चितवनबाट ओलीको सन्देश : औचित्यका आधारमा संविधान संशोधन

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमिकताको रक्षाको लागि आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित नेकपा(एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी तिनै तहको चुनावमा नेकपा(एमाले)ले एकल बहुमत ल्याउनुपर्ने बताएका हुन् ।

देश सार्वभौमिकताको रक्षा, लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्दै कार्यान्वयन गर्नका लागि एमालेले एकल बहुमत ल्याउनुपर्नेमा उनले जोड दिए । संविधानको गलत व्याख्यालाई सच्याएर अगाडी बढ्न र देशमा विकासको लहर ल्याउनका लागि पनि एमालेको एकल बहुमत आवश्यक रहेको उनले बताए ।

अध्यक्ष ओलीले नेकपा एमाले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । सामाजिक न्याय र समान अधिकार र अवसर, समझदारी, सद्भाव र राष्ट्रिय एकताको नीति आफूहरूको नीति भएको उनको भनाइ छ । एमालेले विरोध र विद्वेषको राजनीति नगर्ने भन्दै उनले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधिनताको रक्षा गर्ने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले पारस्परिक हित र पारस्परिक सम्मानका आधारमा छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडी बढाइने बताए । नेपालको कोही शत्रु र कोही मित्र नभएको उल्लेख गर्दै उनले छिमेकी देशहरूसँग कुनै प्रकारको समस्या भएमा छलफलबाट समाधान गर्न सकिने बताए ।

नेपालले अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता लिनुपर्ने उनले बताए । नेपालले आफ्नो अतिक्रमित भूमि फिर्ता लिएर वास्तविक मित्रता र वास्तविक छिमेकीपन कायम गर्न चाहेको उनले बताए ।



उनले नेपालमा कुनै पनि प्रकारका हिंसात्मक समूह नभएको बताए । नेपालमा शान्तिपूर्ण वातावरण भएकाले देशभित्र र बाहिरका लगानीकर्ताले लगानी गर्ने वातावरण रहेको पनि उनले उल्लेख गरे । अध्यक्ष ओलीले आवश्यकता र औचित्यको आधारमा नेपालको संविधान संशोधन हुन सक्ने मान्यता एमाले पार्टीको रहेको पनि बताए ।

अध्यक्ष ओलीले आगामी निर्वाचनपछि नेकपा(एमाले)को सरकार बन्ने दाबी गरे । स्थानीय तहको चुनावमा ५० प्रतिशतभन्दा बढी मत एमालेले ल्याउने उनले जिकिर गरे ।



ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई टुंग्याउन नचाहेको आरोप लगाए । राजनीतिक आन्दोलनका क्रममा भएको घाइतेहरूको उपचार गर्न र समस्यामा परेकाहरूको समस्या समाधान गर्न पनि उनले अध्यक्ष दाहाललाई चुनौती दिए । उनले एमाले महाधिवेशन सकिनेबित्तिकै दशौँ हजार पूर्व लडाकुहरूलाई नेकपा(एमाले)मा प्रवेश गराउने तयारी रहेको पनि जानकारी दिए ।

अध्यक्ष ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाट उच्चस्तरको सहमति र लोकतान्त्रिक प्रक्रियाका साथ नेतृत्व चयन गर्ने बताए । महाधिवेशनको बन्दसत्रले एमाले पार्टी मात्रै होइन पाँच वर्षका लागि देशलाई नै बाटो देखाउने र हाँक्ने एकतावद्ध नेतृत्व निर्माण गर्ने उनले बताए ।

अध्यक्ष ओलीले सानातिना अन्तरविरोधमा नअल्झिई एकतावद्ध भएर राष्ट्र निर्माणको अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १८:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया