बहसमा एमसिसी: के होला महाधिवेशनपछि माओवादी केन्द्रको धारणा ?

नेपालका लागि सहयोगी अनुदान अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पछिल्लो समय शीर्ष नेतृत्वमा पनि निकै बहस हुन थालेको छ । 

यसअघि चितवनमा भएको नेकपा एमालेको महाधिवेशन, काठमाडौंमा भएको नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा समेत यो विषयमा चर्चा भएको थियो । 

यतिमात्र होइन, एमसिसीबारे पछिल्लो समय विभिन्न दलका नेताहरुले पनि बोल्न थालेका छन् । कांग्रेस महाधिवेशन सकिए लगत्तै नवनिर्वाचित पदाधिकारीहरुलाई पछिल्लो समय मिडियाले राख्ने धेरै प्रश्नहरुमध्ये एक प्रश्न हो, एमसिसीबारे पनि ।

यसपटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमसिसीको प्रस्ताव अनुमोदनका लागि टेबुल हुनसक्ने अनुमान गरिएको थियो । तर, अहिलेसम्म यो प्रतिनिधिसभामा टेबुल हुन सकेको छैन । माअ‍ोवादी केन्द्रबाट सभामुख भएका अग्निप्रसाद सापकोटाले त यसबारे राष्ट्रिय सहमति नभएसम्म आफूले एमसिसीको प्रस्ताव टेबुल नगर्ने अप्रत्यक्ष रुपमा बताएका छन् । उनले एमसिसी टेबुल गरे भने संसदले यसलाई अनुमोदन गर्ला वा नगर्ला भन्ने हेर्न बाँकी छ । तर, अहिले नेताहरुबीच सबैभन्दा चर्को बहसको विषय भएको छ, एमसिसी ।

नेकपा माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रमा प्रज्ञा प्रतिष्ठान कमलादीको हलमा पनि यो विषयले निकै चर्चा पायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनमा राखेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दिको समाजवाद, नेपालको अबको बाटो’माथि बहस र विमर्श हुँदा पनि एमसिसीबारे चर्चा भयो । प्रचण्डको यो प्रस्तावमाथि फरक मत राखेका माओवादी नेता लेखनाथ न्यौपानेले आफ्नो फरक मतका १० बुँदामा एमसिसीमा अहिलेसम्म पार्टी प्रष्ट नभएको आरोपसमेत लगाएका छन् । माओवादी केन्द्रले उनको यो फरक मतलाई पनि सुरक्षित राख्ने जनाएको छ ।

पहिले चर्चा गरौँ, माओवादी केन्द्रको महाधिवेशनको उद्घाटन सत्रबारे । उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, सिपी मैनाली, पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा बोलेका थिए । आफ्नो भाषणमा देउवाले एमसिसी राष्ट्रघाती नभएको र आफूले यस विषयमा छलफल गर्दा प्रचण्ड पनि सकारात्मक भएको बताएका थिए । तर, उनको मन्तव्यपछि पोडियममा पुगेका प्रचण्डले यसलाई अस्वीकार गरे । उनले देउवाको भाषणको ‘तारिफ’ त गरे तर एमसिसीबारे अहिलेसम्म आफूले देउवासँग केही कुरा नगरेको घुमाउरो तरिकाले बताए ।



माओवादी केन्द्रको महाधिवेशनको पूर्वसन्ध्यामा माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले एमसिसीबारे फरकधारसँग लामो कुराकानी गरेका थिए । ‘एमसिसी अब अहिले तत्काल पारित हुने सम्भावना देखिँदैन,’ उनले भनेका थिए, ‘यो अब निर्वाचनको अजेन्डा भइसकेको छ, यसलाई त यो सरकारले पनि निर्वाचनको अजेन्डाका रुपमा अगाडि बढाउने देखिन्छ, फेरि यो सरकारले चाहेर मात्र हुँदैन, एमसिसीलाई संसदमा टेबुल गर्न पहिले सभामुख सापकोटा तयार हुनुप¥यो नि ।’

अब माओवादी केन्द्रको महाधिवेशन सैद्धान्तिक रुपमा सकिएको छ । महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार दिउँसो बस्दै छ । त्यसैले माओवादी केन्द्रको महाधिवेशनमा नै अब एमसिसीबारे थप छलफल नहुने निश्चित छ । तर, अब बस्ने केन्द्रीय कमिटी बैठक र अब बन्ने स्थायी कमिटीका बैठकमा यो विषयले पक्कै प्रवेश पाउने छ ।



‘हामीले यसबारे व्यापक छलफल गर्नुपर्छ,’ महाधिवेशन अगाडि नै ती नेताले फरकधारलाई बताएका थिए, ‘त्यसैले यो हतारोमा यसबारे छलफल गर्ने समय मिल्छ भन्ने अनुमान पनि हामीले गर्न सक्दैनौँ ।’ उनले महाधिवेशनमा पनि एमसिसीबारे छलफल हुने सम्भावना कम रहेको त्यति बेला नै बताएका थिए ।

अब न्यौपानेको फरक मत सुरक्षित राखेर अगाडि बढ्ने निर्णय गरेको माओवादी केन्द्रले केही दिनमा यसबारे निर्क्योल निकाल्ने छ । यसमा न्यौपानेको फरक मतको किन आवश्यकता छ भने उनले आफ्नो फरक मतमा यस विषयबारे चर्चा गरेका छन् । 

पछिल्ला केही महिना यता एमसिसीबारे प्रचण्ड चाहिँ सकारात्मक सुनिँदै आएका थिए । उनले अनुदानमा विकास हुन्छ भने त्यसलाई आफूहरुले पूर्ण रुपमा अस्वीकार गर्न नसक्ने बताउन थालेका थिए । तर, महाधिवेशनमा नै यो विषयमा नकारात्मक प्रतिक्रिया बढी आएकाले माओवादी केन्द्रको यो विषयको धारणामा फेरिन सक्छ । त्यसका लागि अब केही दिन कुर्दा स्पष्ट खाका बन्ने निश्चित छ ।

  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १३:३२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया