साहित्यका लागि कति फलदायी छन् लिटरेचर फेस्टिभल ?

काठमाडाैं– नेपाली साहित्य जगत्मा हरेक वर्ष विभिन्न कार्यक्रम हुँदै आएका छन् । वर्षभरिमा हुने कार्यक्रममध्ये ‘नेपाल लिटरेचर फेस्टिभल’ सबैको चासोको केन्द्र बन्ने गरेको छ । बुक वर्म फाउन्डेसनले सन् २०११ बाट सुरु गरेको यो फेस्टिभल नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको साहित्यिक महोत्सव हो । सुरुवातका चार वर्ष काठमाडौंमा र त्यसपछिका वर्ष पोखरामा आयोजना हुँदै आएको लिट्रेचर फेस्टिभलको यस वर्षको ‘कर्टेन रेजर’ कार्यक्रम अघिल्लो शनिबार सम्पन्न भयो । 

विभिन्न विदेशी तथा स्वदेशी साहित्यकारको उपस्थितिमा हरेक वर्ष हुने लिट्रेचर फेस्टिभलको यसपटक पनि चर्चा सुरु भइसकेको छ । साहित्यलाई विश्वस्तरमा ल्याउन र साहित्यकारलाई एक–अर्कासँग प्रत्यक्ष रूपमा विचारको आदान–प्रदान गर्नमा लिट्रेचर फेस्टिभलले राम्रो भूमिका खेलेको देखिन्छ ।

नेपाली साहित्य जगत्का हस्तीलाई एकै ठाउँमा ल्याएर गरिने यस कार्यक्रमले नेपाली साहित्यको विकासका लागि राम्रो भूमिका खेलेको बताउँछन्, आख्यानकार अमर न्यौपाने । लिट्रेचर फेस्टिभल लेखक–साहित्यकारका लागि सबैभन्दा ठूलो चाड रहेको उनी बताउँछन् । लिट्रेचर फेस्टिभलकै कारण विभिन्न अग्रज तथा अनुज लेखक–साहित्यकारहरू प्रत्यक्ष रूपमा भेटघाट हुने र उनीहरूले आपसमा विभिन्न कुरा सिक्न पाउने उनी बताउँछन् ।

‘साहित्यकारको भेट मात्र हुने नभएर पाठकको संख्यामा पनि वृद्धि गर्न यसले मद्दत गर्छ,’ उनी भन्छन्, ‘ फेस्टिभलमा नेपाली साहित्यबारे बहस हुने हुँदा साहित्यको विकासमा पनि यसले टेवा पुर्याएको छ ।’ विदेशी साहित्यकार र नेपाली लेखक–साहित्यकारबीच विचारको आदान–प्रदान र बहस हुँदा नेपाली साहित्यको विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आममान्छेलाई साहित्यतर्फ आकर्षित गर्नका लागि पनि लिट्रेचर फेस्टिभलले ठूलो भूमिका खेलिरहेको अमर बताउँछन् ।

नेपाली साहित्यबारे विश्वमाझ जिज्ञासा बढ्ने र त्यसले नेपाली साहित्यलाई विश्व साहित्य बजारमा पुर्याउन मद्दत गर्ने न्यौपानेको मत छ ।

हरेक वर्षजसो यस वर्षको लिट्रेचर फेस्टिभलमा पनि विभिन्न विदेशी लेखकको उपस्थिति रहेको छ । पाकिस्तानका मोहम्मद हनिफ, भारतबाट नमिता गोखले, बेलायतबाट डा. निकोला स्ट्रिटेन, क्यानडामा रहेकी नेपाली मूलकी लेखक मञ्जुश्री थापा, भारतबाट प्रज्ज्वल पराजुलीलगायतका विभिन्न विदेशी लेखक–साहित्यकारको उपस्थिति यसपालि देख्न पाइनेछ । 



साहित्यिक वृत्तमा लिट्रेचर फेस्टिभलले राम्रो भूमिका खेलेको कवि हेमन यात्री बताउँछन् । लेखक–साहित्यकारसँग विचार आदान–प्रदान मात्र नभएर गैरसाहित्यिक मान्छेसम्म पुग्नमा पनि यसले मद्दत गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘समाजसँग प्रत्यक्ष रूपमा संवाद हुने भएकाले पनि लिट्रेचर फेस्टिभलजस्ता कार्यक्रम आवश्यक छन् ।’ यस्ता कार्यक्रमले सर्वसाधारणमाझ पनि केही न केही सन्देश पुर्याउने काम फेस्टिभलले गरिरहेको उनको धारणा छ ।

विदेशी लेखकलाई नेपालमा बोलाएर कार्यक्रम गर्दा नेपालबारे बाहिर सन्देश त जाने, तर यसले नेपाली साहित्यलाई बाहिर लैजानमा त्यति भूमिका नखेलेको उनी बताउँछन् । ‘बढी मात्रामा बाहिरी लेखकको विचार हामीमा हाबी हुन्छजस्तो लाग्छ,’ उनी भन्छन्, ‘नेपाली साहित्यलाई बाहिर लैजानका लागि ठूलो योगदान फेस्टिभलले गरेको जस्तो लाग्दैन ।’



फेस्टिभलले समग्रमा धेरै साहित्यकार–लेखकलाई समेट्ने भएकाले पनि देशमा हुने अन्य कार्यक्रमको तुलनामा यसको चर्चा–परिचर्चा व्यापक रूपमा हुन्छ । आगामी पुस ७ देखि १० सम्म पोखरामा हुने फेस्टिभलको परिचर्चाले साहित्य बजार तात्न सुरु गरिसकेको छ । 

यस्तो कार्यक्रमले साहित्य पठन चेतना र विकासका लागि सकारात्मक भूमिका खेल्ने बताउँछन्, आख्यानकार रामलाल जोशी । अन्तरसंवादमार्फत लेखक र पाठकबीचको सम्बन्ध विकासमा लिट्रेचर फेस्टिभलले योगदान गरिरहेको जोशी बताउँछन् । यस्ता कार्यक्रम देशका विभिन्न ठाउँमा आयोजना गरेर अझ व्यापक रूपमा लैजानुपर्ने उनको सुझाब छ । परम्परागतभन्दा फरक तरिकाको हुने भएकाले पनि लिट्रेचर फेस्टिभलको चर्चा–परिचर्चा हुने गरेको उनी बताउँछन् ।

यसले पाठकको संख्या वृद्धिमा पनि टेवा पुर्याइरहेको जोशीको तर्क छ । ‘विश्वसाहित्यको अवस्था कहाँ छ र हाम्रो नेपाली साहित्यको अवस्था कहाँ छ भन्ने बुझ्न यसले मद्दत गर्छ,’ उनी भन्छन्, ‘विभिन्न अन्तर्राष्ट्रिय स्तरका लेखक–साहित्यकार उपस्थित हुँदा एक–अर्काको साहित्यबारेमा बुझ्ने मौका मिल्छ ।’ सरकारी पक्षले यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने अवस्थामा निजी स्तरमा भइरहेको लिट्रेचर फेस्टिभलले सरकारलाई एक हिसाबले ढकढक्याइरहेजस्तो लाग्ने धारणा उनी राख्छन् । पछिल्लो समय साहित्यप्रति चासो हरेक ठाउँमा जन्मिरहेकाले पोखरा र काठमाडौंमा मात्र नभएर देशका अन्य ठाउँमा पनि यस्ता कार्यक्रमको आयोजना हुनुपर्ने जोशीको मत छ । 

बुकवर्मले साहित्य क्षेत्रमा चलाएको यो कदमप्रति आफू पूर्ण रूपमा सकारात्मक रहेको बताउँछन्, आख्यानकार नयनराज पाण्डे । फेस्टिभलले पाठक र लेखकबीच निकटताको सिर्जना गर्ने र फेस्टिभल भएकै समयमा नेपाली सञ्चारमाध्यमले साहित्यलाई बढी महत्व दिने भएकाले यसको विकासलाई टेवा पुग्ने गरेको उनी बताउँछन् । साहित्यमा भइरहेका विभिन्न घटना र लेखकका विचारबारेमा पाठकले थाहा पाउँने भएकाले पनि फेस्टिभलको आफ्नै महत्व रहेको उनी बताउँछन् ।

‘पाठकलाई लेखक र लेखकलाई पाठकसँग जोड्ने काम फेस्टिभलले गर्छ,’ पाण्डे भन्छन्, ‘लेखकको विचार, चिन्तन र उसले के गरिरहेको छ भन्ने बारेमा पाठकले जान्ने मौका पाउँछन् ।’ देशमा अन्य समयमा हुने कार्यक्रमले पनि साहित्यको विकासमा योगदान दिइरहेका हुन्छन् । लिट्रेचर फेस्टिभलजस्तै अन्य कार्यक्रमको पनि आ–आफ्नै महत्व रहेको बताउँछन्, पाण्डे । भन्छन्, ‘फेस्टिभलले नेपाली साहित्यलाई चर्चामा ल्याउने काम गरिरहेको हुन्छ । विदेशी साहित्यमा पनि नेपाली साहित्यबारे केही सन्देश जान्छ ।’

एउटा व्यक्तिगत गैरसरकारी संस्थाबाट आयोजना हुने यो कार्यक्रमले सरकारलाई पनि सांकेतिक रूपमा व्यंग्य गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘निजी क्षेत्रबाट यस्तो कार्यक्रम हुन सक्छ भने सरकारी पक्षबाट पनि यस्तो कार्यक्रम हुन सक्छ । तर, सरकारी पक्षको ध्यान कलासाहित्यतर्फ आएको देखिँदैन ।’ निजी क्षेत्रबाट चालिएको यो कदमलाई नेपाली साहित्यमा भएको बयानयोग्य काम भन्न सकिने उनी बताउँछन् ।

आयोजकको भनाइ

अजित बराल, नीरज भारीलगायतले ‘बुक क्लब’ नाममा छलफल गर्ने गरेका थिए । एउटा कोठामा केन्द्रित छलफललाई बाहिर लैजाने उद्देश्यले उनीहरूले साहित्य महोत्सव गर्ने निर्णय गरे । बुक वर्म फाउन्डेसन नामको संस्था स्थापना गरेर उनीहरूले ‘नेपाल लिट्रेचर फेस्टिभल’ सञ्चालन गर्न सुरु गरे । सन् २०११ मा काठमाडौंमा पहिलोपटक लिट्रेचर फेस्टिबल आयोजना भयो । 

‘लोकतान्त्रिक फोरम’का रूपमा सबै विषयमाथि छलफल गर्न सकिने कार्यक्रमको रूपमा लिट्रेचर फेस्टिभल गर्न सुरु गरेको बताउँछन्, अजित । भन्छन्, ‘साहित्यसँग सम्बन्धित सबै विषयमाथि छलफल गर्नका लागि फेस्टिभल सुरु गरेका थियौँ ।’ यस्तो किसिमको छलफलले साहित्यसँगै समाजका अन्य विषयवस्तुलाई पनि बुझ्न सहयोग गरिरहेको उनी बताउँछन् । 

नेपालबाहिरको साहित्यको अवस्थाको बारेमा नेपाली लेखक–साहित्यकार जानकार बनून् भन्ने ध्येयले विदेशी लेखकलाई फेस्टिभलमा ल्याउन थालियो । अन्तर्राष्ट्रिय स्तरका लेखकलाई नेपालमा बोलाउँदा नेपाली साहित्य र नेपाली समाजसँग उनीहरूलाई परिचित हुने गरेको उनी बताउँछन् । अन्तर्राष्ट्रिय लेखकसँगको अन्तर्क्रियाले नेपाली साहित्यलाई बाहिरी भूगोलमा पुर्याउने उनको विश्वास छ ।

अहिलेको नेपाली साहित्यका कृतिको अनुवाद निकै कम मात्रामा भइरहेको पाइन्छ । विदेशी साहित्य जगत् नेपाली साहित्यबारे निकै कम मात्र जानकार छ । फेस्टिभलमा हुने अन्तरक्रियाले नेपाली साहित्यको बारेमा बाहिरी लेखक–साहित्यकारले बुझ्ने गरेको अजित बताउँछन् । भन्छन्, ‘नेपाली साहित्यलाई थोरै मात्रामा भए पनि बाहिरी साहित्यजगत्मा पुर्याउने काम गरिरहेका छौँ ।’

  • प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार ११:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया