माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । 

स्वास्थ्य उचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्धिपक्षीय भेटवार्ता गरेका हुन् । उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल गरेको नेता पुनले बताएका छन् । 

‘उहाँहरूले माओवादीको आठौं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष क. प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युष्टि पार्टी र नेकपा माओवादी केन्द्र सवैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनले भने, ‘नेपालको समसामयीक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल, तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो ।’

चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठवन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए । 

विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी, पार्टीको विधान र सहकार्यको भावना विरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउने नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य संभव नभएको बताएका नेता पुनले ओली गुणात्मक रुपमा रुपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने बताएका थिए ।



चिनियाँ पक्षले नेपालका बामदलहरु एक भएर अघि बढुन् भन्ने शुभेच्छा व्यक्त गरेको नेता पुनले जानकारी दिए ।

अहिलेको गठवन्धन आगामी चुनावसम्म जाने र त्यस पछि पनि सहकार्य गर्न तयार रहेको बताएका नेता पुनले चिनियाँ पक्षको एमसीसी परियोजनाबारेको जिज्ञासाको समेत जवाफ दिएका थिए । एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठवन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रशंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुनेगरि मित्र राष्ट्रहरुको सहयोग स्वीकार गर्ने नेपालको नीति अनुरुप सरकार र गठवन्धन अघि बढ्ने बताएका थिए ।



बैंककमा अपेक्षित सुधार नभएपछि थप उपचारका लागि चीन पुगेका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्धिपक्षीय भेटवार्तामा जुटेका हुन् । 

बंगाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराईरहेका नेता पुन माओवादीको आठौं राष्ट्रिय महाधिवेशन जारी रहँदा चीनमा उपचारारत छन् । उपचारका लागि केही परिक्षण थाती राखेर अधिवेशन उद््घाटन अघि नै नेपाल आउन चाहेका नेता पुन अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समयसमेत तय भएकाले अनुपश्थित भएका थिए । नेता पुन अहिले पनि अध्यक्ष प्रचण्डसँग दैनिक सम्पर्कमा रहेका छन् भने महाधिवेशन प्रतिनिधि र अन्य नेताहरुसँग पनि छलफल गरिरहेका छन् ।

चिकित्सककाे सल्लाहपछि अब छिटै नेपाल फर्कने उनले जानकारी दिएका छन् । 

जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक तर्फ लागेका थिए । उनको मंसिर १० गते यता चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज मा उपचार भईरहेको छ । 

नेपालमा हुँदा ललितपुरस्थित सुमेरू अस्पताल र यस अघि ग्राण्डी अस्पतालमा परिक्षण गराएका नेता पुनको भारतको एपोलो अस्पतालमा पनि उपचार गरिएको थियो ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १४:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया