तातोपानी र रसुवागढी नाकामा कोरोना महामारीको एकतर्फी असर : २२ महिनामा साढे ४१ अर्बकाे आयात, निर्यात शून्य

चीनसँगको प्रमुख व्यापारिक नाका हुन्- रसुवागढी र तातोपानी । नेपालको चीनसँग हुने कूल व्यापारको ठूलो हिस्सा यी दुई नाकाबाट हुँदै आएको थियो ।

सुन्दा तपाईंलाई आश्चर्य लाग्नसक्छ, यी दुई नाकाबाट पछिल्लो करिब दुई वर्षको अवधिमा नेपालबाट एक रुपैयाँको वस्तु पनि चीनमा निर्यात भएको छैन । अर्थात् रसुवागढी र तातोपानीबाट हुने निर्यात व्यापार शून्य छ । 

योभन्दा पनि अझ आश्चर्य लाग्ने कुरा यो छ- यी दुई नाकाबाट पछिल्लो करिब दुई वर्षको अवधिमा चीनबाट नेपालमा ४१ अर्ब ४९ करोड ५० लाख ६६ हजार रुपैयाँको विभिन्न वस्तु आयात भएकाे छ । 

‘चीनबाट दैनिक सामानले भरिएका १०-१५ वटा कन्टेनर तातोपानी र रसुवागढी नाकाबाट नेपाल भित्रने गरेका छन् । नेपालबाट फर्कँदा भने कन्टेनर रित्तै जाने गरेका छन्,’ गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले फरकधारसँग भने ।

भन्सार विभागका अनुसार २०७६ माघ महिनापछि २०७८ मंसिर मसान्तसम्म २२ महिनाको अवधिमा नेपालबाट यी दुई नाका हुँदै कुनै वस्तु चीन गएको छैन ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा मात्र चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै नेपालमा १८ अर्ब ६३ करोड १० लाख ३१ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको छ । सो अवधिमा तातोपानी नाकाबाट ५ अर्ब १९ करोड ८१ लाख ८० हजार रुपैयाँ र रसुवागढी नाकाबाट १३ अर्ब ४३ करोड २८ लाख ५१ हजार रुपैयाँको वस्तु नेपाल आएको छ । 



अघिल्लो आर्थिक वर्ष २०७७/८८ मा चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै २२ अर्ब ८६ करोड ४० लाख ३५ हजार रुपैयाँको वस्तु नेपाल आएको विभागको तथ्याङ्कले देखाउँछ । 

विभागका अनुसार अघिल्लो वर्ष तातोपानीबाट ५ अर्ब ८४ करोड ९१ लाख ८६ हजार रुपैयाँ र रसुवागढीबाट १७ अर्ब १ करोड ४८ लाख ४९ हजार रुपैयाँको वस्तु नेपाल भित्रिएको थियो ।



आर्थिक वर्ष २०७६/७७ मा तातोपानी र रसुवागढी नाकाहुँदै चीनबाट नेपालमा ३१ अर्ब ११ करोड ५९ लाख १ हजार रुपैयाँको वस्तु आएको थियो । सोही समयमा नेपालबाट ती दुई नाका हुँदै चीनमा ७२ करोड ३३ हजार रुपैयाँको वस्तु गएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा चीनबाट तातोपानी नाका हुँदै ४ अर्ब ८८ करोड २२ लाख १४ हजार रुपैयाँको वस्तु नेपालमा आएको थियो भने नेपालबाट १३ करोड ७६ लाख ७९ हजार रुपैयाँको वस्तु गएको थियो । यस्तै, सोही वर्ष चीनबाट रसुवागढी नाका हुँदै नेपालमा २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार रुपैयाँको वस्तु आएको थियो । 

उक्त नाका हुँदै सो अवधिमा नेपालबाट चीनका ५८ करोड २३ लाख ५४ हजार रुपैयाँको वस्तु गएको विभागको तथ्याङ्कले देखाउँछ । 

आर्थिक वर्ष २०७५/७६ मा रसुवागढी र तातोपानी नाका हुँदै चीनबाट नेपालमा ४० अर्ब ८९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आएको थियो । उक्त वर्ष ती नाका हुँदै नेपालबाट चीनमा १ अर्ब २० करोड ९६ लाख १६ हजार रुपैयाँको वस्तु गएको थियो । 

‘चीनले कोरोना महामारीका कारण तातोपानी र रसुवागढी नाकाबाट यात्रुलाई मात्र रोक लगाएको हो । व्यापारमा रोक लगाएको छैन । निजी क्षेत्रले चासो नदिँदा ती नाका हुँदै नेपालबाट वस्तु चीन नगएको हो,’ गृह मन्त्रालयका प्रवक्ता कोइरालाले भने । 

नेपालबाट जाने वस्तु किन रोकियो ? 

कोरोना भाइरस विश्वमा सबैभन्दा पहिला चीनको वुहानमा सन् २०१९ डिसेम्बर अन्तिम साता देखिएको थियो । कोरोना नियन्त्रण गर्नको लागि सुरुमा नेपालले चीनसँगको नाका बन्द गर्ने निर्णय गरेको थियो । पछि चीनले पनि नाका बन्द गर्‍याे ।

नेपालले अन्तिम पटक तातोपानी र रसुवागढी नाका हुँदै २०७६ माघमा वस्तुहरु चीन पठाएको थियो । त्यसपछि ती नाकाबाट नेपाली वस्तुले चीनमा प्रवेश पाएको छैन । 

कोरोनाको खोप विकास र कोरोना केही नियन्त्रणमा आएपछि दुवै देशबीच तातोपानी र रसुवागढी नाका सञ्चालन गर्ने निर्णय भएको थियो । यात्रुलाई प्रवेश नदिने र तर व्यापार भने सहज बनाउने सहमति त भयो तर यसको कार्यन्वयन एकतर्फी मात्र भएको छ । 

पछिल्लो २२ महिनामा रसुवागढी र तातोपानी नाकाबाट नेपालमा मात्र वस्तुहरु भित्रिएका छन् । नेपालबाट ती नाका हुँदै चीनमा एक रुपैयाँको वस्तु पनि निर्यात भएको छैन । चीनले कोरोना महामारी देखाउँदै नेपालबाट जाने वस्तुमा रोक लगाएको छ । तर आफ्ना वस्तु भने दैनिक ती नाका हुँदै नेपाल पठाइरहेको छ । 

उल्टै चीनको असन्तुष्टि 

नाकालाई सहज बनाउन पटकपटक नेपालले चीनलाई अनुरोध गरे पनि चीनले भने कोरोना महामारी देखाउँदै पन्छिँदै आएको छ । 

यसैबीच पछिल्लो पटक चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत नवराज ढकालले असोज महिनामा तिब्बत परराष्ट्र कार्यालयका उपमहानिर्देशक लिउ लिनसँग तातोपानी र रसुवागढी नाकालाई सहज बनाउने विषयमा छलफल गरेका थिए । 

छलफलमा ढकालले तातोपानी नाकाबाट दैनिक २० वटा ट्रक नेपाल जाने सहमति भएकोमा हाल १८ वटासम्म मात्र जाने गरेकोमा गुनासो गरेका थिए । उनले दैनिक सहमति गरे अनुसार दैनिक २० वटै ट्रक नेपाल पठाउन आग्रह गरेका थिए । उनले रसुवागढी र तातोपानी नाकाबाट नेपाली वस्तुहरूलाई प्रवेश दिन पनि अनुरोध गरेका थिए ।

उपमहानिर्देशक लिउ लिनले रसुवागढी-केरुङ नाकाबाट हाल दैनिक ९ वटा ट्रक नेपाल गइरहेको जानकारी दिएका थिए । उपमहानिर्देशक लिउ लिनले नेपाली समय अनुसार बिहान ११ः४५ बजे भित्र चिनियाँ ट्रकहरूलाई चीनतर्फ फर्कने व्यवस्था मिलाउन पनि ढकाललाई आग्रह गरेका थिए । यस्तो गर्न सके मात्र दोस्रो सिफ्टमा थप ७ वटा गरी दैनिक कूल १४ वटा ट्रक नेपाल पठाउन सकिने उनले जनाएका थिए । 

‘दुवै नाका (रसुवागढी र तातोपानी)मा कार्यरत नेपाली र चिनियाँ अधिकारीहरूबीच निरन्तर सम्वाद र सूचना आदानप्रदान नहुनाले साना-साना समस्याहरू हल गर्न पनि कठिन हुँदै आएको छ,’ छलफलमा उपमहानिर्देशक लिउ लिनले नेपाली पक्षसँग असन्तुष्टि जनाएका थिए, ‘नाकामा कार्यरत नेपाली र चिनियाँ अधिकारीहरुबीच सम्पर्क स्थापित गराउन नेपाली महावाणिज्यदूतावासले समन्वय गर्नुपर्‍याे ।’ 

नेपाली व्यापारीलाई टेरेन चीनले 

चीनले रसुवागढी र तातोपानी नाकाबाट नेपाली वस्तु प्रवेश नदिएको विषयमा गृह मन्त्रालयको भन्दा फरक धारणा छ अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागको । गृहले नेपाली वस्तुको प्रवेशमा चीनले कुनै अवरोध नगरेको बताइरहँदा भन्सार विभागले भने चीनले नेपाली वस्तु प्रवेश गर्न नदिएको बताएको छ । 

‘नाका खोल्दैमा चीनले एकतर्फी खोल्ने भनेर खोलेको हो । नाका दुईतर्फ खोल्नलाई धेरै प्रयास गरियो तर सफल भइएन,’ भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले फरकधारसँग भने । 

खड्काका अनुसार रसुवागढी र तातोपानी नाकाबाट नेपाली वस्तुहरू चीन पठाउन व्यापारीहरूले बारम्बार ताकेता गरेका छन् । तर उनीहरूको मागको सुनुवाइ हुन सकेको छैन । 

‘हाम्रा व्यापारीले नाकाबाट नेपाली वस्तु पठाउनु पाउनुपर्‍याे भनेर माग गरेका छन् । तर नेपालबाट वस्तु पठाउन सकिएको छैन,’ खड्काले भने । 

  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १६:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया