वैदेशिक रोजगारीमा रहेकाको गुनासो सुनुवाइ गर्न श्रम मन्त्रालयले सुरु गर्‍यो कल सेन्टर
फाइल तस्वीर

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाको गुनासो सुनुवाइ गर्न कल सेन्टरको सुरु गरेको छ ।

आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सेन्टरको उद्घाटन गरेका हुन् । कल सेन्टर २४ सै घण्टा सञ्चालन हुने जनाइएको छ ।

कल सेन्टरमा वैदेशिक रोजगारीका क्रममा समस्या परेका व्यक्तिले गुनासो टिपाउन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको नाममा नागरिकलाई अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने बताए । पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्य टोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरिएको उनको भनाइ छ ।

कल सेन्टरबाट वैदेशिक रोजगारीमा रहेकाको समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा विदेशमा पुर्‍याएर अलपत्र पार्ने गरेको गुनासो बढेको छ । एजेन्टहरूले खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिण एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका देशमा गैरकानुनी रूपमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र पार्ने गरेका छन् ।

ठगीमा परेको र विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आएपछि गुनासो तथा सुझाव संकलन गरी त्यसको व्यवस्थापन गर्न कल सेन्टर सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १६, २०७८ आइतबार १३:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया