतार’ मा सन् २०२० मा मात्र कतारमा पाँच सयभन्दा बढी आप्रवासी कामदार कार्यस्थल दुर्घटनामा गम्भीर घाइते भएको उल्लेख छ ।
प्रतिवेदनमा सन् २०२० मा कार्यस्थल दुर्घटनामा परी आप्रवासी कामदारको मृत्यु, ५०६ जना गम्भीर घाइते र ३७ हजार ६०१ जना सामान्य घाइते भएको उल्लेख छ । घाइते हुनेमा तेस्रो ठूलो संख्या नेपाली कामदारको रहेको छ ।
उक्त वर्ष कतारमा प्रत्येक महिना औषतमा ४.१७ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने ४२.१७ जना गम्भीर घाइते भएका छन् । प्रत्येक महिना दुर्घटनामा परी सामान्य घाइते हुने आप्रवासी कामदारको औसत संख्या ३ हजार १३३ रहेको छ ।
रोजगारदाता कम्पनीहरूले कामदारको आवश्यक सुरक्षामा ध्यान नदिँदा उनीहरूले ज्यान गुमाउन र घाइते हुन परेको निष्कर्ष आइएलओको छ ।
‘कतारमा सन् २०२० मा कार्यस्थल दुर्घटनामा परी मृत्यु र गम्भीर घाइते हुने सबैभन्दा ठूलो संख्या क्रमशः बंगलादेशी, भारतीय र नेपालीको रहेको छ,’ आइएलओको प्रतिवेदनमा भनिएको छ ।
उक्त वर्ष गम्भीर घाइते भएका ५०६ जनामध्ये १८.२ प्रतिशत संख्या नेपाली कामदारको रहेको प्रतिवेदनमा उल्लेख छ । अर्थात् एक वर्षमा कतारका विभिन्न स्थानमा दुर्घटनामा परी ९२ जना नेपाली गम्भीर घाइते भएका थिए ।
प्रतिवेदनअनुसार सन् २०२० मा कतारमा गम्भीर घाइते भएका आप्रवासी कामदारमध्ये २६.७ प्रतिशत बंगलादेशी र १९.८ प्रतिशत भारतीय रहेका थिए ।
कतारमा सन् २०२० मा सामान्य घाइते भएका ३७ हजार ६०१ जनामध्ये २१.१० प्रतिशत नेपाली कामदार रहेका थिए । अर्थात् सामान्य घाइते हुने नेपालीको संख्या ७ हजार ९ सय ३३ रहेको थियो ।
आइएलओका अनुसार मृत्यु हुने ५० जनामध्ये ४० प्रतिशतको मृत्यु अस्पतालमा र ६० प्रतिशतको मृत्यु अस्पताल नपुग्दै भएको थियो ।
घाइते हुनेहरूमध्ये २२ प्रतिशत अग्लो ठाउँबाट खसेर, १२ प्रतिशत अग्लोस्थानबाट खसेको वस्तुले लागेर, २४ प्रतिशत सडक दुर्घटना र १० प्रतिशत आगोमा जलेर घाइते भएको प्रतिवेदनमा जनाइएको छ ।
यस्तै, गत साता नै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले ‘रियालिटी चेक २०२१: अ इयर टु द २०२२ वर्ल्डकप’ प्रतिवेदन सार्वजनिक गर्दै कतारमा रहेका नेपाली लगायतका आप्रवासी कामदारको अवस्थामा सुधार नआएकोप्रति आपत्ति जनाएको थियो ।
कतारमा फिफा विश्वकप २०२२ सुरु हुनु करिव एक वर्षअघि एम्नेस्टीले एक रिपोर्ट सार्वजनिक गर्दै आप्रवासी कामदारमाथि शोषण भइरहेकोमा आपत्ति जनाएको थियो ।
फिफा विश्वकप २०२२ कतारले आयोजना गर्दै छ, जुन आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ ।
विश्वकप आयोजना गर्ने पूर्वाधार निर्माणमा खटिएका आप्रवासी कामदारमाथिको शोषण नरोकिएपछि एम्नेस्टीले इङ्ल्याण्डका पूर्वकप्तान डेबिड बेकह्यामसँग समेत गुहार मागेको छ ।
आप्रवासी कामदारमाथि हुँदै आएको शोषण रोक्नको लागि दबाव दिन एम्नेस्टीले बेकह्यालाई आग्रह गरेको थियो । कतारले विश्वकपको लागि बेकह्यामलाई विशेषदूत बनाएको छ । सोही कारण एम्नेस्टीले कतार सरकारलाई दबाव दिन बेकह्यालाई आग्रह गरेको हो ।
फिफाले कतारलाई सन् २०१० मा विश्वकप २०२२ आयोजना गर्ने जिम्मेवारी दिएको थियो । एम्नेस्टीका अनुसार त्यसयता कतारमा विश्वकपको लागि पूर्वाधार निर्माण गर्दा दक्षिण एसियाली राष्ट्र नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँच देशका करिव ७ हजार कामदारको मृत्यु भइसकेको छ ।
सन् २०१० यता कतारमा सबैभन्दा बढी मृत्यु हुने आप्रवासी कामदारको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको छ । सो अवधिमा कतारमा सबैभन्दा बढी भारतीय कामदारको मृत्यु भएको छ ।
फिफाले विश्वकप आयोजना गर्ने जिम्मेवारी दिएयता कतारमा १ हजार ६४१ जनाभन्दा बढी नेपाली कामदारले ज्यान गुमाएका छन् । कतारमा तीन लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।
कतारमा हाल २० लाख आप्रवासी कामदार कार्यरत छन्, जसमध्ये अधिकांश दक्षिण एसियाली राष्ट्रका छन् । कतारले विश्वकपको लागि आठ वटा स्टेडियम, रेल सञ्जाल, सडक, होटल जस्ता ठूला पूर्वाधार निर्माणमा काम गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।