श्रम मन्त्रालयले गठन गर्‍यो तीनवटा कार्यदल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको सम्बोधन र व्यवस्थापनका लागि तीनवटा कार्यदल बनाएको छ ।

मन्त्रालयले सीप विकास सम्बन्धि तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन मन्त्रालयका सहसचिवहरूको नेतृत्वमा अध्ययन कार्यदल बनाएको हो । 

विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न कार्यदल बनाइएको छ । उस्तै प्रकृतिका तालिमहरू फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकोले त्यसको समाधानका लागि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको हो । 

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित ६ सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । अहिले छोटो समयका तालिमहरु धेरै वटा निकायले संचालन गरिरहेका छन् । 

कार्यदलले तालिम कार्यक्रम साविककै संरचनामार्फत वा नयाँ संरचनामार्फत बनाउने भन्नेबारे सुझाव दिनेछ । देशभित्र रोजगारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्न तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी तथा सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाको बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ । 

साथै, मन्त्रालय र मातहतका निकायको संगठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ । कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयसहित मातहतका निकायहरुको कार्यबोझ, कार्यप्रगति र सुधारका सम्भावनाको अध्ययन गर्नेछ । 



मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायहरुका साथै श्रम सहचारी नियुक्ती मापदण्डबारे पनि सुझाव पेस गर्ने बताइएको छ । कार्यदललाई १५ दिनको समय दिइएको छ । 
यसका साथै वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ । 

कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनको लागि सुझाव दिनेछ । 



  • प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार ६:५७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया