सिके राउतको ‘किसान आन्दोलन’ किन बन्दैछ हिंसात्मक ?

११ पुसदेखि तराईका धेरै जिल्ला अशान्त छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका कारण सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, मोरङ, सुनसरी, महोत्तरी, पर्सा, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियालगायतका जिल्ला अशान्त भएका हुन् । 

राउत नेतृत्वको पार्टीको प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीसँग दिनहुँ झडप पनि भइरहेको छ । सो पार्टीले १५ पुसमा पूर्व–पश्चिम राजमार्ग बन्द आह्वान गरेको थियो । त्यसपछि दिनहुँ प्रदर्शन भइरहेकाे छ ।  

जनमत पार्टीका कार्यकर्ताले किसान आन्दोलनको नाममा सडकमा गुडिरहेको सवारीसाधनमा आगजनी गर्ने, एकान्तमा भेटिएका सवारी तोडफोड गर्ने, सुरक्षाकर्मीको सवारीमाथि तोडफोड तथा आगजनी गर्ने जस्ता कार्य गर्दै आएका छन् । १४ पुसमा रौतहटमा बन्दको अवज्ञा गरेर सवारी चलाएको भन्दै बन्दकर्ताले रौतहटको गरूडामा मालवाहक ट्रक, टिपर तथा पिकअप भ्यान तोडफोड गरेका थिए । 

त्यस्तै, जनमत पार्टीले धनुषाको पूर्व–पश्चिम राजमार्ग र ढल्केबर जनकपुर सडकखण्डमा समेत दिनभर अवरोध गर्नुका साथै टायरसमेत बालेर प्रदर्शन गर्दै आएको छ ।प्रदर्शन हिंसात्मक बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले १३ र १४ गते निषेधाज्ञा जारी गरेको थियो । 

प्रशासनले जिल्लाको विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञाको अवज्ञा गर्दै जनमत पार्टीका कार्यकर्ता प्रदर्शनमा उत्रिन छाडेनन् ।  निषेधाज्ञाको उल्लघंन गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए । 



निषेधाज्ञाको अवज्ञा गर्दा १३ पुसमा सिराहाको मिर्चैयामा आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा केही प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भए । धनुषामा पनि जनमत पार्टीले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै १४ गते चक्काजाम गर्यो । चक्काजाम खोल्ने क्रममा पनि दिनभरजसो आन्दोलनकारी र प्रहरीबीच झडप भयो । 



त्यस्तै, सो पार्टीले सर्लाहीमा पनि चक्काजामको कार्यक्रम राख्यो । चक्काजाम उल्लंघन गरे सिधै कारवाही गरिने भन्दै आन्दोलनकारीले त्रसित पारे । रौतहटका ग्रामिण क्षेत्रमा पनि प्रदर्शनकारीले सवारी साधनमाथि तोडफोड गर्नुका साथै आगजनी समेत गर्न थाले ।

जनमत पार्टीको आन्दोलन हिंसात्मक बन्दै गएपछि बल प्रयोग गरिएको प्रहरीले जनाएको छ । ‘राजमार्गमा कसैले पनि अवरोध गर्न पाइँदैन, आन्दोलनकारीले राजमार्गलाई नै बन्द गराउँदै हिँडेपछि प्रहरीले अवरोध त हटाउँछ,’ प्रदेश–२ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले भने । 

आन्दोलनकारी नै हिंसात्मक बन्दै गइरहेको उनको भनाइ छ । सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, प्रहरीको भ्यानमाथि आगजनी गर्ने, सर्वसाधारणका सवारीसाधन तोडफोड गर्ने जस्ता काम गरेपछि प्रहरीले अवरोध हटाउँदै आएको डिआइजी  रञ्जितकारले भने ।   

‘अब हाम्रै भ्यानमाथि आगजानी र तोडफोड गरे । आन्दोलनको नाममा सर्वसाधारणका गाडीमा आगजनी गर्ने, तोडफोड गर्ने । आम नागरिकको सुरक्षा गर्ने कतव्र्य हाम्रो हो,’ उनले भने ।

प्रहरीले विभिन्न क्षेत्रबाट प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ । शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएपनि उनीहरूले हिंसात्मक आन्दोलन गर्दै आएको डिआइजी रञ्जितकारको भनाइ छ ।  

‘प्रहरीकै कारण आन्दोलन हिंसात्मक’

यता जनमत पार्टीले भने प्रहरीकै कारण आन्दोलन हिंसात्मक बन्दै गएको बताएको छ । पार्टीको भातृ संगठन प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बिपी साहले प्रहरीले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दै आएको प्रतिक्रिया दिए ।

‘हामीले शान्तिपूर्ण रूपमा आफ्ना मागहरू केन्द्रीय सरकारसँग राखिराखेका छौं । तर, प्रहरीले अनावश्यक रूपमा बल प्रयोग गरेर आन्दोलन विफल पार्ने काम गरिरहेको छ,’ उनले भने । 

प्रदर्शनकारीमाथि गोली प्रहार गर्ने, घरघरमा गएर कुटपिट गर्ने, महिलामाथि हातपात गर्ने जस्ता कार्य प्रहरीले गर्दै आएको साहको आरोप छ । सप्तरीको हनुमान कंकालिनीमा किसानको घरमा प्रवेश गरी महिलामाथि प्रहरीले कुटपिट गरेको उनले बताए । 

अहिलेसम्म प्रहरीले रौतहटको चन्द्रानिगाहपुरबाट पार्टीका केन्द्रीय उपाध्यक्ष   बसन्त कुशवाहसहित धेरै कार्यकर्तालाई पक्राउ गरेर हिरासतभित्र अनावश्यक दुःख दिने काम गरेको साहको आरोप छ ।  

तर, जनमत पार्टीको यो आन्दोलनलाई भने राजनीतिक विश्लेषकले अलि फरक तरिकारले नियालेका छन् । राजनीतिक विश्लेषक रोशन जनकपुरी जनमत पार्टीको आन्दोलन चुनाव केन्द्रित रहेको टिप्पणी गर्छन् । किसानका मागलाई हरेक राजनीतिक दलले चुनाव केन्द्रित आफ्नो माग बनाउने गरेको भन्दै जनमत पार्टीको आन्दोलन पनि यसैको उपज भएको जनकपुरीको भनाइ छ । 

‘एक त भर्खरै खुलेको नयाँ पार्टी भयो, त्यसमा चुनाव आउन लागेपछि केही न केही मुद्दा त चर्काउनै पर्‍यो । जुन जनमत पार्टीले अहिले उठान गरिरहेको छ,’ उनले भने । आन्दोलनको प्रभाव बढाउन जनमत पार्टी आन्दोलनलाई हिंसात्मक बनाउन खोजेको पनि विश्लेषक जनकपुरको टिप्पणी छ । यसरी भइरहेको आन्दोलनले सम्बन्धित राजनीतिक दललाई फाइदा पुगे पनि जसको मुद्दा उठान गरिएको हो त्यसलाई भने केही नहुने उनको भनाइ छ । 

‘विगतको इतिहास हेर्दा हुन्छ, मधेशमा यस्ता आन्दोलन कति भए ? अन्तिममा आएर आफ्नो स्वार्थ सकिएपछि आन्दोलन पनि सकियो । जसको मुद्दा उठान गरियो उनीहरू जहाको त्यहीँ छन्,’ जनकपुरीले भने । 

जनमत पार्टीले कृषकलाई किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानको लागि पेन्सन, बालीनालीको स्वतः बीमा, कृषि मिटरको व्यवस्था गरेर निःशुल्क विजुली,  मलखाद र बीउबिजनको व्यवस्था गर्नुपर्ने, बाली क्षतिपूर्ति वापत राहत दिनुपर्ने, फसलको उचित मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरिरहेको हो । 

जनमत पार्टीका अध्यक्ष राउतले मागको सुनुवाइ नहुँदासम्म्म आफूहरूको आन्दोलन नरोकिने बताए । ‘संघीय सरकारले हामीसँग वार्ता गरेर माग सुनुवाइ नगरुञ्जेलसम्म आन्दोलन रोकिँदैन,’ उनले भने । किसान आन्दोलन हिंसात्मक बनाउने वा शान्तिपूर्ण बनाउने भन्ने कुरा प्रहरी प्रशासनकै हातमा रहेको रावतको भनाइ छ । 

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार ८:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया