लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रजिअलाई गृहमन्त्री खाँणको टेलिफोन

गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणलगायतबारे जानकारी लिएका छन् ।

उनले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्ला कैलाली, रूपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री खाँणले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सित लहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले बोर्डरमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र सितलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास र आगामी योजनाबारे जानकारी लिएको बताए ।
 
गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले परीक्षणका क्रममा पोजिटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणले जानकारी लिएको बताए । 

‘घरमै आइसोलेसनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्‍याउन गरिएको व्यवस्थाबारे जानकारी लिनुभयो । उहाँले संक्रमितलाई सहज रूपले घरसम्म पुर्‍याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो,’ प्रजिअ दाहालले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था, एन्टिजेन परीक्षणबारे गृहमन्त्रीले टेलिफोनमार्फत जानकारी लिएको बताए । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ११:२२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया