विवाह मण्डपमा अश्लील टिकटक भिडियो बनाउनेहरूको फेरि जमघट

हिन्दूहरूको आस्थाको केन्द्र रहेको मधेस प्रदेशको राजधानी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक स्थल जानकी मन्दिरसँगै रहेको विवाह मण्डपमा फेरि अश्लिल टिकटक भिडियो बनाउनेहरूकाे जमघट हुन थालेको छ । 

मन्दिरलाई एकातर्फ विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेको छ भने अर्कोतर्फ मन्दिरको सौन्दर्य मास्ने खेल समेत चलिरहेको छ । मन्दिरको वातावरण अश्लील टिकटक बनाएर बिगार्ने प्रयास हुँदै आइरहेको देखिन्छ ।

धार्मिक स्थलहरूमा अहिले युवाहरूको ठूलो जमात भोजपुरी अश्लील गीतहरूमा टिकटक बनाउने गरेको पाइएको छ । जनकपुरको प्रसिद्ध धार्मिक मन्दिरहरू जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डपमा समेत भोजपुरी गीतहरूमा टिकटक बनाउने गरिएको पाइएको छ ।

पछिल्लो पटक स्थानीय युवा गणेश साहले धार्मिक स्थलहरूमा टिकटक बनाउने व्यक्तिलाई पक्राउ गर्न स्थानीय प्रशासनसँग माग गरेपछि जानकी मन्दिर, विवाह मण्डप लगायतका ठाउँहरूमा स्थानीय प्रशासनले टिकटक बनाउन रोक लगाएको थियो । तर, केही महिना नबित्दै पुनः त्यहाँ भीड लाग्न सुरु भएको छ । 

पछिल्लो पटक mr_subhash_049 र sumit_049 नामक टिकटक आइडीबाट विवाह मण्डपमा चप्पल जुत्ता लगाएरै विभिन्न भोजपूरी तथा हिन्दी गीतहरूमा टिकटक बनाएर पोस्ट गरेको पाइएको छ । 

उनीहरूले धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूको कुनै ख्याल नै नगरी अभद्र रूपमा टिकटक भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
 
स्थानीय प्रशासनले मन्दिर प्रांगणभित्र टिकटक भिडियो बनाउन नदिन भनेपनि प्रशासनले समेत भारा टार्ने हिसाबले मात्रै काम गरिरहेको स्थानीयको आरोप छ । 



‘प्रशासनले कडाइ गरेको भए मन्दिरभित्रै टिकटक भिडियोहरू सुटिङ नै हुँदैन थियो’,‘स्थानीय सुशील कर्णले भने, ‘मन्दिरमा मान्छे दर्शन गर्न पुग्छन् न कि टिकटक भिडियो बनाउन । प्रशासनले प्रतिवद्धता जनाउन बाहेक केही गर्न सकेको छैन, न कडा कारबाही नै अगाडि बढाएको छ ।’

स्थानीय युवा अनुज मिश्र भन्छन्, ‘पर्यटकीय स्थल तथा सर्वसाधारणको भीडभाड हुने ठाउँमा मनोरञ्जनको नाममा यस्ता खालका अश्लील क्रियाकलाप गम्भीर अपराध हो । यस्ता क्रियाकलाप गर्नेहरूलाई पक्राउ गरी उनीहरूको अभिभावकलाई बोलाएर यस्तो काम फेरि नगर्न प्रतिबद्धता गराउनु पर्दछ ।’



  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार ११:४४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया