को हुन् लागुऔषधसहित पक्राउ परेका र्‍यापर लाउरे ?

विदेशमा खासगरी हलिउड र बलिउडका सेलिब्रेटीहरू बेलाबखत लागुऔषधसहित पक्राउ पर्ने गरेको हामीले सुन्दै, देख्दै र पढ्दै आएका छौं । लागुऔषधको ‘ओभरडोज’कै कारण थुप्रै सेलिब्रेटीले कलिलो उमेरमा ज्यान पनि गुमाएका छन् ।

तर नेपालमा भने यस्ता घटना कमै मात्र हुने गर्छन् । यस्तै कममध्ये हिजो एउटा घटना भएको छ । घटना हो- र्‍यापर लाउरे लागुऔषधसहित पक्राउ । 

प्रहरीले उनकै गृहजिल्ला पोखरामा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाका अनुसार बुधबार साँझ उनलाई पक्राउ गरिएको हो । उनीसँगै अन्य चार जनालाई पनि पक्राउ गरिएको उनले जनाएका छन् ।

उनीहरूलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो । बिहीबार सार्वजनिक बिदा परेकोले शुक्रबार उनीहरूमाथि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ । 

को हुन् लाउरे ? 



लाउरेको खास नाम आशिष राना हो । लाउरे उनको र्‍याप नाम हो । सन् १९८९ मा पोखरामा जन्मेका थिए लाउरे । कक्षा ६ मा पढ्दा देखि नै र्‍यापमा उनको रुचि बढेको थियो । त्यतिबेला देखि नै उनी र्‍याप गुनगुनाउन थालेका थिए ।

‘सानोमा पोखरामा देउसीभैलो खेल्दा म भट्याउँथे । उट्पट्याङ उट्पट्याङ भट्याउँथे । मैले यहीँबाट र्‍याप सुरु गरेको रहेछु,’ एक कार्यक्रममा लाउरेले भनेका थिए ।



पोखरामा हुर्केका लाउरे आफू र्‍यापर एमिनेम र स्‍नुपडगको फ्यान मान्छन् । स्कुल पढ्दा साथीहरूले विदेशबाट ल्याइदिएको एमिनेमको र्‍याप (सिडी) नै उनले सुनेको पहिलो र्‍याप थियो। 

एमिनेमको ‘द रियल स्लिम सेडी’ सुन्दा उनलाई निकै आनन्द लागेको थियो । त्यसैले उनमा र्‍याप मोह जगाएको थियो । त्यसपछि त उनी र्‍याप गीतहरू इन्टरनेटमा खोजीखोजी सुन्न थाले ।

‘स्कुल लेभलमा हाम्रो र्‍याप ब्याटल हुन्थ्यो । तर भाग लिन कहिल्यै आँट आएन स्कुलमा । कारण म इन्ट्रोभर्ट छु,’ लाउरेले भनेका थिए । 

उनले स्कुलमा अध्ययन गर्दा पूरा स्कुलको वातावरण नै र्‍यापमय थियो । सबै साथीहरू र्‍याप, हिप-हप सुन्थे । स्कुल सकेर प्लस टु पढ्दा भने उनको र्‍याप सुन्ने साथी कोही भएन । फेरि उनको साथी बन्यो इन्टरनेट । इन्टरनेटमा खोजी खोजी उनी र्‍याप सुन्थे ।

‘त्यतिबेला मेरो नाम ह्वाइट स्याडो (सेतो छायाँ) राखेको थिएँ । पोखरामा त्यतिबेला र्‍यापर थिएनन् । काठमाडौंमा थुप्रै थिए । विस्तारै काडठमाडौंका अन्डरग्राउण्ड र्‍यापरसँग संगत भयो । ब्याटल हुन्थ्यो, हार्थेँ । रातभरि निद्रा लाग्दैनथ्यो,’ उनले आफ्नो अनुभव सुनाएका थिए ।

उनको परिवार र हुर्केको समाजमा ब्रिटिस लाउरे भनेपछि मरिहत्ते गर्थे । प्राय: सबै युवाहरूले एक पटक प्रयास गर्थे नै । तर, उनको परिवारले लाउरेलाई ब्रिटिस लाउरे बन्न दवाव भने दिँदैनथ्यो । सबैजना लाउरे बन्ने प्रयास गर्दा उनी पनि त्यसैमा होमिए । विस्तारै र्‍याप उनीबाट टाढा हुँदै थियो ।

‘साढे १७ वर्षको उमेरमा ब्रिटिस आर्मी छनोटको फाइनल पुगेँ तर आउट भएँ । त्यसपछि डिप्रेसनमा परियो । यसअघि व्याचलर जोइन गरेको थिएँ, तर पढ्न गइनँ डिप्रेसनले गर्दा,’ उनले एक कार्यक्रममा आफ्नो जीवनकथा सुनाएका थिए । 

धेरै दिन कलेज नगएको थाहा पाएपछि एक दिन उनलाई बुबाले समातेर कलेज लगेर छोडेका थिए । त्यसपछि उनी निरन्तर कलेज त जाने थाले, तर क्लास बंक गर्न पनि थाले । कलेजमा साथीभाइले जिस्काउने क्रममा उनको नाम ‘लाउरे’ राखिदिए । जुन पछि उनलाई चिनाउने सबैभन्दा ठूलो परिचय बन्यो ।

‘कलेजको साथीले जिस्काउने क्रममा मेरो नाम लाउरे राखिदिए । त्यसपछि सबै साथीभाइ, टिचरले पनि लाउरे भन्न थाले,’ उनले भने ।

ब्याचलर पास भएपछि ‘मेरो सोल्टा’ भन्ने र्‍याप रेकर्ड गरे । उक्त र्‍याप मोबाइलमा रेकर्ड गरेर युट्युबमा राखिएको थियो । क्वालिटी थिएन र चलेन पनि । त्यसपछि उनलाई केही सिनियरले पोखराको रेकर्डिङ स्टुडियो जान सुझाए । तर उनी जहिलेजहिले जान्थे सधैं स्टुडियो बुक भइसकेको हुन्थ्यो । एकदिन रातभरि स्टुडियोमा बसेर र्‍याप रेकर्ड गरेका थिए । 

‘विस्तारै र्‍याप र हिपहपमा सामाजिक मुद्दाहरू उठाउन थालियो । दुई तीनवटा गीत रेकर्ड नै गर्नुभएन, छाडा भएर । पछि काठमाडौंमा रेकर्ड गरियो,’ उनले अनुभव सुनाए । 

र्‍याप रेकर्ड गर्दै गएपछि बिस्तारै कन्सर्टको लागि अफर आयो, पोखराबाटै । लोकल आर्टिस्टको रूपमा । 

‘रिसाएर गीत गाउने हाम्रो एटिच्युड थियो । क्राउडले मन पराउन थाल्यो,’ आफ्नो कथा सुनाउँदै गर्दा उनले पुराना दिन सम्झना गरेका थिए ।

‘तितोसत्य’ भन्ने राजनीतिक विषयवस्तु समेटिएको र्‍याप गीत गाए । सबैले मन पराए । त्यसपछि मात्र उनी र्‍याप ब्याटलमा सहभागी हुन काठमाडौं आएका थिए । र्‍याप ब्याटल यम बुद्धले चलाउँथे । 

‘पहिलो ब्याटल राम्रो भयो । त्यसपछि दोस्रो अवसर पाइयो । दोस्रो पटक युनिक पोइटसँग व्याटल भएको थियो,’ उनले भने । 

युनिक पोइटसँगको उनको ब्याटललाई धेरै रुचाए र लाउरेको रूपमा उनलाई धेरैले त्यहींबाट चिनेका थिए । र्‍याप ब्याटलमा राम्रो गरेपछि बिस्तारै देश विदेशबाट कन्सर्टको अफर आउन थाल्यो । यो क्रम बढ्दै गयो । पछि उनी रियालिटी साे हिमालय रोडिजकाे निर्णायक पनि बने ।

लाउरे युट्युबले चिनाएका र्‍यापर हुन् । उनको र्‍यापमा समेटिएका छाडा शब्दका कारण कमै मात्र उनको र्‍याप रेडियो र टेलिभिजनमा प्रसारण हुने गर्छन् । लाउरे एक समय यति चर्चित बनेकि सन् २०१३ मा गुगलमा सबैभन्दा बढी पटक खोजिएको नेपाली सेलिब्रेटीको सूचीमा उनको नाम पहिलो स्थानमा थियो । 

‘केस नं. ४२०’, ‘हाउडे’, ‘मेरो सोल्टा’, ‘सबै हो लाउरे’, ‘नेपहपको बाटो’, ‘यो पोखरा मेरो’, ‘युद्ध’, ‘बनावटी’ र ‘साथी हो’ उनका चर्चित र्‍याप हुन् ।

सार्वजनिक कार्यक्रमहरूमा अरूलाई लागुऔषध प्रयोग गर्न हुँदैन भन्ने सन्देश दिने लाहुर बुधबार आफैँ भने लागुऔषध प्रयोग गरेको अवस्थामा पक्राउ परेका छन् । 
 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १३:२०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया