शरणार्थी समस्या
ट्रम्पको निर्णय अदालतले खारेज गर्यो

एजेन्सी– अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको एक निर्णयलाई रोक लगाएको छ । अवैध रुपले अमेरिका प्रवेश गरेका आप्रवासीलाई शरण नदिने ट्रम्पको निर्णय अदालतले खारेज गरेको हो । 

मंगलबार सान फ्रान्सिसको संघीय अदालतले राष्ट्रपतिको फैसलालाई अस्थायी रोक लगाउँदै सरकारले गरेको निर्णय सही नभएको बताएको अमेरिकी न्युज वेभसाइट एनपीआरमा उल्लेख छ । अदालतका अनुसार ट्रम्पको निर्णय अमेरिकी संविधान विपरित रहेको र यसबाट शरणार्थीले धेरै समस्याको सामना गर्नुपर्ने अवस्था आउँछ । 

पछिल्लो महिनाबाट ल्याटिन अमेरिकाका तीन देश सल्वाडोर, ग्वाटेमाला र होन्डुरसका हजारौं मानिस अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रम बढेको छ । देशमा फैलिएको गरिबी र हिंसाको कारण अमेरिकामा शरण लिने मानिसहरुको संख्या बढेको छ । 

यो महिनाको सुरुवातमा डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गरेका सबैलाई शरण नदिने घोषणा गरेका थिए । ट्रम्पले अमेरिकाको दक्षिणी सीमामा ६००० जवान तैनाथ गर्ने आदेश दिँदै शरणार्थी जबरजस्ती घुस्ने प्रयास गरेमा गोली चलाउन निर्देशन दिएका थिए ।

डोनाल्ड ट्रम्पको आदेशपछि अमेरिकाका मानवअधिकार संस्थाले सान फ्रान्सिसको अदालतमा मुद्धा दायर गरेका थिए । जसमा राष्ट्रपतिको फैसलाले आइएनए एक्ट (इमिग्रेशन एन्ड नेशनलिटी एक्ट) को उल्लंघन गरेको भन्दै उक्त फैसलालाई रोक लगाउन अपिल गरिएको थियो । 

एक्टमा अमेरिका वैध वा अवैध रुपमा आउने प्रत्येक व्यक्ति शरणका लागि आवेदन दिन योग्य रहने उल्लेख छ र यो नियमलाई राष्ट्रपति प्रशासनले रोक्न नसक्ने मानवअधिकारवादीहरुको भनाई छ । 
 





  • प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार ९:१८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया