जाडोमा दलहरूका महाधिवेशनको सरगर्मीः एमाले र कांग्रेसभन्दा माओवादीको कति भिन्न

पछिल्लो एक महिनायता नेपालका प्रमुख राजनीतिक दलहरु महाधिवेशनमा व्यस्त छन् । अझ भनौं नेपाली राजनीतिमा ‘महाधिवेशनको सिजन’ चलेको छ । चिसो मौसमलाई चुनौती दिंदै महाधिवेशनले देशभर राजनीतिक सरगर्मी बढाएको छ । 

नेकपा एमालेले चितवनमा भव्य प्रदर्शनी गरेर महाधिवेशनको सिजन सुरुवात गरेको थियो । त्यसयता नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो महाधिवेशन सकिसकेका छन् । अहिले राजधानीको प्रज्ञा भवनको हलमा नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चलिरहेको छ ।  

निर्वाचन आयोगमा अद्यावधिक गराउनैपर्ने बाध्यकारी अवस्थामा दलहरु धमाधम महाधिवेशन सकेर वैधानिकता जोगाउनेतिर लागेका हुन् । यी ४ प्रमुख राजनीतिक दलका महाधिवेशनमा आ–आफ्नै झल्को देखिए । दुई कम्युनिस्ट पार्टीले विचार र नीतिमा बहस गर्ने भन्दै महाधिवेशनको चर्चा गराए । एमालेले विधान महाधिवेशन सकेर चितवनमा भव्य महाधिवेशन आयोजना गरेको हो । 

यता, माओवादी केन्द्रमा भने राष्ट्रिय सम्मेलनको प्रचार गरिरहँदा पूर्वसन्ध्यामा आएर एकाएक महाधिवेशनतर्फ मोडियो । माओवादीको महाधिवेशनको तेस्रो दिन आज बन्दसत्रमा प्रस्तुत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ । 

एमाले र कांग्रेसको त्यो महाधिवेशन 

१० मंसिरमा चितवनको नारायणी किनारमा भव्य उद्घाटन सत्र आयोजना गरेको एमालेले त्यसअघि नै विधान महाधिवेशन गरिसकेको थियो । 



चितवनको महाधिवेशन पूर्णत नेतृत्व परिवर्तनमा केन्द्रीत हुने एमालेले बतायो र सोही अनुसार नेतृत्वमा आम चासो रह्यो । चितवनमा एमालेले उतारेको जनसागरलाई कतिले ‘जनआन्दोलनपछि देखिएको पहिलो ठूलो भीड’ को रुपमा पनि व्याख्या गरे । 

उद्घाटन सत्रमा पाँच लाख मान्छे उतार्ने दाबी गरेको एमालेले सर्वसम्मत नेतृत्व चयन प्रक्रियाका लागि निकै ठूलो कसरत गर्यो । अन्ततः अध्यक्षमा भीम रावलले आफ्नो उम्मेदवारी दर्ता गराइछाडेपछि निर्वाचनतर्फ मोडिएको थियो । 



कुनैपनि दलको महाधिवेशनलाई सो दलका राजनीतिक कार्यकर्ताका लागि सबैभन्दा ठूलो उत्सव पनि हो । एमाले कार्यकर्तामा ठूलो उत्साह देखिएको थियो । पार्टी नेतृत्वमा व्यवस्थापकीय क्षमता देखिएको थियो । 

पार्टीको आन्तरिक लोकतन्त्र जोगाइराख्न रावलले उम्मेदवारी दिएको घोषणा गरेका थिए । जसमा नयाँ नेतृत्व छान्नका लागि कसरत गरिन्छ । 

एमालेमा निर्विकल्प अध्यक्ष थिए, केपी शर्मा ओली । तैपनि उनलाई निर्वाचन प्रणालीमा प्रवेश गर्ने मन नै थिएन । झण्डै एकहप्तासम्म चितवनको सौराहामा पार्टीको महाधिवेशनलाई निरन्तरता दिँदै नयाँ नेतृत्व छनोट गरेर एमाले अहिले चुनावको तयारीमा होमिइसकेको छ । 

उता, सत्तारुढ घटकको मुख्य पार्टी कांग्रेसले पनि आफ्नो महाधिवेशन सक्यो । काठमाडौंको भृकुटीमण्डपमा भएको सो महाधिवेशनले आगामी नेतृत्वको मात्रै बहस गर्यो । कांग्रेसले विचार र नीतिको छुट्टै महाधिवेशन गर्ने बताएको छ । 

कांग्रेसले देशभरबाट आफ्ना नेता कार्यकर्तालाई काठमाडौंमा उतारेन । तरपनि भृकुटीमण्डपमा कार्यकर्ताको बाक्लो प्रदर्शन गर्यो । पुतलीसडक आसपासका सडक अस्तव्यस्त बनेका थिए । 

कांग्रेसमा नेतृत्व चुन्नका लागि ठूलो रस्साकस्सी भयो । सभापतिका बलिया दाबेदार रहेका देउवा दुई दिनसम्म मतदानस्थलमा पुगेर मत मागे । पर्चा र पम्प्लेटको व्यापक प्रयोग भयो । नेता कार्यकर्तालाई मेनु तयार गरेरै भोज खुवाइयो । 

पानीट्यांकीमा मत खसालेर भएपनि आन्तरिक लोकतन्त्रको राम्रो उदाहरण प्रस्तुत गरेको छ, कांग्रेसले । जहाँ सभापतिदेखि केन्द्रीय पदाधिकारी सबै निर्वाचन प्रणालीबाटै छनोट भए । देशभरबाट आएका प्रतिनिधिको आफ्नो अधिकार प्रयोग गर्ने वातावरण कांग्रेसले बनायो ।

माओवादीको यो महाधिवेशन 

माओवादीमा लामो समयदेखि आवद्ध भएर लागेकालाई नै महाधिवेशनको अघिल्लो दिनसम्म यो परिस्थिति आउला भन्ने लागेको थिएन । राष्ट्रिय सम्मेलन गर्ने र यसले विचार नीतिमाथि बहस गर्ने बताइएको थियो । 

तर, राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा एकाएक परिवर्तन भयो, माओवादीको निर्णय । 

महाधिवेशनकै लागि आवश्यक तयारी सम्पूर्ण पूरा भएको बताउँदै माओवादीले महाधिवेशनमा रुपान्तरण हुने बतायो । सोही अनुरुप अहिले माओवादीको महाधिवशेन जारी छ । 

१० वर्षे सशस्त्र जनयुद्धको पृष्ठभूमि बोकेको माओवादी केन्द्र २०६४ सालमा देशकै सबैभन्दा ठूलो पार्टी भएको थियो । तयसयता, माओवादीमा आएको भूकम्प र नेताहरु तितरबितर भएपछि अन्ततः महाधिवेशन नै सभागृहमा गरेर सक्नपर्ने अवस्थामा पुगेको छ । 

अध्यक्ष प्रचण्डले आत्मसमीक्षा आफैंबाट गर्नपर्ने बताउँदै प्रतिवेदनमाथि बहस गर्नपर्ने बताएका छन् । नेतृत्व चयनको विषयलाई प्राथमिकतामा नराख्ने बताएको माओवादीले विधानमा १५ सदस्यीय पदाधिकारी हुनेगरी निर्णय गरिसकेको छ । 

यद्यपी माओवादीको नेतृत्व गर्नेमा प्रचण्डबाहेकका नेताहरु देखिएका छैनन् । उत्तराधिकारीको रुपमा कसले बाजी मार्ने भन्ने पल्लाभारी माओवादी केन्द्रका नेताहरुमा देखिएको छ । वर्षमान पुन र जनार्दन शर्माको नाम अबको महासचिवको रुपमा चर्चा गर्न थालिएको छ । 

यद्यपी अहिलेसम्म यसबारे प्रचण्डले कुनै छनक दिएका छैनन् । 

कुनै समय भीडलाई केन्द्रीत बनाउँदै राजनीतिक उदय गरेको माओवादी केन्द्र अन्ततः एउटा बन्दकोठाभित्र परिणत भएको छ । पार्टीको उत्सवको रुपमा मनाइने महाधिवेशनलाई माओवादीले कोठाभित्र सीमित गरेको छ । 

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार १५:५२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया