ब्रेक्जिट बहस : संकटमा पर्न सक्छिन् प्रधानमन्त्री

लन्डन– पाँच घन्टाको गहन छलफलपछि ब्रिटिस क्याबिनेटले युरोपियन युनियनबाट बाहिरिने सम्झौता ‘ब्रेक्जिट’का सम्बन्धमा तयार मस्यौदा पारित गरेको छ । 

बिहीबार लन्डनमा बसेको क्याबिनेटले भविष्यमा ब्रिटेन र अन्य युरोपियन मुलुकबीच रहने सम्बन्धबारे राजनीतिक घोषणापत्रसमेत जारी गर्यो । 

यसको जानकारी दिँदै ब्रिटिस प्रधानमन्त्री टेरिजा मेले एक निर्णायक फैसला भएको र यो देशको हितमा रहनेमा आफू विश्वस्त रहेको बताइन् । 

यस सम्झौताले देशमा रोजगारी बढ्ने र देशको सुरक्षा एवं संवैधानिक एकजुटतामा मद्दत पुग्ने उल्लेख गर्दै उनले यसबाट ब्रिटेनको सीमा र कानुनमा नियन्त्रण कायम हुने दाबी गरिन् । 

यद्यपि, यस मस्यौदालाई लिएर प्रधानमन्त्री मेले थुप्रै विरोधको सामना गर्नुपर्यो । विपक्षी पार्टीका केही मन्त्रीले प्रस्तावित मस्यौदाको आलोचना गरेका छन् । 

लेबर पार्टीका तर्फबाट मन्त्री भएका जेरेमी कार्बिन भन्छन्, ‘सदनमा यो मामला आधा बाटोमै रोकिन सक्छ ।’



युरोपियन युनियनको प्रतिक्रिया

यसअघि, ब्रसेल्समा बसेको युरोपियन युनियनमा आबद्ध २७ देशका राजदूतको बैठक ब्रेक्जिट सम्झौताबारेको प्रस्तावित मस्यौदामाथि चर्चा नगरिकनै सकिएको थियो । 



तर, ब्रिटिस क्याबिनेटको यो फैसलापछि भने युरोपियन युनियनका मुख्य मध्यस्तकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने प्रतिक्रिया दिएका छन् । 

तथापि, २०२० को जुलाईसम्म यसको कार्यान्वयन सम्भव नहुने र यसका लागि समयसीमा बढाउन सकिने उनको बुझाइ छ । 

यसले संकेत गर्छ कि, ब्रिटेन र युरोपियन युनियनलाई अझै ‘एउटै कर क्षेत्र’को रूपमा हेरिनेछ, जहाँ सीमाहरूमा सीमाशुल्क लाग्नेछैन । 

नोभेम्बरको अन्त्यतिर यस विषयमा २७ देशका नेताको बैठक बस्न सक्छ । त्यहाँ सहमति जुटेपछि मात्रै यो ब्रेक्जिट सम्झौता ब्रिटेन र युरोपियन युनियनको संसद्मा पेस हुनेछ । 

ब्रिटेनभित्र प्रतिक्रिया

ब्रिटिस पूर्वप्रधानमन्त्री टोनी ब्लेयर प्रस्तावित ब्रेक्जिट सम्झौताले कुनै पनि पक्षलाई केही फाइदा नगर्ने बताउँछन् । उनी मान्छन् कि, प्रधानमन्त्रीले यो मुद्दा फेरि एकपटक जनतासामु लैजानुपर्छ । 

बिबिसीका अनुसार कन्जरभेटिभ पार्टीका एक नेताले संसद्को आउँदो बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस हुन सक्ने बताएका छन् । तथापि, यस सम्बन्धमा आधिकारिक पुष्टि भने भएको छैन । 

जानकारहरूका अनुसार ब्रेक्जिटको विरोधमा रहेका मन्त्रीहरूले पार्टी कमिटीमा प्रस्ताव राखी प्रधानमन्त्री टेरिजा मेको राजीनामा माग गर्न सक्छन् । 

यता, टेरिजा मे सरकारको समर्थन गर्ने उत्तरी आयरल्यान्डको डेमोक्रेटिक युनियन पार्टीले भने युनाइटेड किंग्डमलाई टुक्रा पार्ने प्रयास भयो भने यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ । 
 

  • प्रकाशित मिति : कात्तिक २९, २०७५ बिहीबार २१:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया